तीन तलाको अनुमति लिएर १० तलाको भवन: उपराष्ट्रपतिद्वारा उद्घाटन, पोखरा महानगरपालिकाद्वारा बहिष्कार

तीन तलाको अनुमति लिएर १० तलाको भवन: उपराष्ट्रपतिद्वारा उद्घाटन, पोखरा महानगरपालिकाद्वारा बहिष्कार

task

मापदण्डविपरीत पोखरामा बनेको भवनमा सुरु भएको होटेलको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् । महानगरपालिकाको मापदण्डविपरीत पोखरा–१० बुद्धचोकमा बनेको सो भवनमा सञ्चालित होटेल टास्क इन्टरनेसनलको उपराष्ट्रपतिले बुधबार उद्घाटन गरेका हुन् । साढे तीनतले भवन निर्माणका लागि पोखरा महानगरपालिकाबाट अनुमति लिए पनि धरधनी मीन गुरुङले १० तलाको बनाएका छन् । नयाँ पत्रिकाका लागि पोखराबाट रोहितराज पराजुलीले न्यूज लेखेका छन् ।

सो अवसरमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ पनि सहभागी थिए । भवन उद्घाटनमा सहभागी हुन मेयर मानबहादुर जिसीसहित पदाधिकारीलाई निमन्त्रणा गरिए पनि मापदण्डविपरीत बनेको संरचनामा सञ्चालित होटेल भन्दै महानगरको तर्फबाट कोही पनि उपस्थित भएनन् । घरधनी एवं होटेल सञ्चालक मीन गुरुङका अनुसार भूकम्प गएको दिन १२ वैशाख ०७२ मा घर निर्माणको जग हालिएको हो ।

महानगरले साढे तीन तलाको नक्सा पास गरेको र सोहीअनुसार निर्माण सम्पन्न प्रमाणपत्र लिएको उनले जानकारी दिए । साढे तीन तलाको सम्पन्न प्रमाणपत्र लिएपछि अरू तला थप्दै रुफटपसहित १० तलाको भवन बनाएको उनले बताए । ‘मेरो मात्र होइन, पोखराको लेकसाइडमा यसरी धेरै घर बनेका छन्,’ उनले भने । होटेल सञ्चालक गुरुङका अनुसार १८ करोडमा निर्माण गरिएको १० तले सुविधासम्पन्न होटेलमा ३२ कोठा, एक अपार्टमेन्ट र तीन सेमिनार हल छन् ।

उपराष्ट्रपतिको कदमले नियम मिच्नेलाई सहयोग : महानगर
धनबहादुर नेपाली
प्रवक्ता

पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले राष्ट्रका विशिष्ट व्यक्तिको यस्ता कदमले नीति–नियम मिच्चेलाई सहयोग पुग्ने बताए । राज्यबाट स्वीकृति नलिई बनेका अवैध संरचना उद्घाटन गर्न देशका विशिष्ट व्यक्ति सहभागी हुनु राम्रो नभएको उनको भनाइ छ । नियम मिच्नेलाई सहयोग एवं प्रश्रय दिएजस्तो भएको उनले बताए । यस्ता कार्यक्रममा सहभागी हुनुअघि भिआइपीले आफू सहभागी हुने कार्यक्रमबारे ख्याल गर्नुपर्ने उनको सुझाब थियो । महानगरले हाल बढीमा साढे तीन तला भवन निर्माणको मात्र नक्सा पास गर्ने गरेको उनले बताए ।

बचेको समयमा उद्घाटन : उपराष्ट्रपतिका प्रेस संयोजक

मापदण्डविपरीत बनेको होटेल टास्क इन्टरनेसनल उद्घाटन गरेको विषयमा उपराष्ट्रपति नन्दबहादुर पुनका प्रेस संयोजक मनोज घर्तीमगरले भने, ‘उपराष्ट्रपति होटेल उद्घाटन गर्न पोखरा जानुभएको होइन, बाग्लुङको कार्यक्रमबाट फर्कंदा पोखराबाट २ बजे काठमाडौंका लागि उडान थियो, वेलैमा पोखरा आएकाले समय बच्यो, त्यसैले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्छ भन्ने सोचले उहाँ उद्घाटनमा सहभागी हुनुभएको हो, तर भवनको वैधानिकताबारे हामीलाई जानकारी भएन ।’ देशको उपराष्ट्रपतिजस्तो गरिमामय पदमा बसेका पदाधिकारीले बचेको समयमा निजी होटेल उद्घाटन गर्दै हिँड्ने प्रवृत्ति आफैँमा अनौठो छ ।

टुलुटुलु हेर्न बाध्य छौँ : वडाध्यक्ष
‘दुई–तीन तलाको नक्सा पास गराएर १०–११ तला घर’

पोखरा महानगरपालिका–१० का अध्यक्ष राजकुमार गुरुङले नगर क्षेत्रमा मापदण्डविपरीत संरचना बने पनि टुलुटुलु हेरेर बस्न बाध्य भएको बताए । महानगरबाट दुई–तीन तला घरको नक्सा पास गर्ने र त्यसको सम्पन्न प्रमाणपत्र लिएपछि १०–११ तलासम्मको बनाउने क्रम बढेको उनको भनाइ छ ।

यसरी निर्माण भइरहेका घर महानगरको कार्यपालिका बैठकले निर्णय गरी रोक्ने र बनाउनेलाई कारबाही गर्ने निर्णय गर्नुपर्ने उनको भनाइ छ । ‘स्वीकृतिविना भवन बने पनि महानगरले केही कारबाही गर्दैन, सयौँ घर यसरी बनिरहेका छन् । रोकिसाध्यै नहुने भएकाले हामी टुलुटुलु हेरेर बस्न बाध्य छौँ,’उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds