पर्वत, ११ कार्तिक । महाशीला गाउँपालिकाले चालू आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरी बाँदर नियन्त्रण अभियान सञ्चालन गरेको छ । अभियान सञ्चालन गरी झन्डै तीन सय नियन्त्रणमा लिएपछि पर्वतका बाँदरपीडित कृषक खुसी भएका छन् । आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
गाउँपालिकाभित्रका वडाहरूमा बाँदरले कृषकको बाली खाइदिने तथा नष्ट गर्ने समस्याबाट पीडित भएपछि अभियान सञ्चालन भएको थियो । बाँदर नियन्त्रण अभियान सफल भएपछि कृषक तथा सर्वसाधारण खुसी भएका छन् । गाउँपालिकाका एक हजार सात सय ८२ मध्ये एक हजार घरधुरीका बासिन्दा बाँदरबाट पीडित भएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले बताए ।
अभियान सञ्चालन भएपछि कृषकहरूलाई ठूलो राहत मिलेको महाशीलाका प्रवक्ता जीवन उच्चै ठकुरीले बताए । अघिल्लो वर्षसम्म बाँदर आतंकको गुनासो गर्दै आउने कृषकहरू पनि अहिले खुसीका साथ अन्य सेवाका लागि वडा र गाउँपालिकामा धाउने गरेको उनले बताए । ‘पहिला–पहिला गाउँपालिका र वडाहरूमा केही काम लिएर कृषकहरू आउँदा पनि पहिलो गुनासो बाँदर आतंककै हुन्थ्यो,’ उनले भने, ‘अहिले भने अभियानप्रति सन्तुष्टि व्यक्त गर्ने गरेका छन् ।
महाशीला गाउँपालिकाले बाँदर समात्नका लागि भारतबाट पाँचजनाको टोली ल्याएको छ । एउटा बाँदर समातेको दुई हजार रुपैयाँ दिने गरी सम्झौता गरेको कार्यकारी अधिकृत किसन क्षेत्रीले बताए ।
तीन सय बाँदर खोरमा
गाउँपालिकाले ‘मानव र वन्यजन्तुबीचको द्वन्द्व व्यवस्थापन’ शीर्षकमा चालू आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरेरै अभियान सञ्चालन गरेको छ । गाउँपालिकाले वन्यजन्तुविज्ञसँग समन्वय गरी बाँदरलाई नियन्त्रण गर्दै आएको छ । अहिले बाँदर नियन्त्रण गरी राख्नका लागि निर्माण गरिएको खोरमा करिब तीन सय बाँदर संकलन गरिएको गाउँपालिकाका अध्यक्ष पौडेलले बताए ।
बजेट बनाउनुअघि वडामा भएका छलफल कार्यक्रममा कृषकहरूले बाँदरबाट पीडित भएको गुनासो गर्दै बाँदर नियन्त्रण अभियान सञ्चालन गर्न माग गरेपछि गाउँपालिकाले अभियान सञ्चालन गरेको थियो । ‘सबै वडामा बाँदर आतंक बढेको भन्दै जनप्रतिनिधिले नियन्त्रणका लागि हस्ताक्षरसहित गाउँसभामा संकल्प प्रस्ताव पेस गरेका थिए,’ अध्यक्ष पौडेलले भने, ‘गाउँसभामा बाँदर नियन्त्रणको संकल्प प्रस्ताव शतप्रतिशतले पारित गरी सो अभियान अघि बढेको हो ।’ अभियानले सार्थकता पाएको पौडेलले बताए ।
नियन्त्रित बाँदर निकुञ्ज पठाउने
गाउँपालिकाले नियन्त्रणमा लिएर खोरमा राखिएका बाँदरलाई निकुञ्जमा पठाउने तयारी गरेको छ । खोरमा राखेका बाँदरलाई धेरै अन्न खुवाउनुपर्ने अवस्था आएपछि गाउँपालिकालाई समस्या परेको छ । गाउँपालिकाले विनियोजित बजेटबाट बाँदरका लागि अन्न खरिद गरेर खुवाउने गरेको छ । अध्यक्ष पौडेलले ६ सय बाँदर नियन्त्रणमा लिएपछि निकुञ्जमा पु(याउने बताए ।
सम्बन्धित खबर
विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर्न कास्की काँग्रेसको माग
र्यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस
तनहुँकी एक महिलाले ढुङ्गाले हानेर चारमहिने छोराको गरे हत्या
पोखरामा लागू औषधसहित २ जना पक्राउ
गुप्तेश्वर गुफामा वाद्यवादन तालिम सम्पन्न
ओटेफको डिजिटल मार्केटिङ विषयक तीन दिने तालिम सुरु
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध
तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु, १४ जना घाइते