पोखरा, ७ माघ । कहिले डिनदेखि प्राध्यापकसम्म अनियमिताको विवादमा आउँछन् त कहिले कम्युटर हृयाक गरेर डाटा लिक गरेको घटना सार्वजनिक हुन्छ । कहिले प्राध्यापक, विद्यार्थी र कर्मचारीको आन्दोलन उग्र बनेर तोडफोड, आगजनी हुनु पोखरा विश्वविद्यालयको बिषेशता भनेजस्तो भइसक्यो ।
अहिले पनि विश्वविद्यालय केन्द्रका सबै कार्यालयमा तालाबन्दी छ । परीक्षा नियन्त्रण कार्यालयले काम गर्न पाएको छैन । विद्यार्थी र पदाधिकारी बोक्ने गाडी चल्न पाएका छैनन् । पढाइ ठप्प छ । अनलाइनखबरका लागि पोखराबाट पत्रकार अमृत सुवेदीले लेखेका छन् ।
यसपटक स्वतन्त्र विद्यार्थी युनियनको कार्यकालको विबाद बढेर २३ पुसमा पोखरा विश्वविद्यालयमा ताला लाग्यो । विद्यार्थी संगठनहरुको निरन्तरको माग र दबाबपछि स्ववियुको चुनाव भएकोमा अहिले तिनै पदाधिकारीको कार्यकाल विवादले अस्तव्यस्त बनेको छ ।
चुनावअघि विद्यार्थी संगठनहरुको सहमतिमा स्ववियु तथा विद्यार्थी आचारसंहिता सम्बन्धी नियमावली २०६५ संशोधन गरिएको थियो । त्यही आचारसंहिताका कारण उब्जिएको विवादले अहिले उग्र रुप लियो ।
कार्यसमितिका पदाधिकारी र सदस्यहरु जुन तह र विषयको नियमित विद्यार्थीको हैसियतमा निर्वाचित भए, सोही तहको अन्तिम वर्ष वा सेमेस्टर वा ट्राइमेस्टरको सैद्धान्तिक परीक्षा दिइसकेपछि पद स्वतः सकिएको मानिने नियमावलीमा उल्लेख छ ।
पदावधि २ वर्ष भएपनि विश्वविद्यालयको सैद्धान्तिक परीक्षा भदौमा सकिएकाले स्ववियु सचिव सुरज परियारको पदावदी त्यही बेला सकियो भने उपाध्यक्ष प्रतीक्षा गैरेको असोजमा । अध्यक्ष सुनील तिमिल्सिनाको पदावदी फागुन अन्तिममा सकिँदैछ ।
आफैंले संशोधन गरेको नियमावलीअनुसार नै उनीहरुको पदावधि समाप्त भइरहेको छ । तर, स्ववियु अध्यक्ष तिमिल्सिनाको समूह यो नियम मान्नेवाला छैनन् । उनीहरुको भनाइ छ, ‘यो अव्यवहारिक नियम परिवर्तन गरेर पदावधि २ वर्ष कायम हुनुपर्छ ।’
उनीहरुले नियमावली सच्याउने कसरत पनि थालि हाले, जुन नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)लाई मान्य भएन र उपकुलपति, रजिस्टार, परीक्षा नियन्त्रण र ४ वटै डीनको कार्यालयमा ताला ठोकिदिए ।
पदाधिकारी विवाद अदालतमा
विश्वविद्यालयको वार्षिक बजेट र नीति-नियम बनाउन गत साउन ३ गते बसेको विश्वविद्यालय सभामा स्ववियु पदाधिकारीको म्याद थपका लागि कुलपति र प्रधानमन्त्रीलाई प्रस्ताव गर्ने माइन्युट भएपछि विवाद सुरु भएको थियो ।
विबाद चर्कदै गएपछि स्ववियुको समस्या अध्ययन गरी सुझाव पेस गर्न २३ मंसिरमा व्यवस्थापन संकायका डीन प्राध्यापक हरिबहादुर खड्काको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरियो । समितिले पुस १० मा सुझावसहितको प्रतिवेदन पनि बुझायो ।
तर, विश्वविद्यालयको स्ववियु तथा विद्यार्थी आचारसंहिता सम्बन्धी नियमावलीमा उल्लेखित नियम आफैमा बाझिएको भन्दै स्ववियु पदाधिकारीहरु अदालत पुगे । उच्च अदालत, पोखराले शुक्रबार जारी गरेको अन्तरिम आदेशमा ‘निवेदक पदाधिकारीहरुको स्वतन्त्र विद्यार्थी युनियनका तर्फबाट गरी आएको काम कारबाही गर्नमा कुनै प्रकारको अवरोध नगर्नू, नगराउनू’ भनेको छ ।
साथै, विपक्षी बनाइएको विश्वविद्यालयलाई बाटोको म्यादवाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि आदेश दिएको छ । अदालतले दुवै पक्षलाई छलफलका लागि माघ १६ गते बोलाएको छ ।
अनेरास्ववियु जसरी पनि नियम संशोधन गर्नेमा छ भने नेबिसंघ कुनै हालतमा संशोधन हुन नदिनेमा छ । नेविसंघका फिरोज सुवेदी निर्वाचनअघि आफैंले हस्ताक्षर गरेको विधान पदावधि बढाउनकै लागि संशोधन गर्नु जायज नहुने बताउँछन् ।
दीक्षान्त समारोह रोकिने चिन्ता
विश्वविद्यालयको क्यालेन्डरअनुसार फागुन ८ गते दीक्षान्त समारोह गर्नुपर्नेछ । तर, विश्वविद्यालय केन्द्रका सबै कार्यालयमा लागेका ताला कहिले खुल्ने हो टुंगो छैन ।
विश्वविद्यालय बारम्बार बेतुकको विद्यार्थी आन्दोलनको चपेटामा पर्ने गरेको रजिस्ट्रार गोविन्द शर्मा बताउँछन् । विद्यार्थीका लागि तयार पारिएको शैक्षिक क्यालेन्डर विद्यार्थीकै कारण तोडिने गरेको उनले बताए ।
‘एउटा नियम संशोधन गर्नै हुँदैन भन्छ, अर्कोले पदावदी सकिए पनि मै बस्नुपर्छ भन्छ । हामी भन्छौं- नियमअनुसार हुन्छ’, रजिस्ट्रार शर्मा भन्छन्, ‘तर, उनीहरुको राजनीतिक टकारावले सबैलाई मिचेको छ । स्ववियु निर्वाचनपछि संस्कार फेरिएला भन्ने लागे पनि त्यस्तो भएन ।’
८ फागुनमा गर्ने भनिएको दीक्षान्त समारोह विद्यार्थीकै कारण प्रभावित हुन लागेकोमा शर्माले चिन्ता व्यक्त गरे ।
सम्बन्धित खबर
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम