गण्डक न्युज / पोखरा मुलुककै ठूलो पर्यटकीय शहर । लेखनाथ समेटेर महानगरपालिका बनेपछि भूगोलतः मुलुककै ठूलो क्षेत्रफल ओगटेको यो महानगरपालिका । यहीँ अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ । पोखराको आँगनमा तालैताल । सिरानमा हिमालै हिमाल । स्मार्ट सिटी बन्न सक्छ । बनाउछु भनेर अघि सरेका एमालेका नेता मानबहादुर जिसी यस महानगरपालिका प्रमुख बनेका छन् । उनको मात्र होईन, उनका पार्टी नेकपा एमालेको एजेण्डा नै पोखरा स्मार्ट सिटी बनाउने नै थियो । जिसी भन्छन् – ‘स्मार्ट सिटी बनाउने नै हो बन्छ तर सबैले आफ्नो दायित्व निर्वाह गर्नुपर्छ । अभियानमा सहयोग गर्नुपर्छ । जे सकिन्छ त्यही । ’
सडक फराकिलो पार्ने अभियानमा अवरोध आईरहेको छ । शालिक झिक्दा एकका समर्थन अर्कोको विरोध, फेरि राख्दा बेखुशी हुने खुशी, खुशी हुने बेखुशी । यसमा पनि सिधै उनकै प्रशंसा र आलोचना जोडिन्छ । पोखरामा छाडा गाई गोरु सडकमा हिँड्दा गाईगोरुमा पनि मेयर नै जोडिन्छन् । व्यवस्थापन गर्न सहकारीले लग्छ उता गाउँलेले लखेट्छ । काम प्रभावकारी हुँदैन गाउँलेकै असहयोगले, यसमा पनि उनी नै जोडिन्छन् । मेयर जिसी पोखरा बनाउने अभियानमा सबै लाग्नुपर्ने बताउँछन् । ‘असफल नबनाउनुस्, पोखरा बनाउने एक्लै होईन, सबैले हो‘ – मेयर जिसी भन्छन् ।
प्रायः कार्यक्रममा हतारिएर सिधा कुरा गर्ने अनि अन्य कार्यक्रम वा कार्यक्षेत्रमा खटिने सोझा स्वभावका जिसी आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा मनका तुष ओकले । फेवाताल संरक्षणदेखि फोहोरसम्म, फुटपाथदेखि पार्किङसम्म, सडकदेखि वातावरण संरक्षणसम्मका कुरा मात्र गरेनन्, काम गर्ने सिलसिलामा गलत अर्थ लगाएर आलोचना गर्नु, असहयोग गर्नु, बन्ने काम बिगार्नुलाई आफूविरुद्ध भएको हाक्काहाक्की सुनाए ।
नागरिक समाज पोखराको साक्षात्कारमा सहभागी जिसीले नियतवश नै मानिसहरुले सफा ठाउँमा पनि फोहोर थुपार्ने, भइसकेको कामपनि बिगार्ने लगायतका काम गर्ने गरेको र त्यो आफूलाई असफल पार्ने प्रयास स्वरुप भइरहेको बताए । मेयर जिसीले महानगरमा जनसंख्या बढ्दा फोहोरको मात्रा पनि बढेको र तर फोहोर उठाउने जनशक्ति र श्रोतसाधन उही हुँदा व्यवस्थापनमा समस्या हुने गरेको बताए ।
उनले भने, कसैका सामान ढुवानी गर्ने सवारी साधन पार्किङ गर्नका लागि बसपार्क र सडक बनाएको होइन र बनाइन्न पनि, त्यस्ता सवारीसाधनका धनीले आफ्नै घर र भवनमा पार्किङ स्थल बनाउनुपर्छ, राज्यले गर्दिने हैन ।’ महानगर प्रमुख जिसीले ढुवानीका सामान ओसारपसार गर्ने सवारी साधन पार्किङ गर्नका लागि बसपार्क र सडक नबनाउने बताए ।
जिसीले फेवाताल किनारमा निर्माण गरिएका फुट ट्रयाकमा गरिने बन्द व्यापार हटाउने उद्घोष गरेका छन् । उनले फेवातालको किनारमा ब्यापार गर्दा फेवाताल फोहोर भएकाले त्यहाँ शील नै गर्नुपर्ने धारणा राखे । प्रमुख जिसीले भने, ‘ताल किनारमा चटपट, पानीपुरी, बदाम बेच्नेको भीड हुने गरेको छ, त्यसले फेवाताललाई फोहोर बनाएको छ ।’ ब्यापारलाई शील गरेपनि फुट ट्रयाकमा मान्छे भने हिंड्न दिइने उनले प्रष्ट्याए ।
मेयर जिसीले केहि व्यक्ति र शक्तिहरुले आफूलाई असफल बनाउने प्रयास गरिरहेको गुनासो गरेका छन् । मेयर जिसीले फोहोरलाई मोहरमा बदल्न रिसाक्लिङ प्रविधि अपनाउनुपर्नेमा जोड दिए । उनले दीर्घकालिन समाधान, ब्यबस्थापन र अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताए ।
जिसीले महानगरमा भएका घट्नाको सबै जिम्मेवारी महानगरपालिका कार्यालयले लिन नसक्ने बताए । केहि दिनअघि लामाचौर भन्दा केहि तल सुन्दरफिडस्थित नालीमा ज्यान गएको कुरा स्मरण गर्दै भने – ‘५ मिटर रगडिदैँ नालीमा खसेको देखिन्छ, बाइक चलाउनेको आफ्नो बाइक पनि हैन, लाइसेन्स पनि छैन, महानगरमा भीर पनि पर्छ, भोलि भीरबाट झरेर कोहि मर्ला, ती सबैको जिम्मेवारी महानगरले लिन सक्दैन ।’
प्रमुख जिसीले हप्ता उठाउने टोले गुण्डाहरुलाई आफूले तह लगाउने बताए । उनले टोले गुण्डाहरुले हप्ता उठाउने गरेको गुनासो सुनेको भन्दै त्यस्तो भए किटानी जाहेरी दिन आग्रह गरे । जिसीले न्यूरोडलाई नमूना क्षेत्र घोषणा गरेर त्यहाँ हरियाली बनाउने योजना बनिरहेको जानकारी गराए ।
कम्तिमा ७–८ फुटको बिरुवा रोपेर त्यसको संरक्षण गर्ने योजना बनिरहेको उनको भनाई थियो । त्यसपछि अन्य क्षेत्रमा बिस्तार गरिने उनले बताए । कार्यक्रममा नागरिक समाज पोखराले पोखरामा बढ्दै गएको फोहोर र विकृति विसंगतिले पोखरा कुरुप बन्दै गएको भन्दै त्यसप्रति महानगरलाई जिम्मेवार बन्न आग्रह गरेको थियो । समाजका संयोजक रामबहादुर पौडेलले सरसफाई अभियान चलिरहे पनि महानगरबासीमा चेतनाको अभाव हुँदा पुनः जस्ताको तस्तै फोहोर बन्ने गरेको बताए ।
सम्बन्धित खबर
चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम