गण्डकी सरकार विश्वयुद्धमा जस्ताे ‘वार रूम’ चलाउँदै, भोलि गण्डकी सरकारले १ वर्ष पूरा गर्दै

गण्डकी सरकार विश्वयुद्धमा जस्ताे ‘वार रूम’ चलाउँदै, भोलि गण्डकी सरकारले १ वर्ष पूरा गर्दै

war roomm

पाेखरा, ३ फागुन । भोलि, फागुन ४ गते प्रदेश सरकार गठनको १ वर्ष पुग्दैछ । सरकारले फागुन ४ लाई प्रदेश दिवस घोषणा गरेको छ । दिवस मनाउन अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन भएको छ । प्रदेश दिवसको अवसर पारेर गण्डकी प्रदेश सरकारले ‘वार रुम’ सुरु गर्ने भएको छ ।

मुख्यमन्त्रीले प्रदेशका मुख्य परियोजनाहरु अनुगमन र निर्देशित गर्ने भिडियो प्रणालीसहितको कार्यकक्ष सुरु हुने जानकारी आर्थिक मामिला तथा योजना (अर्थ) मन्त्री किरण गुरुङले दिए । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो कार्यालयबाटै प्रादेशिक तथा राष्ट्रिय गौरवको आयोजनाहरूको अनुगमन गर्न सक्नेछन्।

वाररुम सञ्चालनको योजना सरकारले आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको थियो ।

के हो वार रुम ?

वाररुमको अवधारणा बेलायतका तत्कालीन प्रधानमन्त्री विन्स्टन चर्चिलबाट सुरु भएको हो । उनले दोस्रो विश्वयुद्धताका आफ्ना जर्नेलहरुलाई राखेर कसलाई कता खटाउने, कहाँ के गर्ने भन्ने निर्णय तुरुन्ता तुरुन्तै लिन्थे । त्यही कक्ष वाररुममा रुपमा चर्चित बनेको थियो । सिंगापुरका लि क्वान यु र मलेसियाका महाथिर मोहम्मदले पनि वाररुम सञ्चालन गरेका थिए ।

भारतको तेलंगना राज्यमा विश्वकै सबैभन्दा ठूलो सिँचाइ आयोजना बनिरहेको छ। १८ सय किलोमिटर लामो सिँचाइ नहर निर्माण आयोजनाको अनुगमन त्यहाँका मुख्यमन्त्री के चन्द्रशेखर राव आफ्नै कार्यकक्षबाट गर्छन् । वाररुममा भिडियो कन्फेरेन्स सफ्टवेयर ‘जुम’ प्रयोग हुनेछ । मुख्यमन्त्री कार्यालयमा कर्मचारीकै संयोजकत्वको वाररुम व्यवस्थान टिम बन्नेछ । परियोजनाको गतिविधि, तथ्यांक र ग्राफमा देखाउन डिस्प्ले वाररुममा हुन्छ ।

सरकारले १ वर्षका उपलब्धि पनि सार्वजनिक गर्नेछ । प्रदेश दिवसकै अवसरमा निजामती कर्मचारी पुरस्कृत गर्ने जानकारी पनि मन्त्री गुरुङले दिए । पुरस्कृत गर्ने कर्मचारी छनोटको लागि छनोट समिति समेत बनाइएको छ। आर्थिक मामिला तथा योजना मन्त्री गुरुङले सरकारले वर्षभरी गरेको कामको समीक्षा र प्रगति विवरण प्रकाशित गरी सबैलाई जानकारी दिने पनि बताए। त्यस्तै उनले वार्षिकोत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत हुने बताए।

नेपाल भ्रमण वर्ष सफल बनाउन गण्डकी सरकारले आन्तरिक भ्रमण वर्ष पनि घोषणा गर्न लागेको छ। आगामी फागुन ९ र १० गते नेपाल पत्रकार महासंघले पोखरामा आयोजना गर्न लागेको साधारण सभा तथा विधान अधिवेशनकै अवसरमा आन्तरिक भ्रमण वर्ष घोषणा गरिने मन्त्री गुरुङले जानकारी दिए। त्यस्तै, उनले यस वर्ष नीति निर्माणको वर्ष भएको बताउँदै आवश्यक संरचनाहरू पनि खडा गरिएको बताए। विभिन्न प्रोजेक्टको डिपिआरहरू पनि तयार भइरहेको उनको भनाई छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds