उपन्यासकार सरस्वती प्रतिक्षाविरुद्ध प्रहरीमा उजुरी

उपन्यासकार सरस्वती प्रतिक्षाविरुद्ध प्रहरीमा उजुरी

sarswoti-pratikshya

काठमाण्डौं । वादी समुदायको विषयमा केन्द्रित रहेर लेखिएको उपन्यास ‘नथिया’ की लेखिका सरस्वती प्रतीक्षाविरुद्ध प्रहरीमा उजुरी परेको छ । नियतवश वादी समुदायको आत्मसम्मानमा ठेस र्पुयाउने गरी उपन्यास लेखिएकोे दाबी उजुरीकर्ताको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँमा घोराही उपमहानगरपालिका बस्ने रञ्जिता नेपालीले उजुरी दर्ता गराएकी हुन्।उनले ‘नथिया’ उपन्यासको प्रकाशक बुक हिलविरुद्ध पनि उजुरी दिएकी छिन्। उपन्यासमा वादी समुदायको आत्मसम्मानमा ठोस पुग्ने शब्दहरू प्रयोग गरेर चरित्र हत्या गरेको दावीसहित उनले क्षतिपूर्तिसहित कारबाहीको माग गरेकी छिन्। प्रहरीमा परेको उजुरीमा उपन्यासको ‘नथिया’ शीर्षक नै गलत अर्थ लगाई परिभाषित जातीय विभेदलाई संस्थागत गरेको समेत उल्लेख छ।

त्यस्तै, उपन्यासमा मन्जुरी बिना स्वर्गीय बुबा गुमानसिंह र आफ्नो नाम उल्लेख गरेर चरित्र हत्या गरेको आरोप लेखिकामाथि लगाइएको छ। आफ्नो बाबुसँगको सम्बन्ध अनैतिक भनी गाली गरेकाले आत्मसम्मानमा चोट पुगेको उजुरीकर्ताको छ। उपन्यासमा गुमानसिंह पात्र छन्। उजुरीकर्ता नेपालीले आफ्ना स्वर्गीय बुवा छन्दे वादी भए पनि गाउँमा गुमानसिंह नामले चिनिने भएकाले परिवारको मञ्जुरी बिना नै उपन्यासमा लेखिएको आरोप लगाइएको छ। उपन्यासले आफू लगायतको चरित्र हत्या गरेको र जातीय भेदभावलाई पनि प्रश्रय दिएको दाबी गर्दै लेखिकामाथि जातीय विभेद तथा छुवाछुत ऐन अन्तरगत कारबाही गर्न माग गरिएको छ ।

प्रहरीमा दर्ता भएको उजुरीमा भनिएको छ,

’नेपाल सरकारबाट बन्देज गरेका समग्र यस समुदायलाई प्रत्यक्ष ठेस लाग्ने, लान्छना, भेदभाव देखिने शब्दहरूको प्रयोग भएकोर समग्र समुदायलाई प्रतिकूल असर हुने खालका शब्दहरू जस्तै बदेनि, रण्डी, वेश्या, रखेल शब्दहरू तथा प्रतिकृयाहरु उपन्यासमा प्रयोग भएको छ। ‘एक जना दुई जनाको नाम मिल्नु संयोग होला । तर, ४-५ जनाकै नाम मिल्नु कसरी संयोग हुनसक्छ ? यो उपन्यासले हाम्रो समुदायलाई नै प्रत्यक्ष ठेस र्पुयाएको छ । उक्त उपन्यासमा म जाहेरवालीको बिना मन्जुरी मेरो र मेरो स्वर्गीय पिता श्री गुमानसिंहको नाम उल्लेख गर्दै मेरो चरित्र हत्या गरिएको छ । जस्तै ‘नथिया’को पृष्ठ २२७ को सातौ हरफमा “ रन्जिता गुमानसिंहको आफ्नै छोरी हो । पछि त्यही कुरा उसले गुमानसिंहलाई पनि भन्याकी रैछ। रुँदैरुँदै आफ्नै छोरीको नथिया नखोल्न बिन्ती बिसायाकी रैछ। र*को छोरीको पनि कुनै बाउ हुन्छ र तैले मलाई रन्जिताको बाउ हो भन्छेस् ? पृष्ठ २२८ को छैटौँ हरफमा ……. रन्जितालाई सजिसजाउ गरेर टयाउने अर्को विकल्प छदै थिएन । मदहोसीवश रन्जिताको नथिया खोल्यो गुमानसिंहले । आफ्नै छोरीको नथिया खोल्यो ।…..” भन्नी म र मेरो पिताको चरीत्र हत्या गर्नुको साथै म र मेरा पिताको पवित्र सम्बन्धलाई अनैतिक भनि गाली गरेकाले मेरो आत्म सम्मानमा चोट पुगेको छ। यस्ता शब्दले वादी समुदायको आत्मसम्मानमा ठेस लागेको छ र जसको नकारात्मक प्रभावले यस समुदायका महिलाको अस्मितामाथि आँच पुग्न गई भावी पिंढीमा नकारात्मक मनोसामाजिक असर पर्ने देखिन्छ। यस उपन्यासले बादी समुदायमा लागेको कलंक, लान्छना र भेदभावलाई झन्झन् बढावा दिई समाजमा नकारात्मक प्रभाव पारेको समाचार सञ्चार माध्यमबाट सार्वजनिक हुँदा समेत राज्यका निकायका तर्फबाट निज प्रतिवादीहरुलाई कानुनी कारवाहीका लागि खोजतलास तथा कारवाहीको पहल नभएको र यसको कारणले मेरो परिवारीक जिवनमा लान्छना र भेदभाव भई नकारात्मक असर परेकाले यो जाहेरी लिई आएकी छु।’

महानगरीय प्रहरी परिसर, टेकुका एक अधिकारीका अनुसार प्रतिक्षाविरुद्ध केही दिनअघि उजुरी परेलगत्तै प्रहरीले उनलाई छलफलका लागि बोलाएको थियो ।

‘एनजीओको केही लाख पैसामा काठमाडौंमा मासुभात खाएर केही सीमित व्यक्तिहरुले मुद्दा हाले’

प्रहरीमा उजुरी परेपछि प्रतिक्षाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै एनजीओहरुले समुदायका केही व्यक्तिलाई उचालेर आफूलाई खेद्न खोजेको बताएकी छन् । उनले आफूले ३० को दशकको कथा लेखको दाबी गर्दै ५० सालमा जन्मेकी युवतीले किताबको पात्रसँग नाम जुधेकाले बेइज्जती भयो भनेर प्रहरीमा उजुरी दिएको पनि उल्लेख गरेकी छन् ।

उनले लेखेकी छन्,

‘पाठकहरुले नै तैंले गलत लेखिस् भनेर किताब अस्वीकार गरे भने लेखक सकिन्छ । होइन भने एउटा एनजीओको केही लाख पैसामा काठमाडौंमा मासुभात खाएर केही सीमित व्यक्तिहरुले हालेको मुद्दा मैले हारे पनि जिते पनि मभित्रको लेखक कहिल्यै डग्मगाउँदैन ।’

https://www.facebook.com/permalink.php?story_fbid=753022605072684&id=100010948538698

के छ व्यवस्था ?

चरित्र हत्या तथा जातीय छुवाछुतलाई संस्थागत गरेको भन्दै लेखिका र प्रकाशकलाई जातीय भेदभाव तथा तथा छुवाछुत (कसुर र सजाय ऐन) र छापाखाना र प्रकाशन ऐन बमोजिम क्षतिपूर्ति र कारबाहीको माग गरिएको छ।

जातीय भेदभाव तथा तथा छुवाछुत (कसुर र सजाय) ऐनको दफा ४ को उपदफा (१२) मा “कसैले श्रव्य, दृश्य समग्री, लेख, रचना, चित्र, आकार, कार्टुन, पोष्टर, पुस्तक वा साहित्यको प्रसारण, प्रकाशन वा प्रदर्शन गरेर वा अन्य कुनै गरिकाले कुनै जात, जाति वा उत्पत्तिका व्यक्तिको उचनीच दर्शाउने, जात, जातिका आधारमा हुने सामाजिक विभेदलाई न्यायोचित ठह¥याउने वा जातीय सर्वोच्चता वा घुणामा आधारित विचारको प्रचार प्रसार गर्ने, अपमानजनक शब्दको प्रयोग गर्ने वा आचरण, हाउभाउ वा व्यवहारबाट त्यस्तो संकेत गर्ने वा जातीय विभेदलाई कुनै पनि किसिमले अभिवृद्धि गर्ने किसिमबाट उक्साउन वा दुरुत्साहन गर्न वा गराउन हुँदैन” लेखिएको छ।

लेखिका तथा प्रकाशनको गल्ति देखिएको खण्डमा ऐन अनुसार एक महिनादेखि एकवर्षसम्म कैद वा पाँच सय रुपैयाँ देखि दश हजारसम्म जरिवाना वा दुवै हुने व्यवस्था रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ