मीन राशीः २०७६ तपाईंको लागि शुभ छ कि अशुभ ? [वार्षिक राशीफल]

मीन राशीः २०७६ तपाईंको लागि शुभ छ कि अशुभ ? [वार्षिक राशीफल]

Min 2076

मीन राशि (दी.दु.थ.झ.ञ.दे.दो.च.ची.) 

ज्यो.पं. ओजराज लोहनी (उपाध्याय)

वर्षारम्भमा दशम गुरु तथा शनि वक्रभै प्रतिकूल रहनेछ । राशि स्वामी र दशमेष गुरु स्थान हानी गर्दै दशमस्थानमा बसेकोे र चतुर्थ स्थानमा शनिको र गुरुको वक्र दृष्टि हुने र राहु समेत वक्र भई चतुर्थ रहने हुँदा स्वास्थमा समस्या धेरै आउन सक्छ । नोकरीमा सङ्कट आउनुको साथै राजनीतिमा समस्या आउनेछ । झुटा आरोप लगाउने हरू सक्रिय हुनेछन् । विश्वास गरेका हरूबाट धोका हुनेछ । विनाकारण हुने विवादले मानसिक तनाव बढ्नेछ । आर्थिक सङ्कटले सताउनेछ ।

कामको बीचमा अवरोध खडा गर्नेहरू सक्रिय हुनेछन् । मित्रहरूको गुनासो बढ्नुको साथै पारिवारिक समस्याले सताउने देखिन्छ । आमाको स्वास्थ्यमा समस्या आउन सक्ने हुनाले त्यतातिर समयमै ध्यान पुर्‍याउनु उचित होला । पढाइमा ह्रास आउनुको साथै बौद्धिक कार्यमा समस्या आउने योग छ ।

[bs-quote quote=”ज्येष्ठ, भाद्र, पौष र माघ शुभ महिना हुन भने वैशाख, आषाढ, कार्तिक र फाल्गुन अशुभ छन् । श्रावण, आश्विन, मार्ग र चैत्र मध्यम रहनेछन् ।” style=”style-21″ align=”left”][/bs-quote]

पितासँगको सम्वन्धमा ह्रास आउनेछ । सर्वत्र सङ्कट आउनेछ । गलत विचार बढ्नेछ । समयमा निर्णय नहुँदा आफ्नो काममा अरुले अधिकार जमाउनेछन् । आषाढ ९ पछि कार्तिक १२ सम्म गुरुको शनिको अनुकुलताले समय बलियो हुनेछ । उच्च मनोवल बढ्नुको साथै सकृय भएमा रोकिएका कामहरू बन्नेछन् ।

दशमेष गुरु भाग्य भावमा र एकादशेस शनि कर्म भावमा बलियो भएकोले अघि बढ्न सजिलो हुनेछ । धार्मिक कार्यमा अघि बढेर सम्मान पाउनु होला । सामाजिक कार्यमा प्रतिष्ठा बढ्नेछ । नोकरीमा आउने समस्या हटेर जानेछ । राजनीतिमा आएका समस्याहरू पूर्ण रुपले हटेर जानेछन । राज्यले आफ्नो गल्ती महसुस गरी तपाईको लगनशीलता र इमान्दारिताको उच्च मुल्याङ्कन गर्नेछ । पदक प्राप्ति पनि हुनेछ ।

आम्दानीमा आएका बाधाहरू पूर्ण रुपले हटेर जानेछन र आम्दानीका स्रोत हरू चौतर्फी जुटनेछन । व्यापारमा र वैदेशिक कार्यमा सोचे जस्तै सफलता मिल्नेछ । पढाइमा सुधार आउनुको साथै बौद्धिक कार्य पनि निर्विवाद अघि बढ्नेछ । परिवार तथा मित्रहरूले पनि कुरा बुझेर सहयोगको हात अघि सार्नेछन् । शत्रुलाई परास्त गर्दै आफ्नो लक्ष्यमा पुग्न सहज वातावरण बन्नेछ । महत्वपूर्ण कामहरू आषाढ ९ देखि कार्तिक १२ भित्र गर्नु यव उपयुक्त रहला ।

……………………………………………

ज्यो.पं.वैद्यराज दीपक सुवेदी

यो वर्ष मीन राशिको लागि संघर्षकर देखिएको छ । उपलब्धि हातपार्न कठिन पर्ने देखिन्छ । बढी महत्त्व दिएको काममा हलो अड्कन सक्नेछ । आशा–अपेक्षा एवं आश्वासन प्रसस्त हुने तर पूरा हुन नदिने ग्रहगोचर रहेकोले कम भरोसा गरेको राम्रो होला । श्रमिक वर्गसँगको सहकार्य, झट्ट हेर्दा सफासुग्घर नदेखिने र खासै ईज्जतिलो नमानिएको तर लोक सेवा हुने एवम् सदाचारी कार्यमा भने संघर्षको वाबजुत पनि केही सफलता मिल्ने छ । भलै कठिनाइको बढी अनुभूति किन नहोस स्वकर्मलाई प्रसय दिने कर्मयोगीको लागि भने अपगाल तथा अपयशको बाबजुत अप्रत्यासित उपलब्धि र सफलता मिल्ने छ । लामो छोटो यात्राको पनि सम्भावना देखिएको छ ।

जन्मकालीन ग्रह अनुकूल हुनेलाई आकस्मिक रूपमा नसोंचेको सफलता एवं लाभ मिल्नसक्ने छ । तर राज्य एवं सामाजिक र व्यवसायिक काममा अनपेक्षित लाभ भयो भन्दैमा मख्ख भने नपर्नु होला । अप्रत्यासित रूपमा विभिन्न खालका प्रस्तावहरू आउने छन् तर नबुझि स्वीकार गर्नु घातक पनि हुन सक्नेछ । अल्लि सावधानी पनि अप्नाउनु होला कुनियतको चक्रब्यूहमा पनि फसिनसक्ने सम्भावना छ ।

जन्मकालीन ग्रह प्रतिकूल पर्नेहरूलाई दैनिक कामकार्य तथा व्यवहार चलाउन पनि धौधौ पर्नसक्ने छ । पापकर्म एवम् कुधन आर्जनको चेष्टा नआउला भन्न सकिन्न । विशेष होसविचार तथा संयम नपनाए ईज्जत प्रतिष्ठामै धक्का लाग्नसक्ने छ ख्याल पुर्याउनु पर्ला । खाईपाई आएको सेवासुविधा तथा पदप्रतिष्ठा अर्थात भोगाधिकारबाट हात झिक्न पर्नसक्ने छ । घरपरिवार, दाम्पत्यसम्बन्ध, यात्रा, मित्रसम्बन्ध आदिमा असमझदारी बढ्ने, कष्ट पर्ने, टाढिनुपर्ने आदिलाई नकार्न सकिन्न । मान्यजन कष्ट, परिवारमा रोगव्याधि, शत्रुवृद्धि, पशुचौपाया तथा वाहनादिबाट खतिक्षति जस्ता विपरित फलको पनि लक्षण देखिन्छ ।

वर्षको अन्त्यतिर भने केही सहज महसूस हुनजाला । अड्किएर रहेका केही कामहरु बन्ने र राहतको अनुभूति गर्न पाइनेछ । यो वर्ष तपाईले वर्षभरी भैरव र हनुमानदेवको र वर्षको मध्यबाट माँ बगलामुखीको दर्शनभक्ति आराधना उपाशना गर्नु हितप्रद हुनेछ ।

[शनि साढेसाति वा अढैया लाग्दा सर्वप्रथम पीपलको पूजा गर्ने, भैरवको पूजा गर्ने। शनिबारको दिन भैरवको पूजा गरी भैरवको दायाँहातमा २ मिटर कालो कपडा राखी‘शनिको दशा नाश होस्’ भनेर दशकदम पछि हटी नहेरी फर्कने। भैरवको मन्दिर उपलब्ध नभएमा २ नदीको संगममा नदीको मूलतिर वा नदी आएकोतर्फ फर्केर पूजा गर्ने, २ मिटर कालो कपडा आफूभन्दा पछाडिबाट बगाउने र ‘मेरो शनि दोष बगोस्’ भनी बगाउने। बगेकोलाई नहेर्ने यस प्रकारको उपाय गर्दा शनिको दोष कम हुन्छ। यो व्यवहारिक प्रयोगले थाहा भएको हो। ]

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ