लगातार परेको पानीले पर्वतको जिसस भवन भत्कियो

लगातार परेको पानीले पर्वतको जिसस भवन भत्कियो

jilla-samanwaya-samiti-parbat-630×375

पर्वत । लगातारको वर्षाले जमीन भासिँदा जिल्ला समन्वय समिति (जिसस) पर्वतको भवन भत्किएको छ । जिससको भवनमा रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका दुई वठा कार्यकक्ष पूर्णरूपमा चर्किएर क्षति पुगेको हो ।

जिल्ला प्रशासन कार्यालयको विपत् व्यवस्थापन समितिअन्तर्गत सञ्चालनमा आएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र आज बिहान ५ बजेको समयमा जमीन भासिएपछि भत्किएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी चण्डीका गणमा कार्यरत हवल्दार नरबहादुर भण्डारी सुतिरहेको अवस्थामा उक्त भवन भत्किएको हो । भवनबाट धुलो माटो खस्न थालेपछि उठेर हेर्दा भवन चर्किएको र कोल्टे परेको देखेपछि भवन भासिएको पत्ता लागेपछि उक्त स्थानमा रहेका सामान हटाएको भण्डारीले बताए ।

पाँच मिनेट मात्र ढिला गरी थाहा भएको भए आफ्नो ज्यानसमेत नरहने उनले बताए । जिससका प्रमुख मनोहर वि पौडेलले कार्यक्रमका सिलसिलामा दक्षिण पर्वतको हुवासमा रहेकाले के–कति क्षति भयो भन्ने यकिन विवरण जानकारी नभएको बताए । उनले सोही ठाउँमा समन्वय समितिको पक्की भवन निर्माणका लागि पहल भइरहेको जानकारी दिए ।

उक्त भासिएको भवनको निरीक्षण गर्दै कुश्मा नगर प्रमुख रामचन्द्र जोशीले पानीको निकास नभएका कारण पटकपटक यसरी भवन भत्किने, भासिने गरेकाले त्यसको उचित निकासका लागि व्यवस्था गरिने बताए ।

जिल्ला विपत् व्यवस्थापन समितिमार्फत थप सहयोगका लागि सङ्घीय तथा प्रदेश सरकारसँग बजेट माग गरी दिगो व्यवस्थापन गरिने उनको भनाइ छ । जिससको भवन पटकपटक भासिने गरेको छ । विगतमा पनि जिल्ला अनुसन्धान कार्यालय रहेको भवन भासिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds