गण्डकी प्रदेश सांसद घर्तीको निधन

गण्डकी प्रदेश सांसद घर्तीको निधन

tek-bhadur-gharti

गण्डकी प्रदेशसभामा बागलुङ–२ (ख) बाट निर्वाचित सांसद टेकबहादुर घर्तीको उपचारका क्रममा भारतको नयाँ दिल्लीमा बिहीबार निधन भएको छ ।

जन्डिसबाट पीडित ४६ वर्षीय घर्तीलाई उपचारका लागि मङ्गलवार एअरएम्बुलेन्सबाट नयाँ दिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो । लामो समयदेखि बिरामी परेका घर्ती मङ्सिर पहिलो साता गम्भीर भएपछि पोखराको फेवा सिटी अस्पतालमा चार दिनसम्म उपचार गरिएको थियो । तर सुधार नभएपछि मङ्सिर ८ मा काठमाडौँको ग्रान्डी अस्पताल लगिएको र त्यहाँ पनि उपचार हुन नसकेपछि भारत पुर्‍याइएको थियो । उनको कलेजो प्रत्यारोपणको तयारी हुँदै थियो ।

घर्तीको शव गृह जिल्लामा ल्याइँदै गरेको प्रदेशसभामा राष्ट्रिय जनमोर्चाको संसदीय दलको नेता कृष्ण थापाले बताए । ‘बिहीबार दिउँसो १ बजेतिर उहाँको निधन भयो’, थापाले भने, ‘शव ल्याउने काम भइरहेको छ । यहाँको अन्तिम संस्कार गर्ने बारे छलफलमा छौँ ।’ घर्ती राष्ट्रिय जनमोर्चाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । एमाले माओवादीसँगको तालमेलमा उनले जित हात पारेका थिए ।

ढोरपाटन नगरपालिकाको अधिकारीचौर घर भएका घर्तीका श्रीमती, चार छोरी र दुई छोरा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ