तनहुँको सुन्दर पर्यटकिय टुटेपानी गाउँ

तनहुँको सुन्दर पर्यटकिय टुटेपानी गाउँ

किरण श्रेष्ठ, तनहुँ । ननित गुरुङ, तनहुँको सुन्दर पर्यटकीय गाउँ टुटेपानीपानीका युवा । गाउँको सुन्दरताले मात्र जिवन सुन्दर बन्ने लागेन पहिले । भूकम्पपछि हान्निए कतार । यसबीचमा धेरै बुझे, भोगे अनि फर्किए । अब त मरिगए जान्न भन्छन् विदेश ।

टुटेपानीमा अब होमस्टे (घरबास) सुरु भएको छ । कतारमा दुई वर्ष पसिना चुहाएर साउनमा फर्केका उनलाई लागेको छ, त्यस्तो परिश्रम यहाँ नै गरे यतै राम्रो । ननित नरोकिई आफ्नो भोगाई सुनाउँछन् ः ‘अब विदेश गएर अरुको नोक्कर हुने होइन, आफ्नै गाउँठाउँमा जानेको काम गर्ने हो । पैसा कमाइन्छ भनेर विदेश गइयो, अब नेपालीहरु त्यही त हो नि विदेशमा पैसाको बोट छ जसरी जान्छन् तर गईसकेपछि कुकुर लाई जस्तो व्यवहार हुन्छ । विदेशमा सके काम गर नसके घर जा भन्दिन्छ, कुनै राम्रो कम्पनीले त हेरचाह गर्ने गर्छ तर म गएको कम्पनीमा त्यस्तो थिएन । बिरामी भएर सुत्यो भने पनि स्यालरी (तलब) काट्दिने, वार्निङ पेपर आउने, घर पठाइदिन्छु भन्ने, टाइममा स्यालरी नदिने ।’

यहि समस्याबाट आजित भएका थिए ननित कतारमा । यस्तै डर धम्कीले गर्दा नै ननित लाई विदेश देखी सार्है रिस उठेको छ । त्यसैले त ननित अब विदेश जान्न जे गर्छु आफ्नै गाउँमा गर्छु भनेर आफ्नै गाउँमा संचालित होमस्टेमा दिलोज्यानले लागिपरेका छन् ।

ननित आफुले विदेशमा भोगेको दुख यसरी सुनाउछ्न, “समयमा तलब हात नपरेपछि घरमा परिवारलाई पठाउन पैसा हुँदैनथ्यो अनि केही दिनपछि फेरि माग्दा ल ल अर्को तारिखमा भन्दै दुई तीन महिना भुलाइदिन्थ्यो । स्यालरी पनि तीन महिनामा १ महिनाको मात्रै पाइन्थ्यो । दुई महिनाको त बाँकी नै रहन्थ्यो, अनि काम छाड्न सकिन्नथ्यो । त्यही पैसा पाउने आशामा फेरि काममा जान बाध्य हुन्थे । फेरि स्यालरी पेण्डिङमै ।’

त्यही दुख दुई वर्ष सम्म झेलेर अहिले गाउँ आएका ननित अब गाउँकै ढिडो र गुन्द्रुक खान्छु तर विदेश चाहिँ जादै जान्न भन्छन् । होमस्टे लाई नै राम्रो बनाउन तिर लाग्ने उनको योजना छ । अब युवा साथीहरू पनि विदेश नजान अनुरोध गर्ने र आफ्नै गाउँमा उद्धम गर्ने लगाउने योजना रहेको ननित बताउँछन् । आफ्नै घरमा बसेर नै मासिक १० देखी १५ हजार सम्म आम्दानी भइरहेको ननितले खुशी हुँदै सुनाए । २०७२ सालमा तनहुँको भानु नगरपालिका वडा नम्बर १३ टुटेपानी सामुदायिक होमस्टे संचालन भएको हो ।

सरकारले आफ्नो गाउँ पुग्ने सडक पक्की बनाइदिए अझै आफ्ना विदेशमा रहेका साथि गाउँमै आएर काम गर्ने उनी बताउछ्न । होमस्टेलाई स्थानीय तथा प्रदेश सरकारले कुकिङ संगै व्यवस्थित होमस्टे संचालनको तालिम दिए अझै आफ्नो गाउँको होमस्टे राम्रो हुने ननित बताउँछन् । “जब आकाश कराउछ तब बत्ति जान्छ“, ननितले भने । इच्छाशक्ति र मन भए नेपालमै केहि गर्न सकिन्छ । “उब्जाउ हुने बारी बाझै छ । त्यसमा तरकारी, फलफूल खेती गर्न सकिन्छ ।

आफ्नै गाउँमा परिवार संगै बसेर पनि काम गर्न सकिन्छ । “जुनसुकै क्षेत्रमा लगेपनि आफु मेहनति हुनुपर्छ ।“ ननितले भने, मेहनत गरे सफलता अवश्य नै पाइन्छ ।“

टुटेपानीः एक परिचय

तनहुँ जिल्लाको सदरमुकाम दमौलीबाट उत्तर तर्फ साविक रिस्ती गाविस वडा नं ६ हाल भानु नगरपालिका वडा १३ मा टुटेपानी अवस्थित छ । विकासको दृष्टिले जिल्लाको उत्तरी भेग दक्षिण भन्दा सुगम मानिएता पनि टुटेपानीलाई उक्त मान्यताले छुन नसके पछि स्थानीय गाउँबासी ग्रामीण पर्यटन मार्फत आफ्नो गाउँको शान्ति, समृद्धि र सुसंस्कृतिको लागी अग्रसर भएका छ्न ।

प्रकृति र संस्कृतिले सुशोभित टुटेपानी गाउँ नजिकै रहेको ऐतिहासिक ठुलोढुङ्गा, मिर्लुङकोट, स्थानीय चराचुरुङ्गी र वन्यजन्तु अवलोकनका लागि उपयुुक्त वन, अन्नपूर्ण हिमश्रृङखला, सहिद पार्क (पुलिमराङ), नेपाल कै पुरानो मानिने समजुरको दर्गा जामे मस्जिद, मिर्लुङकोट भंगेरथान, स्थानीय लोक संस्कृती र अर्गा्निक खानाका परिकारमा रम्न आउने पाहुनाहरुका लागि व्यवस्थित सामुदायिक होमस्टेको विकास भएको छ । जिल्लाका तीन पदमार्ग बुद्ध शान्ति पदमार्ग, मिर्लुङकोट पदमार्ग र क्यासमिरी पदमार्गको मुख्यद्वारको रुपमा रहेको पुर्ण सरसफाई घोषित टुटेपानी गाउँ ।

टुटेपानी गाउँ

जम्मा घरधुरी संख्याः ३५
प्रमुख जातजातिः गुरुङ समुदाय
सदरमुकामबाट दुरि ः २१ कि.मि. (क्यामिन मार्ग हुँदै)
समुन्द्र सतहबाट उचाई ः १२७५ मिटर
सेवा तथा सुविधाहरु ः सडक, बत्ती, टेलीफोन, सामुदायिक भवन, तालिम हल, अरनिको मावि

कसरी पुग्ने ?

तनहुँको सदरमुकाम दमौली त्यस्तै डुम्रे बजारबाट गाउँसम्म दैनिक बस सेवा संचालनमा रहेको छ भने दमौलीबाट लमजुङको पुरानो सदरमुकाम कुन्छासम्म बसयात्रा र त्यसपछि दुई घण्टा रमणीय दृश्यावलोकन गर्दै पदयात्रा गरेर पनि टुटेपानी पुग्न सकिन्छ ।

कसलाइ सम्पर्क गर्ने ?

टुटेपानीमा जाने इच्छा भए टुटेपानी होमस्टे व्यवस्थापन समितिका अध्यक्ष क्या. होम बहादुर गुरुङ लाई सम्पर्क गर्न सकिन्छ । गुरुङलाई ९८०६७५९३६३ नम्बरमा सम्पर्क गर्न सकिन्छ । टुटेपानी १ रात २ दिने भ्रमण प्याकेज बनाएर जादा हुन्छ । आफ्नो व्यस्त जिवनको २ दिन सुन्दर सफा गाउँमा गएर प्रकृति संग रमाउन टुटेपानी उत्तम गन्तव्य हुन सक्छ ।

ग्रामीण पर्यटनको उत्कृष्ट गन्तव्य मध्ये तनहुँको भानु नगरपालिका पनि एक हो । २०७२ सालमा तत्कालिन जिल्ला विकास समिति र पर्यटन प्रवर्द्धन समिति तनहुँले ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रम मार्फत गाउँको विकासमा टेवा र्पुयाउने उद्देश्यले भानु नगरपालिकाको वडा नं. १३ टुटेपानीमा सञ्चालन गरिएको अभियानले अहिले र्सार्थकता पाउँदै गएको छ । समुन्द्री सतहबाट करिब १ हजार ६५४ मिटर उचाईमा फैलिएको जिल्लाको दोश्रो अग्लो पहाड मिर्लुङ्गकोट क्षेत्रका ऐतिहासिक, धार्मिक, साँस्कृति, प्राकृतिक, पर्यटकीय क्षेत्रहरुको उचित प्रवर्द्धन गरी स्थानीय बासिन्दाको आर्थिक, सामाजिक शक्तिकरणमा टेवा र्पुयाउने उद्दश्यले ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रम अन्तरगत होमस्टे (घरबास) कार्यक्रम सञ्चालन गरिएको हो ।

बसाइसराईका कारण उजाडिदै गएको टुटेपानी गाउँलाई होमस्टे कार्यक्रमले मानिसको चहल पहल बढाउँदै लगेको छ । गुरुङ समुदायको बाक्लो बस्ति रहेको टुटेपानी पछिल्लो समय शिक्षा, स्वास्थ्य, सुविधाको खोजीमा बर्साई सर्राई गर्ने क्रम बढेका कारण गाउँ सुनसान जस्तै अवस्थामा पुगेको थियो। ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रम मार्फ नमुना गाउँ बनाउने उद्देश्यका साथ जिल्ला विकास समिति तनहुँले होमस्टे व्यवस्थापन तालिम सञ्चालन पश्चात यहाँका बासिन्दाको जीवनस्तर र दैनिकीमा समेत परिवर्तन हुँदै आएको टुटेपानी सामुदायिक होमस्टेका अध्यक्ष क्या. होम बहादुर गुरुङ बताए ।

होमस्टे सञ्चालनको आधारभूत तालिम लिएसंगै गाउँका ३० घर मध्ये १६ वटा घरमा पाहुनाहरु राख्ने गरी होमस्टे सञ्चालन गर्दै आएका छन् । होमस्टेले अहिले यहाँका बासिन्दाको जीवनशैलीमै परिवर्तन गरेको छ अध्यक्ष गुरुङ बताउँछन् । गुरुङ भन्छन्, “बर्साई सर्राईका कारण उजाडिदै गएको गाउँमा होमस्टेका कारण चहलपहल बढ्नुका साथै स्थानीय स्तरमा उत्पादित कृषि उपजहरु बिक्री वितरण हुँदा हाम्रो आर्थिक हैसियत पनि बढेको र गरेदेखि गाउँमै राम्रो आम्दानी हुँदो रहेछ भन्ने पाठ सिकाएको छ ।“

यसरी हुन्छ टुटेपानीमा स्वागत

सुन्दर गाउँ टुटेपानीमा गाउँ प्रवेश गेटबाट गुरुङ संस्कृति अनुसार पाहुनालाई स्वागत तथा सत्कार गर्दै भवन घरमा लग्ने र गाउँमै उत्पादित खानाका परिकार खुवाउने गरिन्छ ।

गाउँका युवायुवती देखी आमासमुह र बाबुसमुहले संयुक्त रुपमा पाहुना लाई गाजाबाजा सहित स्वागत गर्ने कार्यक्रम हुन्छ सुरुमा । “भवन घरमा लगेर हामीले हाम्रो गाउँमा आउनुभएको पाहुनालाई स्याइ स्याइ गर्छौ“, सुनदेवी आमा समुहकि अध्यक्ष नन्दकुमारी गुरुङले बताइन । टाढादेखि आएको पाहुनालाई गाउँमा स्वागत देखि बिदाई नगरेसम्म केहि नहोस भनेर गुरुङ संस्कृति अनुसार भगवान संग अपिल गरिन्छ । त्यसपछि नरेपा (रक्सी) र गाउँकै मकै,भटमास र गुन्द्रुकको खाजाले पाहुना लाई स्वागत गरिन्छ ।

होमस्टेमा पुग्ने पाहुनालाई साँझको खाजा, खाना, रातीको बास तथा बिहानाको नास्ता, खानाका साथै साँस्कृतिक कार्यक्रम सहित प्याकेजमा एक जना व्यक्तिले १२ सय रुपैयाँसम्म तिर्नुपर्ने व्यवस्था गरिएको छ । उक्त होमस्टेमा आउने पाहुनाहरुको स्वागत सत्कारका साथै साँस्कृतिक कार्यक्रम प्रदर्शनमा स्थानीय शान्ति युवा क्लव, सुनदेवी आमा समुहले सहयोग गर्ने गरेको छ । त्यस्तै, होमस्टेलाई थप प्रवर्द्धन गर्ने उद्देश्यले पशु र्फम पोखराले स्थानीय लेयर्स जातका कुखुरा पालन कार्यक्रम समेत सञ्चालन गरिदिएको छ ।

उक्त कुखराबाट उत्पादित अण्डा तथा मासु पाहुनालाई खुवाउने गरिएको हुँदा मासु र अण्डामा गाउँ आत्मनिर्भर हुँदै गएको छ । यस्तै होमस्टेमा आउने पाहुनाले खसी बोकाको मासु खाना चाहेमा पनि गाउँमै बाख्रा पालन गरिएको हुँदा त्यसको पनि समस्या नभएको अध्यक्ष गुरुङ बताउँछन् । नमुना होमस्टे बनाउने उद्देश्यले तत्कालिन जिविसले आधारभूत कार्यक्रमहरु सञ्चालन गरेपनि मुलुक संघीयतामा गएसंगै बनेका स्थानीय तहले भने ग्रामीण पर्यटन प्रवर्द्धनका कार्यक्रम मार्फत खासै साथ र सहयोग नपाएको होमस्टे सञ्चालकहरुको गुनासो छ ।

नगरपालिकाले होमस्टेमा आवश्यक पर्ने पूर्वाधारका साथै प्रविधिको पहुँच विस्तार तर्फध्यान दिएमा जिल्लाकै नमुना होमस्टे बनाउने हाम्रो सोच रहेको अध्यक्ष गुरुङ बताउँछन्।

बुद्ध शान्ति पदमार्ग, मिर्लुङ्गकोट पदमार्ग र क्यासमिरी साँस्कृतिक पदमार्गसंगै जोडिएको टुटेपानी होमस्टे र यस क्षेत्रका गाउँहरुमा ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रमले सकरात्मक प्रभाव पार्ने मध्ये नेपाल पर्यटन विकास समितिका अध्यक्ष हरिसिं गुरुङ्ग बताउँछन् ।

मिर्लुङकोट

भानुको मिर्लुङ ऐतिहासिक धार्मिक, पर्यटकीय रुपमा यसको बेग्लै धार्मिक महत्व छ । दमौलीबाट छापथोक भएर मिलुङकोट एक हजार ६ सय ५४ मिटरको उचाई दोस्रो अग्लो चुचुरोमा पर्दछ । कोटबाट लमुजुङ, तनहुँ र कास्कीको सिमानाको दृश्यावलोकनबाट छुट्टै आनन्द आउने घुमेकाहरुको अनुभव छ । आँखै अघिल्तिरबाट सहिद गाउँ, क्यामिन कालिका, राजापानी महादेव, ठुलोढुङ्गा, मिर्लुङ भँगेरथान आदिको दृश्य देख्न सकिन्छ ।

ठुलोढुङ्गा

टुटेपानी होमस्टेको नजिक रहेको ठुलोढुङ्गा प्रसिद्ध रुपमा गुफामा नाम चिन्न सकिन्छ । वर र पिपलको जरा मुनि रहेको ठुलो ढुङ्गालाई शिवजीको नाम पूजा गर्ने गरिन्छ । स्थानीय बासिन्दाहरुले ठाउँमा राखिएका पाँचवटा शिवजीका शिव लिङगमा शिवरात्रीको दिनमा पूजा गर्ने गर्छन् । पहिला मेला लाग्ने ठाउँ प्रचार प्रचारको कमीको कारणले लोप हुने अवस्थामा पुगेको छ ।

सहिदको गाउँ पुलिमराङ

भानु १३ सँगै जोडिएको व्यास ८ को पुलिमराङ गाउँलाई शहिदको गाउँ भनेर चिनिने गरेको छ । प्रजातन्त्रका लागि वि.सं २००७ सालमा धर्मध्वज गुरुङले, २०१८ सालमा समशेर गुरुङले चितवनको भरतपुरमा, भरत गुरुङ पुलिमराङस्थित आफ्नै गाउँमा सहादत पाएका थिए । लालध्वज गुरुङ, हस्तवीर गुरुङ र सर्व्सिं गुरुङले कोत्रेमा सहादत प्राप्त गरेका थिए । उनीहरुको सम्झनामा बनेको शालिक छोपिएको अवस्थामै भए पनि पुलिमराङमा देख्न सकिन्छ । पुलिमराङबाट हिमश्रृंखलासँगै पहाड मुनि हरियो जंगलमा राता लालिगुराँस देख्न सकिन्छ ।

क्यासमिरी पदमार्ग

क्यासमिरी तनहुँ जिल्लाको उत्कृष्ट पाँच पदमार्ग मध्ये एक हो । जिल्लाको साविक क्यामिन, सतिस्वाराँ, मिर्लुङ र रिस्ती गाविसको पहिलो अक्षर मिलाएर क्यासमिरी नामकरण गरिएको हो । हाल क्यासमिरीका अधिकांश क्षेत्र व्यास नगरपालिकाभित्र पर्दछ ।

समुन्द्र सतहदेखि करिब ४ सय मिटर उचाइमा रहेको कलेस्ती उपत्यकादेखि तनहुँको दोस्रो अग्लो चुचुरो मिर्लुङकोट १ हजार ६५४ मिटरसम्म फैलिएको छ ।

ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक दृष्टिले महत्वपूर्ण यस क्षेत्रअन्तर्गत उत्कृष्ट दृश्यावलोकनका लागि मिर्लुङकोट, सहिद गाउँले परिचित पुलिमराङ, प्रसिद्ध धार्मिक स्थलहरू क्यामिन कालिका, राजापानी महादेव, बसाहास्थान, दर्गा जामे मस्जिद, ठूलोढुंगा, मिर्लुङ भंगेरथान आदि पर्दछन् । क्यासमिरी क्षेत्रमा मुख्यगरी होमस्टे, धार्मिक स्थल, प्राकृतिक गुफा, प्याराग्लाइडिङ, ट्रेकिङरहाइकिङ पर्यटकीय आकर्षण छ ।

क्यासमिरी अन्तर्गत पर्ने मिर्लुङकोट ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाले भरिपूर्ण छ । यहाँ धर्मांगत सेन राजाको दरबारको भग्नावशेष, दरबारनजिकै कैलाशपति महादेवको मन्दिर, पश्चिमपट्टि शक्तिदेवको रूपमा पुजिने भयँरथान, सहिद गाउँ पुलिमरांग पर्छ ।

कच्चि सडक हुँदा वर्षायाम सुरुसंगै सहज रुपमा यातायातका साधान सञ्चालन हुन सक्दैनन् । त्यस्तै आकास्मिक स्वास्थ्य सुविधाको अभाव रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds