भाइटीका लगाउनकै लागि पोखरा आउँछन् विदेशी पर्यटक

भाइटीका लगाउनकै लागि पोखरा आउँछन् विदेशी पर्यटक

Foreign-Tourist-in-Pokhara

पोखरा – पोखरा रेन्बो चिल्ड्रेन होम की १९ वर्षीय सम्झना पौडेल यस वर्ष पनि पर्यटकलाई भाइटीका लगाउने तयारी गर्दैछिन्। विगत ४ वर्षदेखि उनले विदेशी पर्यटकलाई भाइटीका लगाउँदै आएकी छिन्।

सम्झनासँगै चिल्ड्रेन होमका ९–१० जनाले विदेशी पर्यटकलाई टीका लगाउँछन्। भाइटीकाकै दिन चिल्ड्रेन होमका दाजुभाइलाई टीका लगाएर उनीहरु भाइटीका महोत्सव कार्यक्रममा टीका लगाउन पुग्छन्।

‘यस वर्ष पनि हामीले विदेशी पर्यटकलाई टीका लगाउने तयारी गरिरहेका छौँ,’ सम्झनाले भनिन्, ‘आफ्नो संस्कार संस्कृतिको बारेमा जानकारी दिँदै विदेशी पर्यटकहरुबीच भाइटीका लगाएर नाता जोड्न पाउँदा निकै खुशी लाग्छ।’

सम्झनाले भाइटीका लगाउँदा विदेशी पर्यटक पनि रमाउने बताइन्। ‘उनीहरु पनि एकदमै खुशी हुन्छन्, सप्तरंगी टीका, सयपत्री, मखमलीको माला, शिरमा ढाका टोपी लगाएर भाइमसलाका साथ अन्य परिकार खुवाउँछौ, उनीहरुले दक्षिणा दिन्छन्,’ सम्झनाले भनिन्। देशसञ्चार डटकमका लागि जमुना वर्षा शर्माले पोखराबाट लेखेकी छन् ।

एक पटक भाइटीका लगाएका पर्यटक अर्को पटक पनि आउने गरेको सम्झनाले सुनाइन्। ‘कति नेपाल आएको बेला चिल्ड्रेन होममा दिदी बहिनी छन् भन्दै भेट्न आउँछन्, कति त तिहारको टीका लगाउनकै लागि नेपाल आउँछन्,’ उनले भनिन्।

विगत वर्षजस्तै यस वर्ष पनि भाइटिका लगाउन निकै उत्साहित छिन्, ७२ वर्षीया हिल्टेज भान मिक्किरिन। नेदरल्याण्डकी नागरिक हिल्टेजले भाइटीका पर्व एकदम मनपर्ने बताइन्। वर्षमा एक पटक नेपाल घुम्न आउने गरेको सुनाउँदै उनले यस वर्ष पनि भाइटीका कार्यक्रममा सहभागी भएर टीका ग्रहण योजना बनाउँदै छिन्।

‘मैले गत वर्ष पनि भाइटीका लगाएकी थिएँ, अहिले पनि लगाउँछु, यो पर्वले नेपालसँग सम्बन्ध जोडेको छ, आफन्तहरु पाएकी छु,’ उनले भनिन्, ‘संस्कार, संस्कृतिले मानिसहरुलाई भावात्मक रुपमा गाँस्छ, र झनै आत्मीय बनाउँछ।’

दसैँअघि नेपाल आएकी हिल्टेजले भाइटीका लगाएर मात्रै स्वदेश फर्किने बताइन्। विशेषगरी यतिबेलाको मौसमले उनलाई लोभ्याउने गरेको र तिहारको झिलिमिली बत्ति पनि निकै आर्कषक लाग्ने बताइन्।

त्यस्तै भाइटीका कार्यक्रममा सहभागी हुन चिनियाँ पर्यटक छायोपिन पनि पोखरा आउने भएका छन्। घुमघाममा काठमाडौँ रहेका उनी भाइटीकाको दिन पोखराका आउने बताए।

‘मैले तिहारको भाइटीका कुरिरहेको छु, म भाइटीका लगाउन पोखरा आउँछु,’ छायोपिनले देश सञ्चारसँग भने, ‘पोखरामा मेरी बहिनी छिन्, यो पर्व धर्मसँग नभई भावनासँग जोडिएकाले तिहार मनाउने गरेको हुँ।’

उनले बहिनीले सात रंगको टीका, माला र ढाकाको टोपी लगाइदिने र आफूले दक्षिणा दिने उल्लेख गरे। नेपालमा दिदीबहिनी बनाउन पाउँदा खुशी लागेको उनले बताए। भाइटीकाले दुई देशका नागरिकबीच भातृत्वको सम्बन्ध स्थापित गरेको उनको भनाई छ। एक देशका नागरिक र अर्को देशका नागरिकबीचको संस्कृति आदानप्रदान र सम्बन्धले अन्तरदेशीय सम्बन्धलाई मजबुत बनाउँदै लैजाने उनले बताए।

पोखरा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको गन्तव्य हो। प्राकृतिक सुन्दरतासँगै ऐतिहासिक धार्मिक सांस्कृतिक महत्व पनि पोखराले बोकेको छ। नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन गण्डकी प्रदेश अध्यक्ष गोविन्दराज पहारी तिहारको झिलिमिली, देउसीभैलो, सयपत्री, गोदावरी, मखमली फूलका मालाहरुले वातावरण उत्सवमय भइरहेका बेला पोखराको लेकसाइडमा हुने भाइटीका महोत्सवले पनि विदेशी पर्यटकलाई थप हौस्याएको बताउँछन्।

‘भाइटीका महोत्सवले अन्तरदेशीय नागरिकबीच आत्मीय सम्बन्ध जोडेको छ, कति पर्यटक तिहारको टीका लगाउनकै लागि भनेर वर्षमा एकपटक नेपाल आउँछन्, टीका लगाएका दिदिबहिनीलाई भेट्छन्, यसले पर्यटन प्रवर्द्धनसँगै संस्कृति आदानप्रदान गरेको छ,’ पहारीले भने।

पहारीले क्रिश्चियन बनेका नेपालीहरुले तिहारलाई उपेक्षा गर्ने गरेको बताउँदै जन्मजात क्रिश्चियनहरुले चाहिँ भाइटीका लगाएर पर्वको महत्व बढाएको टिप्पणी गर्छन्। यसले धार्मिक सद्भाव पनि कायम गरेको उनको भनाइ छ।

पश्चिमाञ्चल होटल संघ (हान) ले विदेशी पर्यटकलाई लक्षित गरेर वर्षेनी भाइटीका महोत्सवको आयोजना गर्दै आएको छ। यस वर्ष १२औँ संस्करणको भाइटीका महोत्सव गर्न लागेको संघका अध्यक्ष विकल तुलाचनले बताए।

पर्यटकले पोखरालाई प्राकृतिक सुन्दरतासँग मात्र नभई सांस्कृतिक सुन्दरताले पनि चिनोस् भन्ने उद्देश्यले महोत्सवको आयोजना गरेको तुलाचनको भनाई छ। उनले भने, ‘होटल संघले विदेशी पर्यटकलाई नेपाली पर्वको बारेमा प्रचार गर्ने र एकअर्काबीच भाइचारा स्थापित गर्न भाइटीका महोत्सवको आयोजना गर्दै आएको छ।’

तुलाचनले प्राकृतिक रुपले मात्र नभई विभिन्न सांस्कृतिक उत्सवमा एकले अर्कोको संस्कृतिलाई आत्मसात गरी अगाडि बढ्न र यसै माध्यमबाट पर्यटनको प्रवर्द्धन गर्नका लागि भाइटीका महोत्सवको भूमिका रहेको बताए। यसले विदेशमा सकारात्मक सन्देश दिएको उनले बताएका छन्।

भाइटीकाकै दिन अपरान्ह दुई बजेबाट पर्यटकका लागि भाइटीकाको कार्यक्रम गरिने महोत्सवकी संयोजक एवं संघका कोषाध्यक्ष पार्वती पाण्डेले जानकारी दिइन्। भाइटीका लगाउने पर्यटकले लेकसाइडस्थित बटरफ्लाई चाइल्ड केयर सेन्टर लेकसाइडस्थित होटल ल्याण्डमार्क, ग्ल्यासियर होटल एण्ड स्पाः र बटरफ्लाई लजमा नाम दर्ता गराउनु पर्नेछ।

गत वर्ष १३ देशका ३५ पर्यटकले भाइटीका लगाएको पाण्डेले बताइन्। उनले स्वदेशी तथा विदेशी पर्यटक माझ आपसी भाइचाराको अभिबृद्धि गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली संस्कृतिलाई प्रचार गर्ने भाइटीका महोत्सव सफल हुँदै आएको बताइन्। पर्यटक पनि उत्तिकै रमाउने गरेकाले पनि महोत्सवलाई निरन्तरता दिँदै आएको पाण्डेले बताएकी छिन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

केही स्थानमा बदली र वर्षाको सम्भावना
लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक

ट्रेन्डिङ