बसन्त थापाले छाडे लोक दोहोरी प्रतिष्ठान, रवि ओडले भावुक स्टाटस लेख्दै मागे माफी

बसन्त थापाले छाडे लोक दोहोरी प्रतिष्ठान, रवि ओडले भावुक स्टाटस लेख्दै मागे माफी

Basanta Ravi

काठमाडौँ । पछिल्लो समय नयाँ रेकर्ड बनाउन सफल लोक दोहोरी गीत ‘सालको पात टपरी हुनी’ का संगीतकार बसन्त थापाले आफूमाथि प्रहार हुँदा पनि लोकदोहोरी प्रतिष्ठान मौन रहेको भन्दै चर्को असन्तुष्टि पोखेका छन् ।

उनले प्रतिष्ठान आफू मर्दा मलामी जानेमा समेत शंका व्यक्त गर्दै फेसबुकमार्फत प्रतिष्ठानमै नरहेको घोषणा समेत गरे । नेपाल आइडल रवि ओडले आफ्नो गीत खराब तरिकाले गाएको विषयमा मौन बसेकोमा असन्तुष्टि जनाउँदै संगीतकार थापाले प्रतिष्ठानबाटै अलग भएको घोषणा गरेका हुन् ।

उनले सोमबार राति फेसबुकमा लेखेका छन्,

‘लोक गित को सर्जकलाई पल पल आक्रमण भईरहदाँ मौलिकतामाथि प्रहार भैरहँदा प्रतिष्ठामाथि गालि बर्षिदा पनि टुलुटुलु हेरिरहने हरू म मर्दा मलामी जान्छन् भन्ने कुरामा विश्वास गर्न सकिनँ त्यसैले आजैको मितिले राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठानमा आफू नरहेको जानकारी गराउन चाहन्छु । यस्तो सृजना गर्न मन छ जसमा आवाज रवि ओडको होस् र माया करोडको होस् गाली गर्ने हरू लाई बारबार पश्चताप होस् ।’

उनले लेखेका छन्,

म पनि पहिले यस्तै खाले तनावमा फसेको थिएँ । मेरो एउटा लोकदोहोरीले दलितहरुको अपमान गरेको भनेर विवाद उब्जिएको थियो । त्यसमा मलाई पनि धेरै गालीगलौज आए । धम्की आए । त्यतिबेला मेरो मनमा पनि नकारात्मक भावहरु नआएका होइनन् । यस्तो अवस्थामा आफूलाई झन बलियो बनाउनुपर्ने रहेछ । मैले आफूलाई बलियो बनाएँ । त्यतिबेला म लोकदोहोरी प्रतिष्ठानको सचिव थिएँ । प्रतिष्ठानले त्यो मुद्धामा केही बोलेन र मैले बोल्नुपर्छ भन्ने माग पनि गरिनँ । बरु आफैले व्यक्तिगत रुपमा एउटा प्रेस विज्ञप्ति जारी गरेँ ।

यही विषयमा प्रतिष्ठानका तर्फबाट पशुपति शर्माले पनि फेसबुकमा स्टाटस लेख्दै आफ्नो विचार यसरी राखेका छन् :

अहिले बसन्त भाइको विवादलाई पनि नजिकबाट नियालिरहेको छुँ । उनले उठाएको कुरा गलत होइन । हरेक सर्जकलाई आफ्नो सिर्जनाको माया हुन्छ । आफ्नो गीतलाई स्टेजमा कसैले तोडमोड गरेर गाउँदा चित्त दुख्नु स्वभाविकै हो । त्यसमाथि अरुको गीत गाउँदा सम्वन्धित स्रष्टासँग अनुमति पनि लिनुपर्ने हुन्छ । गाउनु अगाडि उनीहरुको नाम लिनुपर्छ, त्यो गरेको देखिएन ।
यो विवादमा लोकदोहोरी प्रतिष्ठानको धारणा म अहिले बताउन सक्दिनँ । किनकी प्रतिष्ठानको बैठक बसेर छलफल गर्नुपर्ने हुन्छ । बसन्त भाइले प्रतिष्ठानबाट अलग हुने कुरा गर्नुभएको छ । उहाँले यस विषयमा कुनै लिखित वा मौखिक ढंगले प्रतिष्ठानमा कुरा राख्नु भएको थियो कि थिएन थाहा भएन । उहाँले संस्थागत ढंगले जानुपर्छ । अर्को कुरा नकारात्मक कमेन्टहरु आए भनेर विचलित नहुन उहाँलाई सुझाव दिन्छु । बरु कमेन्टहरु पढ्दै नपढे हुन्छ । सामाजिक सञ्जाल भनेको त्यस्तै रहेछ । म आफू विवादमा परेदेखि सामाजिक सञ्जालमा सक्रिय हुनै छोडिदिएँ । यसो गीतहरु सेयर गर्छु अरु केही लेख्दिनँ ।
प्रतिष्ठानको फागुन १ गते बैठक बस्दैछ । सम्भवत त्यस बैठकमा यो विवादबारे छलफल भएर कुनै निष्कर्षमा पुग्न सकिन्छ । तर, मूलभूत कुरा भनेको स्रष्टाको सिर्जना संरक्षण कसरी गर्ने भन्ने नै हो । किनकी स्टेजमा अरुका गीत गाइदिन सजिलो हुन्छ । तर ती गीत सिर्जनामा कति मेहनत र दुख परेको हुन्छ त्यो स्रष्टालाई मात्र थाहा हुन्छ ।’

यता नेपाल आइडलका विजेता रवि ओडले पनि आफ्नो सामाजिक सन्जालमा लामो स्टाटस लेख्दै आफ्नो गल्ती स्वीकार गरेका छन् । दर्शकहरुले त्यो गीत गाउनाका निम्ति धेरै अनुरोध गरेका कारण अनुरोधलाई नकार्न नसकेपछि बाध्य भएर त्यो गीत गाएको र गाउँदा गीतलाई राम्रोसँग न्याय गर्न नसकेको बताएका छन् ।

हेर्नुहोस रवि ओडले लेखेको स्टाटस उनकै शब्दमाः

नमस्ते सबै महानुभावहरुमा, म सधैं भन्ने गर्छु, म सिकारु हूँ, सिक्ने क्रममा छु, म भूइँबाट नै पलाएको हूँ, मेरो धरातल र पृष्टभूमि कहिल्यै भुल्दिन र भुल्ने छैन । नेपाली सांगीतिक आकाशमा, आदरणीय सर्जक र अग्रजहरुको त्याग तपस्या र समर्पणले गर्दा नै आज नेपाली संगीतले यतिको उंचाइ लिएको छ, जहाँ हामी रम्न सिक्न पाएका छौँ । संगीतलाई निरन्तरता दिन पाएका छौँ, यस्ता अग्रज श्रष्टाहरुको अपमान त के, म त्यसको कल्पनासम्म पनि गर्न सक्दिनँ ।
दर्शक, श्रोता र शुभचिन्तकहरुको अपार माया हौसला र साथले मैले नेपाल आइडल जितेको हूँ, त्यसको अर्थ मैले आकाशमा उडेर आफ्नो पृष्ठभूमि नै भुलेको भने होइन । मलाई नेपाल आइडलमा जिताउने तिनै आदरणीय दर्शक, श्रोता र शुभचिन्तकको माया हौसला र खुशियाली बाँड्न अहिले म उहाँहरुको साथमा रम्ने यात्रामा छु ।
आफू कुनै स्थापित कलाकार भै नसकेको र आफ्नै गीत नगन्य भएकोले मैले र हामीले गाउने रम्ने भनेको आदरणीय सर्जकहरुकै गीत संगीत हो । दर्शक श्रोताहरुमाझ प्रस्तुती गरिरहँदा कुनैबेला यस्तो परिस्थिति आउँदो रहेछ जहाँ आफूले तयारी नगरेको वा पूरा नआउने गीतलाई गुनगुनाइदिनुपर्ने अनुरोध आउँछ ।
‘सालको पातको टपरी’ मा पनि मलाई यस्तै बाध्यता आइलागेको हो । अहिले सबैको मुखमा झुण्डिएको यो गीतको आग्रह दर्शकमाझबाट आयो, मैले यो गीत राम्ररी आउँदैन भन्दा पनि दर्शकहरुको अपार मागको अघि मैले जे जति आउँछ गाउँनै पर्ने बाध्यता आइलाग्यो । गल्ती भएमा क्षमाप्रार्थी हुनेछु भनेर गीत गाउनुभन्दा अगाडि मैले भनेको पनि थिएँ ।
अहिलेको सर्वाधिक रुचाइएको लोकप्रिय गीत ‘सालको पातको टपरी’ लाई बंग्याउने होच्याउने वा अपमान गर्ने मेरो कुनै ध्येय होइन । सबैको मुखमा झुन्डिएको गीतलाई अचानक श्रोता दर्शकबाट गाउनुपर्ने माग आउँदा श्रद्धापूर्वक गाउने प्रयास मात्र गरेको हूँ । त्यसैले यस सिर्जनासँग सम्बन्धित सबैलाई मेरो हार्दिक सम्मान रहेको जानकारी गराउँदछु । अनि आदरणीय सर्जकज्यूहरुबाट सँधै माया हौसला प्रदान गर्ने र बाटो देखाउने कार्य भैरहनेछ र हामी जस्ता संगीतका विद्यार्थीहरुले सिक्ने र अघि बढ्ने अवसर प्राप्त हुनेमा आशावादी छु ।
अन्तमा मेरा तमाम आदरणीय दर्शक श्रोता शुभचिन्तकहरुलाई यहाँहरुको माया साथ सद्भाव र हौसलाको लागि अन्तर हृदयदेखि सम्मान गर्दै धन्यवाद ज्ञापन गर्न चाहन्छुँ । केही उठेका विषयमा सम्मानपूर्वक आफ्नो भावना राख्न पाइन्छ, गालिगलौच र अपशब्दहरुले कतै स्थान नपाओस, धैर्यधारण र संयमताको लागि अनुरोध गर्दै, यहाँहरुको माया हौसला साथ सहयोगको सधैँ अनुरागी रहनेछु, धन्यवाद – रवि ओड ।।‘‘

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ