टीकापुर हत्याकाण्ड: रेशम चौधरीसहित १२ जनालाई जन्म कैद, १५ जना छुटे

टीकापुर हत्याकाण्ड: रेशम चौधरीसहित १२ जनालाई जन्म कैद, १५ जना छुटे

Resham Chaudhari

कैलाली । जिल्ला अदालत कैलालीले उच्च सुरक्षा अधिकारीसहित ९ जनाको हत्याकाण्डमा सांसद रेशम चौधरीसहित ११ जनालाई मंगलबार जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेेस्तेदार इन्द्रबहादुर कठायतले बताए ।

गत बुधबारदेखि सुरु भएको बहसमा पक्ष र विपक्षमा बहस भएको थियो । लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाएको छ । उनले तीन वर्ष जेल बसिसकेकाले आजै रिहा हुने भएका छन् ।

मधेसी-थारु आन्दोलनका क्रममा  २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एक बालक गरी नौ जनाको ज्यान गएको थियो ।  घटनापछि फरार भएका चौधरी कैलाली १ मा राजपाबाट प्रतिनिधिसभा सदस्यको चुनाव जिते । वारेसमार्फत चुनाव जितेको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतसम्म गएका चौधरीले मुद्दा हारेपछि १४ फागुन २०७४ मा जिल्ला अदालत कैलाललीसामू आत्मसमर्पण गरेका थिए ।

तर, जेलमै रहेका बेला १९ पुस २०७५ मा सरकारकै जोडबलमा चौधरीले सांसदको सपथ लिए । सपथपछि पनि जेलमै रहेका बेला जिल्ला अदालत कैलालीले चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ । सांसद चौधरी अहिले काठमाडौं डिल्लीबजार कारागारमा थुनामा रहेका छन् ।

के हो टीकापुर काण्ड ? कसरी मारिएका थिए एसएसपीसहित ९ जना ?

२०७२ साल भदौ ७ गते टीकापुरका सरकारी कार्यालयमा थरुहट थारुवान प्रदेशको वोर्ड झुण्ड्याउने थारु आन्दोलनकारीहरुको तयारी थियो । हजारौँको संख्यामा आन्दोलनकारी टीकापुर बजार प्रवेश गर्ने तयारीमा रहेको सूचना पाएपछि तत्कालीन सेती अञ्चल प्रहरी कार्यालयका एसएसपी लक्ष्मण न्यौपाने सुरक्षा कमाण्ड सम्हाल्न आफै टीकापुर पुगेका थिए ।

आन्दोलनकारीहरुको भीड ठूलो थियो । प्रहरीले त्यसलाई रोक्न सकेन । एक्कासी दंगा फैलियो । आन्दोलनकारीको भीडबाट प्रहरीमाथि भाला, तरबार लगायत हात हतियारले आक्रमण भयो । प्रहरी वरिष्ठ उपरीक्षक न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको निर्मम हत्या भयो । एसएसपी न्यौपानेसहित प्रहरीको निर्मम हत्या भएको उक्त घटनाको मुख्य योजनाकार रहेको आरोप लागेका रेशम चौधरी अहिले पुर्पक्षका लागि थुनामा छन् ।

घटना लगत्तै फरार रहेका उनी फरार रहेकै अवस्थामा टीकापुरबाटै प्रतिनिधिसभामा २० हजार ९ सय ३५ मतको फराकिलो अन्तरले विजयी भएका थिए । रेशमले चुनाव जितेको केही समयपछि कैलाली जिल्ला अदालतमा आत्मसमपर्ण गरेका थिए ।

उनलाई केही हप्ताअघि मात्रै सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा सदस्यको शपथ खुवाएका छन् । टीकापुर हत्याकाण्डको अभियोगमा प्रतिनिधिसभामा निर्वाचित सांसद रेशम चौधरीसहित ५८ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी अन्तर्गत मुद्दा दायर भएकोमा आज (बुधबार) फैसला भएको हो ।

सुदूरपश्चिमका ९ जिल्लाकै एक प्रदेश हुनुपर्ने माग राखेर अखण्ड सुदूरपश्चिमको आन्दोलन उत्कर्षमा थियो । यस्तै सुदूरपश्चिमकाे तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरसहित थारु बाहुल्य क्षेत्रलाई समेटेर थरुहट प्रदेशको माग गरि थारु समुदाय आन्दोलित थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds