कास्की क्षेत्र नं. २ देवराज चालिसे (काँग्रेस): ‘राजनीति पेशा होईन, सेवा हो’

कास्की क्षेत्र नं. २ देवराज चालिसे (काँग्रेस): ‘राजनीति पेशा होईन, सेवा हो’

Devraj chalise

रेम बिक
रापिलो घाम लागेको डाँडागाऊँको डाँडो । यहाँबाट हेर्दा वरिपरीका डाँडा अलिक होँचै देखिन्छन् । छेवैँमा महारुद्रको मन्दिर । महारुद्र मन्दिरकै छेऊमा छ एउटा झ्याम्म परेको पिपलको रुख । दृश्य निकै मनोरम छ ।

साविक भरतपोखरी गाविसमा पर्ने जिब्रेढुंगा माथिको डाँडो, हाल पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३३ भएको छ । झट्ट हेर्दा यहाँ महानगर भन्न मिल्ने गरि केहि देखिँदैन । जंगलको बीचबाट कच्ची बाटो हुँदै पुगिने यो ठाऊँमा पर्यटकीय संभावनाहरु भने प्रशस्तै छन् । तर यतिका संभावना बोक्दा बोक्दै पनि भरतपोखरीमा ‘बत्ति मुनीको अँध्यारो’ भनेजस्तै चाल छ ।

देशका धेरैवटा परिवर्तको साक्षी बन्यो भरतपोखरी पनि । धेरैले थुप्रै थरिका आश्वासन पनि बाँडेका हुन् । तर ती आश्वासन केवल चुनाव जित्ने वहाना मात्रै बने । ‘कसैले केहि माखो मारेनन् । यहि ठाऊँबाट हामीले पटक पटक यहाँकै भनिने मान्छे जिताएर पठाएपनि केहि लछारपाटो लागेन । हाम्रा समस्या ज्यूँ का त्यूँ नै छ ।’ स्थानिय वरमाझथरका रामचन्द्र पौडेल कड्किए–‘फेरि चुनाव लागेको छ । र, भोट माग्न उम्मेदवारहरु हामीकहाँ आईपुगेका छन् ।’ उनले गतिलो काम गर्ने जोश, जाँगर र ईच्छाशक्ति भएका प्रतिनीधिलाई यसपाली भोट हाल्ने बताए ।

कात्तिकको महिना । अब कृषकलाई कामको चटारो छ । धान काटेर भित्राउने बेलामा हुन लागेको प्रतिनीधिसभा र प्रदेश निर्वाचनको चटारो पनि कम छैन । तर पनि चुनाव लागेकै छ । डाँडागाऊँको महारुद्र मन्दिरकै छेऊमा शनिबार भरतपोखरीबासीहरु जम्मा भएका थिए ।

भरतपोखरीकै जामुनाबोट, सिंगारेबास, सुरताने, बरमाझथर, बरपौवा, चवादी, कुर्लिङ, धारापानी, मालागिरी, आँपुभञ्ज्याङ, आँपुकसेरी, उपल्लोपुल, तल्लो पुँडीटार, लामगादी, तिक्लाङ, खैरेनी लगाएतका ठाऊँबाट स्थानियबासीहरु डाँडागाऊँमा जम्मा भएका थिए । नेपाली काँग्रेसको तर्फबाट प्रतिनीधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका देवराज चालिसे र गुरु बराल आउने सूचना पाएका गाउँलेहरु उनीहरुलाई स्वागत गर्नका लागि फूलको माला लिएर पर्खिरहेका थिए ।

‘यसपाली हामीलाई केहि आश लागेको छ । यतैका लाई जिताए पनि आफु मात्रै बन्यो । आफ्ना आसेपासेलाई मात्रै केहि ग¥यो की ? नत्र यो ठाऊँको लागि केहि गरेन ।’ साविक भरतपोखरी गाविसका नेपाली काँग्रेसका पुर्व सभापति क्याप्टेन प्रेमबहादुर गुरुङले भने–‘यसपाली काँग्रेसका उम्मेदवारहरुले केहि गर्छु भनेका छन् । यीनले पनि गरेनन् भने हामीसँग अर्कोपटकदेखि नआए हुन्छ ।’ उनले आफ्नो ठाऊँको विकासको लागि भएपनि यो पटक काँग्रेसलाई जिताएर ‘परिक्षण’ गर्ने बताए ।

प्रचारप्रसारको चटारोमाझ भरतपोखरीको डाँडामा उक्लिएका नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका देवराज चालिसेले शालिन मुद्रामा आफ्नो पक्षमा भोट हाल्न भरतपोखरीबासीलाई आग्रह गरे । ‘व्यक्तिगत र भावनात्मक रुपमा म भरतपोखरी र यस क्षेत्रका मानिसहरुसँग नजिक छु । त्यसैले यो क्षेत्रकै लागि केहि गरौँ भन्ने उद्देश्यले अहिले म चुनावी प्रतिस्पर्धामा उत्रिएको हुँ ।’ उनले भने–‘हरेक क्षेत्रमा सम्बृद्धि रोक्ने काम कम्युनिष्टले नै गरेका छन् । र, यहाँपनि त्यस्तै भएको हो ।’ उनले वर्तमान समयमा सम्बृद्धिसँगै लोकतन्त्र बचाउनका लागि पनि काँग्रेसलाई जिताउनपर्ने आवश्यकता रहेको उनले बताए ।

त्यस्तै काँग्रेसको तर्फबाट कास्की क्षेत्र नम्बर २ प्रदेश ‘क’बाट उम्मेदवारी दिएका गुरु बरालले जनताको मागलाई आफुले पुरा गर्ने वचनबद्धता व्यक्त गरे । ‘चाहे म निर्वाचित नहोऊँ, तर यस क्षेत्रका जनताको पक्षमा म सँधै सेवकको रुपमा प्रस्तुत हुनेछु ।’ बरालले भने–‘म हजुरहरुको विश्वास डग्मगाउन दिनेछैन ।’

उनले भरतपोखरीको समस्याको रुपमा रहेको खानेपानी र सडक विस्तारलाई आफ्नो गुरुयोजनाअन्तरगत प्राथमिकतामा राखेको पनि बताए । ‘म यस क्षेत्रको खानेपानी समस्याको समाधान, वृहत सडक संजाल, आधुनिक कृषि प्रणालीको विकास र कृषि उत्पादनको बजारिकरणका लागि अनवरत खट्नेछु ।’ भरतपोखरीबासीमाझ उनले प्रतिबद्धता जनाउँदै भने–‘काँग्रेसलाई मात्र होईन यस क्षेत्रका गैरकाँग्रेसीहरुलाई पनि मैले आफ्नै ठानेको छु । त्यसैले मलाई यो पटक साथ दिनुहोस् ।’

भरतपोखरीको जनतामाझ यस अगाडि निर्वाचित भएकी संसद वृन्दा रानाले झुटको खेती गर्नेलाई भोट नगर्न आग्रह गरिन् । ‘मैले यस क्षेत्रका लागि गरेका हरेक काम विपक्षी दलका निर्वाचित सदस्यले आफुले गरेको भन्दै फलाक्ने रैछन् । यस्ता झुटलाई किन भोट गर्ने ?’ उनले भनिन्–‘झुटलाई प्रतिबाद गर्न सिक्नुस् ।’

राजनीति पेशा होईन, सेवा हो

नेपाली काँग्रेसका नेता तथा कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार देवराज चालिसेले राजनीति पेशा नभई सेवा भएको बताएका छन् ।

पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ४ गैह्रापाटनबाट चुनावी प्रचार थालेका उनले देशैभरी राजनीति प्रति जनताको वितृष्णा रहेको भन्दै त्यसमा सुधारको खाँचो औंल्याए ।
‘राजनीतिमा सुधारको खाँचो छ । शुद्धता र पारदर्शीताको खाँचो छ, उनले भने–यसलाई पेशाको रुपमा अंगाल्ने नेताले देशको विकास गर्न सक्दैन । राजनीति सेवा हो भन्ने मान्यता स्थापित गराउनु जरुरी छ, हाम्रो आह्वान देशैभरी फैलियोस् भन्ने चाहाना छ मेरो ।’
४ नम्बर वडाबाटै आफुँले राजनीतिमा त्याग र वलिदान गर्न सिकेको भन्दै उनले त्याग र वलिदानीकै लागि यही वडाबाट प्रचारको अभियान सुरु गरेको बताए । ‘यो वडाले आस्थाको राजनीति सिकाएको छ । मलाई राजनीतिमा पाईला टेक्न सिकाएको छ, उनले भने–त्यसैले यही वडाबाट हामीले घरदैलो सुरु गरेका हौं ।’ राजनीतिमा ठूलो निराशा छ ।
चालिसेले सुधार प्रत्येक ब्यक्तिबाट सुरुवात भएमात्रै देशको समृद्धी हुने विश्वास ब्यक्त गरे । भाषणले मात्रै देशको विकास नहुने भन्दै उनले आँफु कर्ममा विश्वास गर्ने भएकाले चुनावमा निर्धक्कसाथ मतदान गरिदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ