प्रचण्ड र बाबुराम अंगालो हालेर रोए, आमा, पत्नीहरु र दिदीहरु यस्तो हालतमा (भिडियो)

प्रचण्ड र बाबुराम अंगालो हालेर रोए, आमा, पत्नीहरु र दिदीहरु यस्तो हालतमा (भिडियो)

Prachanda Baburam

काठमाडौं । छोरा प्रकाश दाहालको निधन हुँदा माओवादी अध्यक्ष प्रचण्डले आशु थाम्न सकेनन् । छोरा गुमाउँदाको पीडा लुकाउन खोजेपनि सहनै नसकिने गरि पोखिएको थियो । यद्यपि प्रचण्डले सार्वजनिक रुपमा दु:ख भने पोखेका छैनन् । प्रकाशको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिएको थियो । सबै दलका अधिकांश नेताहरु आए । राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले शोक व्यक्त गरेका छन् ।

आफ्ना छोराको पार्थिर शरीरमा झण्डा ओढाउने क्रममा प्रचण्ड भावविह्ल बने । उनले छोराको अनुहारमा राम्ररी हेर्न समेत सकेनन् र उनी रोइरहे । (भिडियो तल छ)  प्रचण्ड आफैले दागबत्ती दिए । प्रकाशका दुई श्रीमतीका दुई छोराहरु नाबालक छन् ।

क्यान्सरका कारण पुत्री वियोग सहनु परेको ३ वर्ष नबित्दै हृदयाघातबाट पुत्र वियोगको बज्रपात प्रचण्डले कसरी सहन गर्लान् ? उनको अनुहारमा सन्तान बियोगको झलक सहजै देख्न सकिन्थ्यो । अनलाइनखबरले लेखेको छ ।

छोरी रेणुसहित गाडीबाट ओर्लिँदा प्रचण्डका आँखा टिलपिल देखिन्थे । नेपालकै सबैभन्दा ठूलो र लामो सशस्त्र युद्धदेखि ठूला ठूला राजनीतिक आन्दोलनको कमाण्डर बनेका प्रचण्ड, यो क्षणमा युद्ध हारेको सिपाही जस्ता देखिन्थे ।

संसार जित्न हिँडेकाहरु पनि आफन्तको मृत्युसँग पराजित हुन्छन्, प्रचण्डको हालत यस्तै देखियो । तर, पनि प्रचण्ड सम्हालिँदै अस्पतलाभित्र प्रवेश गरे । उनको पछिपछि हिँडेकी छोरी रेणु भातृ वियोगको पीडा लुकाउन नसक्ने गरी रुँदै थिइन् । भित्रै रहेका एक प्रत्यक्षदर्शीका अनुसार प्रचण्ड र रेणु प्रकाशलाई राखिएको ठाउँसम्म पुग्दा त्यहाँ रुवाबासी चलेको थियो । कसैले कसैलाई सम्हाल्ने अवस्था थिएन ।

प्रचण्ड र बाबुराम अंगालो हालेर रोए, नारायणकाजी पनि संगै

प्रकाश दाहालको निधनमा शोक व्यक्त गर्न गोरखाबाट काठमाडौं पुगेका डा. बाबुराम भट्टराई मृतकलाई श्रद्धाञ्जली दिएपछि माओवादी पार्टी कार्यालयको माथ्लो तलामा चढे । र, प्रचण्डको कार्यकक्षमा प्रवेश गरे ।

भेट हुनासाथ प्रचण्ड र बाबुरामले घ्वाप्लाक्क अंकमाल गरे । र, क्वाँ क्वाँ रोए । भट्टराई र प्रचण्ड एकले अर्कालाई देख्नासाथ रुन थालेका थिए ।  प्रचण्ड र बाबुराम अंकमाल गरेर रोइरहँदा माओवादीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि शोकाकूल मुद्रामा त्यहीँ उपस्थित थिए । शोकाकुल घडीमा देखिएको यस्तो दृश्यलाई कसैले क्यामेरामा कैद गरेन । अनलाइनखबरले लेखेको छ ।

आँशु थाम्न सकेनन् प्रचण्डले, दिदीहरुको रुवाबासी

पार्टी कार्यालयमा आफ्नो एकमात्र छोराको शवमा आफैंले झण्डा ओढाइरहँदा भने प्रचण्ड सम्हालिन सकेनन् । उनी भक्कानो छाडेर रोएको दृश्य कारुणिक थियो । पार्टीले एक सदस्य गुमाएको थियो । तर, प्रचण्डले आफ्नो एकमात्र छोरा गुमाएका थिए ।

लगातार सन्तान बियोगको पीडाबाट सीता दाहाल भने थेगिन नसक्ने अवस्थामा पुगेको उनको उपस्थिति कतै नहुनुले पनि पुष्टि हुन्छ ।

प्रकाशको पार्थिव शरीरमा श्रद्धान्जली अर्पण गर्दैगर्दा उनकी कान्छी दिदी सीमा सम्हालिन सकिनन् । उनी भाइको शवमा टाँसिएर केहीबेर रोइन् । अर्की दिदी रेणु पनि सम्हालिन सकिरहेकी थिइनन् । एउटै भाइको अन्तिम बिदाइ गर्दा दिदीहरुको चित्कार थामिनसक्नु थियो ।

मृत्यु कुनै पनि प्रिय हुँदैन । अझ अस्वाभाविक, अकल्पनीय मृत्युले सबैलाई पीडा दिन्छ । प्रचण्ड परिवारमाथि परेको अकल्पनीय शोकको घडीमा सबैले समवेदना दिएका छन् ।

तर, लगातार सन्तानवियोगको पीडाबाट मुक्त हुने शक्ति प्रचण्ड र सीतालाई मिलोस् भन्ने बाहेक अरु कुनै शब्द छैन ।

जब सिर्जना बेहोस भइन्

करिव ८ बजे हरियो कूर्ता लगाएकी एक महिला दाहिने हातले बालक डोहोर्‍याउँदै अस्पतालमा प्रवेश गरिन् । मान्छेको भीड छिचोल्न नपाउँदै उनी डाँको छोडेर रुँदै भित्र छिरिन् । उनी थिइन् प्रकाशकी पत्नी सिर्जना त्रिपाठी । उनले डोहोर्‍याएका बालक प्रकाशका जेठा छोरा थिए । अनुहार काटीकुटी प्रकाशजस्तै ।

अधिकांश फोटो पत्रकारले सिर्जनालाई चिन्न नपाउँदै उनी अस्पतालको लिफ्टभित्र प्रवेश गरिसकेकी थिइन् । केहीबेरमै अस्पतालमा कार्यरत एक नर्स बहिनीले खबर गरिन्- सिर्जना त्रिपाठी प्रकाशको अवस्था देख्नासाथ ढलिन् र उनलाई स्लाइन चढाएर राखिएको छ ।

लामो समयदेखि सिर्जना प्रकाशसँग थिइनन् । उनी छोरासहित पोखरामा बस्ने गर्थिन् । प्रचण्डले सिर्जना र नातिलाई धेरै माया गर्छन् । उनै सिर्जना डाँको छाडेर रुँदै बाहिरबाट अस्पतालभित्र प्रवेश गरेकी थिइन् ।

सिर्जनासँगै उनकी आमा (प्रकाशकी सासू) पनि थिइन् । उनी नातिलाई काखमा लिएर डाँको छाडेर रुँदै थिइन् । सिर्जनालाई भेटेर फर्किएका दिल निसानी मगरका अनुसार उनी अर्धबहोस अवस्थामा बर्बराउँदै प्रकाशकै नाम लिइरहेकी थिइन् ।

बिना चिच्याउँदै अस्पतालभित्र दौडिँदा…

प्रचण्ड आउनुअघि प्रहरीले अस्पतालको भीड व्यवस्थापन गर्दै थियो । यसैबीच एकाएक महिला चिच्याएको आवाज आयो । उनी छाड मलाई भन्दै चिच्याएर दौडिँदै थिइन् । उनी प्रकाशकी पत्नी बिना मगर थिईन्  उनलाई सम्हाल्न वाइसीएल अध्यक्ष रामप्रसाद सापकोटा लगायतका नेताहरु उनका पछाडि दौडिँदै थिए ।

कञ्चनपुरमा रहेकी बिना प्रकाशको निधनको खबर लगत्तै धनगढी विमानास्थलबाट श्री एयरलाइन्सको पहिलो उडानमा काठमाडौं आएकी हुन् । छोरासहित चुनावी अभियानमा गएकी बिनालाई सम्हाल्न ७ नम्बर प्रदेशका प्रहरी प्रमुख नै खटिएका थिए । बिना छोरासहित काठमाडौं आउँदा विक्षिप्त अवस्थामा थिइन् ।

सीतालाई सम्हाल्न प्रचण्ड सिधै लाजिम्पाट

प्रचण्ड एयरपोर्टबाट सिधै अस्पताल नआई लाजिम्पाटस्थित निवासतिर गएको खबर आयो । उनी पत्नी सीतालाई सम्हाल्न निवासतर्फ गएको अनुमान गरियो । छोराको निधन भइसकेकाले उनले सबैभन्दा पहिले निवास पुगेर आमालाई सम्हाल्न खोजेको बुझियो ।

किनकि छोराको निधनको पहिलो प्रत्यक्षदर्शी बनेकी आमाको अवस्था सम्हाल्न नसकिने खालको रहेको सचिवालय सदस्यहरुले बताएका थिए । दुई तीनदेखि रुघा खोकीबाट सामान्य विरामी रहेका प्रकाश केही दिनयता प्रचण्डको चुनावी अभियानमा समेत हिँडेका थिएनन् । उनी आमाकै रेखदेखमा थिए ।

सीताले आफ्नो एकमात्र छोरो प्रकाशलाई असाध्यै माया गर्थिन् । उनका कमजोरीहरुमा सीता सधैं रक्षाकवज बन्ने गर्थिन् । मुटुको टुक्रा चुँडिएको क्षणमा उनी विक्षिप्त हुनु स्वभाविकै थियो ।

सीताले राति प्रकाशलाई आफ्नै हातले जाउलो पकाएर खुवाएकी थिइन् । बिहान उनैले प्रकाशलाई बेहोस अवस्थामा भेटेकी थिइन् । स्रोतका अनुसार सीता सन्तान वियोगको पीडाबाट असामान्य अवस्थामा छिन् ।

भाञ्जीहरु रुँदै बाहिरिएपछि मृत्युको औपचारिक पुष्टि

अस्पताल परिसरमा भिड थामीनसक्नु भइसकेको थियो । काठमाडौंका प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकको नेतृत्वमा प्रहरी टोली परिचालित थियो । वाइसीएल अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले प्रहरीलाई सघाइरहेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीहरु अस्पताल परिसरमा थिए ।

झापामा रहेका कारण प्रचण्ड काठमाडौं आइपुग्न समय लाग्यो । प्रकाश पत्नी विना मगर कञ्चनपुर १ बाट उम्मेदवार बनेका कारण उतै थिइन् । भरतपुरकी मेयर दिदी रेणु दाहाल भरतपुरमै थिइन् । आमा सीता दाहाल विक्षिप्त अवस्थामा घरमै रहेको जानकारी प्राप्त भएको थियो । भाञ्जीहरु रुँदै बाहिरिएपछि प्रकाशको निधनको औपचारिकरुपमै पुष्टि भयो ।

यसबीचमा एमाले नेताहरु झलनाथ खनाल, माधव नेपाल, ईश्वर पोखरेल, कांग्रेसका प्रकाशमान सिंह लगायतका नेताहरु अस्पताल पुगेर प्रकाशको अवस्थाबारे जानकारी लिइसकेका थिए । सबैको प्रतीक्षा प्रचण्ड कतिबेला आइपुग्छन् भन्नेमै थियो ।

बुहारी बिना मगर अस्पताल प्रवेश गरेको केहीबेरमै प्रचण्डको गाडी प्रवेश गर्‍यो । त्यहाँ जम्मा भएका हजारौं मान्छेका आँखा प्रचण्डलाई एक झलक हेर्न लालायित थिए ।

प्रचण्डले प्रकाशको उपचारमा संलग्न चिकित्सकहरुसँग सामान्य जानकारी लिए । नर्भिक अस्पतालका सञ्चालक बसन्त चौधरी पनि सँगै थिए । प्रकाशलाई अस्पताल ल्याइपुर्‍याउनुअघि नै उनको निधन भइसकेको जानकारी चिकित्सकहरुले प्रचण्डलाई दिए ।

प्रकाशलाई मध्यराति २ देखि ३ बजेको बीचमा आकस्मिक हृदयाघात भएको हुनसक्ने चिकित्सकहरुले सुनाए ।

कठिन क्षणमा पनि प्रचण्ड सम्हालिएको अनुभव सुनाए प्रकाशको निधनको खबर सुनाउने चिकित्सकले । प्रचण्ड पुगेर जानकारी लिएलगत्तै प्रकाशको पार्थिव शरीर नर्भिक अस्पतालको एम्बुलेन्समा राखेर पार्टी कार्यालय पेरिसडाँडातिर लगिएपछि पनि अस्पताल परिसरमा केहीबेर रुवाबासी चल्यो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ