नक्कली लाइसेन्स बनाएर ठगी गर्ने पर्वतका सरोज पोखराबाट पक्राउ, यसरी गर्थे ठगी (घटना विवरण)

नक्कली लाइसेन्स बनाएर ठगी गर्ने पर्वतका सरोज पोखराबाट पक्राउ, यसरी गर्थे ठगी (घटना विवरण)

Nakkali License

पोखरा । नक्कली लाइसेन्स बनाउँदै ठगी गरेको आरोपमा एक जना पोखराबाट पक्राउ परेका छन् । लाइसेन्स बनाइदिने भन्दै नक्कली लाइसेन्सको कागज दिँदै ठगी गरेको आरोपमा पर्वतका सरोज चपाईं क्षेत्री सोमबार पोखराबाट पक्राउ परेका हुन् । पोखराका पत्रकार अमृत सुवेदीले लेखेका छन् । 

चपाईंले लाइसेन्स बनाइदिने प्रलोभन देखाउँदै विभिन्न व्यक्तिबाट ३५ देखि ४५ हजार रुपैयाँसम्म ठगी गरेको उजुरी जिल्ला प्रहरी कार्यालय कास्कीमा परेको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले चपाईंलाई लेकसाइड क्षेत्रबाट पक्राउ गरेको हो ।

चपाईंले नक्कली फेसबुकमार्फत कुराकानी गरेर विभिन्न व्यक्तिबाट रकम असुली गरेको प्रमाणसहित पीडितले प्रहरीमा जाहेरी दिएका थिए । चपाईंले लाइसेन्स भन्दै नक्कली लाइसेन्सको कागज व्यक्तिमार्फत र ट्याक्सीबाटसमेत पठाउने र आइएमईमार्फत पैसा मगाउने गरेको पीडितको गुनासो थियो ।

चपाईंले म्याग्दीका म्याग्दीका सुरेश खत्री, डेकप्रसाद श्रेष्ठ, मदन श्रेष्ठ, टंकलाल श्रेष्ठ लगायतबाट लाइसेन्स बनाइदिने भन्द्र नक्कली लाइसेन्स बनाएर ठगी गरेको आरोप छ । चपाईंको कोठाबाट अन्य २ जनाकोसमेत नक्कली लाइसेन्स फेला परेको थियो ।

अहिले सरकारले लाइसेन्स दिन सकेको छैन । लिखित र ट्रायल पास भइसकेपछि बुझाएको राजस्वको रसिद नै अस्थायी लाइसेन्स भइरहेको छ । त्यस्तै प्रकारको कागज उपलब्ध गराउँदै चपाईंले ठगी गरेको आरोप छ ।

चपाईंमाथि आज मुद्दा चलाएर अनुसन्धान अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ । चपाईंले गण्डकी यातायात कार्यालय पोखरा लाइसेन्स लेखिएको फेसबुक ग्रुप तथा पेजबाट जोडिएर लाइसेन्स बनाइदिने प्रलोभनमा ठगी गरेको आरोप छ । चपाईंलाई पक्राउ गरेसँगै थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुक ग्रुप बनाएर नक्कली लाइसेन्स !

सजिलै लाइसेन्स बनाउने लोभमा म्याग्दीका सुरेश खत्री ठगिए । पर्वत पातीचौरका सरोज चपाईं क्षेत्रीले सेटिङ मिलाएर लाइसेन्स निकालिदिने भन्दै सुरेशलाई ठगे ।

फेसबुकमार्फत जोडिएका सरोजबाट सुरेशसँगै ठगिनेमा डेकप्रसाद श्रेष्ठ लगायत अन्य ५ जना पनि छन् । लाइसेन्ससम्बन्धी जानकारी लिन जोडिएको फेसबुक ग्रुपमार्फत भेटिएका सरोजले प्रलोभनमा पारेर ठगी गरेको पीडितले बताएका छन् ।

यातायात व्यवस्था कार्यालयको फेसबुक पेज तथा ग्रुप भनेर जोडिँदा सुरेशलगायत ठगको पञ्जामा परे । लाइसेन्सको फारम भर्न र त्यसको प्रक्रिया बुझ्न सुरेश गण्डकी यातायात कार्यालय लाइसेन्स पोखरा नाम गरेको फेसबुक ग्रुपमा जोडिएका थिए । यो ग्रुपमा लाइसेन्ससम्बन्धी जानकारी पोस्ट भइरहन्थ्यो ।

बेनी–जोमसोम रुटमा जीप चलाउँदै आएका सुरेश हेभी गाडीको लाइसेन्स लिन चाहन्थे । एक दिन त्यही फेसबुकमार्फत सरोज नाम गरेका व्यक्ति उनको सम्पर्कमा आए । ‘गण्डकी यातायात कार्यालय लाइसेन्स पोखरा’ लेखिएको फेसबुक ग्रुपमा सरोजले लाइसेन्ससँग सम्बन्धित सरकारी सूचना पोस्ट गर्थे । सरोजले लाइसेन्सको फारम भरिदिने र ट्रायलको व्यवस्था पनि मिलाइदिने आश्वासन दिए ।

सुरुमा फारम भर्न ५ हजार रुपैयाँ पठाइदिन सरोज आग्रह गरे । सुरेशले आइएमईमार्फत ५ हजार रुपैयाँ पठाइदिए । सबै कुरा मिलाएर बोलाउँछु, ट्रायल दिनचाहिँ नेपालगन्ज जानुपर्छ भनेका सरोजले अर्को दिन भने, ‘सबै सेटिङ मिलिसक्यो, लाइसेन्स यतै बन्ने भो, ४० हजार रुपैयाँ पठाइदिनू ।’

सुरेश अचम्ममा पर्दै सोधे, ‘यस्तो पनि हुन्छ र ?’ अहिलेसम्म ८÷९ सय जनाको काम गरिसकेको भन्दै सरोजले विश्वस्त पार्न खोजे । सुरेशको नाम र लाइसेन्स नम्बर उल्लेख गरिएको अस्थायी लाइसेन्सजस्तै देखिने कागज फेसबुक म्यासेन्जरमा पठाउँदै सरोजले थप ४० हजार मगाए ।

सुरेशले ४० हजार रुपैयाँ आइएमईमार्फत सरोजलाई पठाइदिए । डेकप्रसाद श्रेष्ठले पनि सरोजले भनेको त्यही प्रक्रिया मुताबिक काम गरिरहेका थिए । डेकप्रसादले पनि उसैगरी सुरुमा ५ हजार र पछि हेभी गाडीको लाइसेन्स बनिसकेको भन्दै फेसबुक म्यासेन्जरमा फोटो पठाएपछि ४० हजार रुपैयाँ आइएमईमार्फत नै हालिदिए । सरोजले दुबैजनाको अस्थायी लाइसेन्स भन्दै इमोमार्फत पनि कागज पठाएका थिए ।

लाइसेन्सको कागज पाएपछि उनीहरुले सरोजसँग राजस्व तिरेको कागज मगाए । सुरेश र डेकप्रसादलाई शंका लाग्यो र बागलुङमा रहेको यातायात व्यवस्था कार्यालय धौलागिरी पुगे । उनीहरुले पाएको लाइसेन्स नम्बर हेरिदिन आग्रह गरेपछि बल्ल आफूहरु ठगिएको चाल पाए । लाइसेन्स नक्कली भएको जानकारी पाएपछि झस्किए ।

लगत्तै उनीहरु फेरि यातायात व्यवस्था कार्यालय पोखरा पुगे । त्यहाँ गएर बुझ्दा ठगिएको पक्का भयो । ‘सरोजले अन्तिमसम्म पनि राजस्व तिरेको कागज पठाउँछु, तर अन्त नजान आग्रह गर्थे,’ डेकप्रसादले भने, ‘अहिले त उसले पैसा फिर्ता गर्छु भन्दै टार्छ तर मजस्ता थुपै्र व्यक्ति उबाट ठगिएका रहेछन् ।’

अहिले सरकारले लाइसेन्स दिन सकेको छैन । लिखित र ट्रायल पास भइसकेपछि बुझाएको राजस्वको रसिद नै अस्थायी लाइसेन्स भइरहेको छ ।

सरोजले त्यही अस्थायी लाइसेन्सजस्तै दुरुस्त देखिने कागज प्रिन्ट गर्दै ठग्दै आएको खुलेको सुरेश र डेकप्रसाद बताउँछन् । उनीहरुसँगै मदन श्रेष्ठ र टंकलाल श्रेष्ठ पनि ठगिएका छन् । लाइसेन्स बन्ने लोभमा मदनले पनि ४५ हजार र टंकले ३५ हजार रुपैयाँ आइएमईमार्फत नै सरोजलाई पठाएका थिए ।

पैसा असुल गर्न र सरोजलाई खोज्न सुरेश र डेकप्रसाद एक हप्तादेखि पोखरामा भांैतारिए । सरोजले दिनदिनै मोबाइलको सिमकार्ड फेरिरहेको उनीहरु बताउँछन् । उनीहरु सरोजको घर पर्वत पातीचौर पनि पुगे । पछि पोखराको सिर्जनाचोकमा सरोज एकजना केटी साथीसँग बस्ने उनीहरुले जानकारी पाए ।

उनीहरुले ती युवतीलाई पत्ता लगाएर सरोजको कोठा पुगे तर सरोज थिएनन् । बरु उनीहरुले त्यहाँ थप दुइटा नक्कली लाइसेन्सको कागज भेटे ।

राहुल नेपाली र अर्जुन जिसीको नाममा यातायात कार्यालय वीरगन्जबाट निकालिएको नक्कली लाइसेन्सको कागज उनीहरुले हात पारे । ‘सरोजले अरु पनि थुप्रैलाई ठगी गरेको रहेछ,’ डेकप्रसादले भने, ‘सबै प्रमाणसहित मंसिर १ गते नै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका छौं । ऊ पोखरामै घुमिरहेको छ तर पक्राउ नै पर्दैन ।’ जिल्ला प्रहरी कार्यालयमा पुग्दा उल्टै खोजेर ल्याउनुस् हामी कारबाही गर्छाैं भन्ने उत्तर पाएको पीडितले गुनासो गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ