रञ्जन अधिकारी पोखरा, ८ मंसिर / पोखरामा संयुक्त बाम गठबन्धनले चुनावी प्रचारका लागि स्थापना गरेको कार्यालयमै विस्फोट भएको छ । बाम गठबन्धनले पोखरा वडा नं. ९ मा प्रचारका लागि खडा गरेको कार्यालय अगाडि सटरमै विस्फोट भएको हो ।
अहिले शुक्रबार राति ६ बजेर १२ मिनेटमा अपरिचित समूहले गरेको विस्फोटमा मानवीय क्षति भएको छैन । तर सटरमा क्षति पुगेको छ । बल्बहरु फुटेका छन् । सटरको माथिल्लो भागमै प्वाल पर्नुका साथै घरको भित्ताहरुमा प्वाल परेको छ । कार्यालय रहेको कोठा माथि मानिस बस्ने गर्दछ । भाग्यवश ठूलो क्षति टरेको छ । आवाज भने एकदमै ठूलो आएको स्थानीयबासीले बताएका छन् । घटनाको १५ मिनेटपछि प्रहरी घटनास्थल पुगेको थियो ।
नेकपा एमालेको पार्टी कार्यालय सो घरबाट १५ मिटर दुरीमा रहेको छ । कास्की क्षेत्र नं. २ अन्तर्गत बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यमा रविन्द्र अधिकारी र प्रदेश सभा सदस्यमा राजकाजी गुरुङ करण उम्मेदवार छन् ।
बम विस्फोट भएको पक्की दुईतले घर अगाडि पाँच मिटरको दुरीमै लिला तामाङको खाजा पसल छ । उनका अनुसार दुई जना अपरिचित समूह सेतो रङको गाडीमा आएर केहि समय त्यहाँ रोकिएका थिए । उनीहरु गएको केहि मिनेटमै बम बिस्फोट भएको हो । तामाङले भनिन् – ‘सेतो गाडीमा दुई जना आए । एकछिन रोकिए । मलाई एकटकले हेरिरहे ? के हेरेको अनुहार नि देख्न पाको छैन कहिल्यै भनेँ । तर बम राखेर पो गएका रहेछन् ।’
उनले विस्फोट भएपछि ग्याँसको सिलिण्डर विस्फोट भएको ठानेपनि एकछिनमै सटरमा धुवाँ देखेको बताईन् । उनले यस्ता कार्य जो कसैले गरेपनि जनताको हितमा नरहेको बताईन् । ५०० मिटर टाढा बस्ने सुचिता थापाले ठूलो आवाजका साथ विस्फोट भएको जनाईन् । विस्फोटपछि स्थानीयको ठूलो भिड लागेको छ । मानव बसेकै घरको तल्लो तलामा यसरी बम विस्फोट भएपछि स्थानीय त्रसित छन् ।
अहिलेसम्म घटनाको जिम्मेवारी कसैले लिएको छैन । प्रहरी घटनास्थलमै रहेको छ । कास्की प्रहरी प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले अनुसन्धान भईरहेको बताएका छन् । उनले कुन बम विस्फोट भएको भन्नेबारे पुष्टि नभएको तर ठूलो आवाज भएकाले कुकर बम हुन सक्ने अनुमान गरे ।
देशैभर बहालवाला मन्त्रीदेखि, उम्मेदवार तथा पार्टी कार्यालयलाई लक्षित गरी बम विस्फोट भईरहेका छन् । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बम विस्फोट गरेको भन्दै प्रहरीले उसका कार्यकर्तालाई पक्राउ गरेको छ । कास्कीमा पनि २७ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
उम्मेदवार रविन्द्र अधिकारीले यस्ता कार्य जोकोहिले गरेपनि अपराधपूर्ण कार्यकलाप भएको बताए । उनले मान्छे बस्ने घरमा गरिएको विस्फोट अक्षम्य अपराध भएको उल्लेख गर्दै शान्तिपूर्ण हिसबाले विरोध गर्न तर नागरिक आतंकित नगर्न सुझाव दिए ।
घटना कसले र किन घटाएको बारे अनुसन्धान गरी दोषीलाई कारबाही गर्न उनले प्रहरीप्रशासनसँग अनुरोध समेत गरेका छन् ।
यस्तै, उम्मेदवार करणले जनताको विश्वासको मत लिन नसक्नेहरु यसरी कायरपूर्ण ढंगले नागरिककै जिउज्यानमाथि धावा बोल्ने हिसाबले अघि बढेको भन्दै घटनाको भत्र्सना गरे ।
सम्बन्धित खबर
नि : शुल्क स्वास्थ्य शिविरबाट दुई हजार बढी लाभान्वित
चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम