पाकिस्तानले खसाल्यो भारतीय वायु सैनिकका दुई जहाज, एक पाइलट नियन्त्रणमा

पाकिस्तानले खसाल्यो भारतीय वायु सैनिकका दुई जहाज, एक पाइलट नियन्त्रणमा

india pak

एजेन्सी । भारतीय वायु सेनाका दुई जहाज विवादास्पद कस्मिरमा खसेको भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) ले जनाएको छ। समाचारमा जनाइएअनुसार बुधबार बिहान साढे १० बजे दुई जहाज खसेका थिए। पाकिस्तानी सैनिक प्रवक्ता मेजर जनरल असिफ गफुरले पाकिस्तानी वायु सेनाले भारतीय वायु सेनाका दुई जहाज खसालेको दाबी गरेका छन्। सीमा नाघेर पाकिस्तानी आकाशमा प्रवेश गरेका जहाज खसालिएको उनको दाबी छ।

भारतीय वायु सेनाको एउटा जहाज पाकिस्तान नियन्त्रित कस्मिरमा खसेको छ भने अर्को भारततिरको कस्मिरमा खसेको गफुरले ट्वीटमार्फत जनाएका छन्। पाकिस्तान नियन्त्रित कस्मिरमा खसेको जहाजबाट एक पाइलटलाई पाकिस्तानी सैनिकले नियन्त्रणमा लिएको उनले जनाएका छन्।

भारतीय भूमिमा खसेको जहाजका पाइलट मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारत प्रशासित कस्मिरको प्रहरीले वायु सेनाका दुई जहाज खसेको बताएको छ तर कारण खुलाएको छैन।

यसअघि मंगलबार बिहान भारतीय वायु सेनाका जहाजले पाकिस्तानको बालाकोटमा बम खसालेका थिए।

भारतीय पक्षले बमवारीबाट आतंकवादी समूह जैस-ए-मोहम्मदको तालिम अखडा ध्वस्त भएको र उसका कमाण्डरसहित कैयौं लडाकु मारिएको दाबी गरेको छ। भारतीय मिडियाले यसलाई मोदी सरकारको ठूलो सफलताका रूपमा प्रचार गरिरहेका छन्।

पाकिस्तानको खाइबर पाख्तुन्ख्वा प्रान्तको बालाकोटमा भारतीय सैनिक जहाजले खसालेको बम जंगलमा खसेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। घटनास्थलमा पुगेर स्थानीयसँग कुराकानी गर्दा बमवारीबाट एक जना घाइते भएको खुलेको रोयटर्सले जनाएको छ।

बेलायती प्रसारण संस्था बिबिसीले पनि प्रत्यक्षदर्शीले बम जंगलमा खसेको र एक जना घाइते भएको बताएको जनाएको छ। भारतीय पक्षको दाबीजस्तै भारत-पाकिस्तान ‘लाइन अफ कन्ट्रोल’बाट ४० किलोमिटर भित्र पर्ने बालाकोटमा जैस-ए-मोहम्मदको तालिम केन्द्र छ।

जसलाई उनीहरूले धेरै वर्ष पहिले मदरसा बनाएका थिए। जंगलको बीचमा पहाडको टुप्पोमा रहेको उक्त मदरसामा स्थानीयलाई जान प्रतिबन्ध छ। भारतीय निशाना जैस-ए-मोहम्मदको त्यही मदरसा हुन सक्छ तर सैनिक जहाजले हानेको बम उक्त मदरसादेखि १ किलोमिटर टाढा खसेको स्थानीयले बताएका छन्।

पाकिस्तानी सैनिक प्रवक्ता मेजर जनरल असिफ गफुरले ट्वीटरमा सार्वजनिक गरेको तस्बिरमा पनि बम जंगलको बीचमा पड्केको देखिन्छ। जहाँ न कुनै भौतिक संरचनाको भग्नावशेष छ न कुनै लास। पाकिस्तानी सैनिक प्रवक्ता गफुरले भनेका छन्-भारतीयहरूको दाबी ३ सय ५० आतंककारी मारिए भन्ने छ। मारिएका मान्छेको लास होला, रगत होला। पहिलाको गुगल फोटो हेरे पनि हुन्छ, बम पडकेको ठाउँमा कुनै संरचना नै थिएन। म भारतीय मिडियालाई नै घटनास्थलमा गएर चेकजाँच गर्न आग्रह गर्छु।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ