निर्मला हत्या प्रकरणः छानबिन समितिको ३७ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक (पुरै पढ्नुहोस्)

निर्मला हत्या प्रकरणः छानबिन समितिको ३७ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक (पुरै पढ्नुहोस्)

nirmala-pant-hatyakand

गृह मन्त्रालयले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या घटनाको छानबिन गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदन सार्वजनिक गरेको छ । गृहमन्त्रालयका सहसिचव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो। मन्त्रालयले ३७ पृष्ठ लामो प्रतिवेदन आफ्नो वेबसाइटमा राखेको छ।

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”16241″ /]

प्रतिवेदन सार्वजनिक गर्न सरकारमाथि दबाब बढेको थियो। आइतबार मन्त्रिपरिषद्को स्वीकृतिपछि गृहले पन्त प्रकरणको प्रतिवेदन बाहिर ल्याएको हो। समितिले गत असोज १० गते गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको थियो।

भिमदत्त नगरपालिका २ की १३ वर्षीय पन्तकोसाउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकैको उखुबारीमा शव भेटिएको थियो।

प्रहरीले किन साट्यो ल्याबमा पठाएको नमुना 

अनुसन्धानका क्रममा प्रहरीले केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाएको नमुना नै हेरफेर गरेको खुलासा भएको छ ।

घटनामा कञ्चनपुर प्रहरी प्रमुख समेत रहेका एसपी डिल्लराज विष्टसहितको टोलीले प्रमाण संरक्षण गर्नुका साटो नष्ट गरेको आरोप लागेको छ । सरकारी छानविन समितिले त्यसलाई सदर मात्र गरेको छैन्, प्रमाणका रुपमा प्रयोगशालामा पठाइएको नमुनामै हेरफेर गरेको खुलासा गरेको छ ।

प्रतिवेदनअनुसार जिप्रका कञ्चनपुरले भदौ ४ गते तयार पारेको बरामदी मुचुल्कामा उल्लेख भएको अमित गोल्ड लेखिएको निलो कट्टु, निलो रंगको भित्र शरीरमा लगाउने गन्जी र खैरो रंगको जिन्स हाफपाइन्ट प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा ८ गते पठाइएको थियो ।

तर, दुई दिनपछि जिप्रकाले दुई वटा चलानी नम्बरमा पत्र लेखेर नमुनामा नै सच्याएको पाइएको छ । ‘सेतो गञ्जी हुनुपर्नेमा नीलो रंगको सेन्डो गञ्जी हुन गएको र हाप पाइन्ट हुनुपर्नेमा नीलो रंगको हाफ पाइन्ट हुन गएकाले सच्चाइदिनुहुन अनुरोध गरेको देखिन्छ’, प्रतिवेदनमा भनिएको छ ।

मुचुल्कामा उल्लेख भएको निलो कट्टु, गञ्जजी र हाफ पाइन्ट दिलिपसिंह विष्टको घरबाट बरामद भएको थियो । प्रहरीले विष्टलाई मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । तर, विष्टलाई दोषी प्रमाणित गर्न प्रहरीले नमुना परिर्वतन गराएको पाइएको छ । प्रहरी नायव निरीक्षक हरसिंह धामीका अनुसार विष्टले शौचालयमा हस्तमैथुन गरेको र हातमा विर्य लगाएर आएका थिए ।

त्यसपछि विष्टबाट बरामद भएको नयाँ नमुना प्रयोगशालामा पठाएको छानविन समितिको ठहर छ । ‘प्रयोगशालामा पठाइसकेको नमुना किन परिर्वतन गर्नु र्पयो ?’, छानबिन समितिका एक सदस्यले भन्छन्, ‘मुचुल्कामा उल्लेख भएको नमुना हेरफेर गरेर अपराधी लुकाउन खोजिएको छ ।’

सामुहिक बलात्कार भएको ठहर, बविताको गतिविधि शंकास्पद

समितिले शंकाको सुई बबिता भनिने अनिता बमतर्फ सोझ्याएको छ । प्रतिवेदनको ३४ औं पृष्ठमा भनिएको छ ‘अनिता बमको गतिविधि शंकास्पद देखिन्छ ।’समितिको प्रतिवेदनले निर्मलाको हत्या एकजनाले गर्न सम्भव नभएको भन्दै सामुहिक बलात्कार भएको विश्लेषण गरेको छ ।

एकजनाबाट बलात्कार सम्भव नभएको तर्क गर्दै समितिको प्रतिवेदनमा यसो भनिएको छ–

‘दिउँसोको समय र मान्छेहरुको आवत–जावत भइरहने सडक नजिकै एउटा व्यक्तिबाट आकस्मिकरुपमा बाटोमै समाती जबरजस्ती करणी गर्न असम्भव देखिने । किनकी, दुई हातले समातेर लिँदा पनि बालिका चिच्याउनुपर्ने, लास फेला परेको उखुबारी नजिकै घरमा दुईवटा कुकुर रहेको र चक्रदेव बडू तथा निजका बाबुसमेत उक्त दिन घरमै भएको भन्ने भनाइ र पोष्ट मार्टम रिपोर्टमा बालिकाको तौल ४०र४५ केजी उल्लेख गरिएको, एकजनाले आकस्मिकरुपमा बलात्कार गर्न एकहातले बालिकालाई समाते पनि अर्को हातले मुख थुनेको भए बालिकाको सुरुवाल, पेन्टी र आफ्नो पाइन्ट, हाफ पाइन्ट पनि खोल्न गाह्रो हुनसक्ने भएकाले एकजनाले मात्र आकस्मिक बलात्कार गर्न सम्भावना कम देखिएको ।’

उखुबारीमा निर्मलाको बलात्कार र हत्या नभई बाहिरबाट हत्या गरेर त्यहाँ शव फालेको ठहरमा समिति पुगेको छ । निर्मलाका कितावहरु पानीमा नभिजेको ओभाना देखिएको हुनाले उनलाई अन्यत्रै हत्या गरेर ती कितावहरु घटनास्थानमा पछि राखिएको समितिको निश्कर्ष छ ।

निर्मला पन्त हराएको दिन बम दिदीबहिनीहरु ट्युसन सेन्टरमा अनुपस्थित भएको समितिको प्रतिवेदनमा उल्लेख छ । तर, बबिता (अनिता) बम र उनका बुबाले ट्युसन सेन्टरमा गएर आफूहरु उक्त दिन ट्युसन पढ्न आएका थिए भनिदिनोस् भनेर आग्रह गरेका कारण उनीहरुको गतिविधि शंकास्पद रहेको समितिले निश्कर्ष निकालेको छ ।

समितिले आफ्नो सुझावमा यो घटनाबारे विशेष अनुसन्धान टोली बनाई अनुसन्धानको दायरा फराकिलो बनाउँदै लैजानुपर्ने सुझाव दिएको छ । साथै, प्रहरीहरुलाई समेत छानविनको दायरामा ल्याउन सुझाव दिइएको छ ।

कट्टु, पेन्टी, सुरुवाल सबै गायब !

जिप्रका कञ्चनपुरले तयार पारेको सनाखत मुचुल्कामा निर्मला पन्तको रातो कलेजी रंगको सुरुवाल, रातो रंगको भेष्ट र खराने रंगको पेन्टी लगायत साइकल कापी प्रहरीले बरामत गरी लगेको उल्लेख भए पनि बरामत गरिएका उल्लेखित वस्तुहरु हाल नभेटिएको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी घटनास्थलबाट नीलो रंगको सेन्डो गञ्जी र खैरो रंगको जिन्स हाफपाइन्ट बरामद गरिएको कागजमा उल्लेख भएकोमा नमूना परीक्षणको पत्रलाई सच्याउन जिप्रकाले अर्को पत्र पठाएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिवेदनको २४-२५ पृष्ठमा लेखिएको छ, ‘महाकाली अञ्चल अस्पतालमा २३ साउनको शव परीक्षणको रिपोर्टमा मृतकको भेजिनामा वीर्यको जीवाणु नदेखिएको र कन्र्फम गर्न भजाइनल स्वाब नेशनल फरेन्सिकमा पठाउने भनिएको पत्रको व्यहोरा र मृतकलाई पानीमा घोप्टो पारेर प्रमाण लोप हुने गरी राखिएको अवस्थाले पनि उक्त कार्य चलाखीपूर्णरुपमा गरेको जस्तो देखिन्छ ।’

घाँटी थिचेर भएको थियो निर्मलाको हत्या, भेजिनल स्वाबमा वीर्य थिएन 

पन्तको हत्या घाँटी थिचेर भएको तथ्य सार्वजनिक भएको छ । प्रतिवेदनमा पोस्टमार्टम रिपोर्टअनुसार निर्मलाको हत्या घाँटी थिचेर भएको भनिएको छ ।

महाकाली अञ्चल अस्पतालका डा। हरीकुरमा श्रेष्ठसहित ३ जनाको टोलीले निर्मलाको शवको पोस्टमार्टम गरेको प्रतिवेदनमा उल्लेख छ । पोस्टमार्टम रिपोर्ट अनुसार निर्मलाको हत्याको कारण ‘कस अफ डेथ’ मा ‘थ्रोटिङ्क लिडिङ्ग टु इसफेक्सिया’ उल्लेख छ । पोस्टमार्टम रिपोर्टमा निर्मलाको घाँटीको अगाडिपट्टीको किलकिले हड्डी भाँचिएको समेत उल्लेख गरिएको छ ।

निर्मलाको योनाङ्गको भेजिन स्वाब ‘यौनाङ्गमा भेटिएको पदार्थ’ लिँदा उक्त स्वाबमा वीर्य नदेखिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । उच्च् स्तरीय समितिले आरोपी दिलिपसिंह विष्टलाई केरकार गर्ने क्रममा यातना दिने प्रहरीका साथै तत्कालीन एसपी डिल्लीराज विष्टसमेतलाई विभागीय कारवाहीको सिफारिस गरिएको छ ।

घटनाको अनुसन्धानमा संलग्न प्रहरीले हेलचेक्राइँ र लापरवाही गरेको प्रतिवेदनमा ठहर गरिएको छ र त्यसमा सहभागी सबै प्रहरीलाई विभागीय कारवाही गर्न सिफारिस गरिएको छ । त्यसैगरी प्रहरीको गोलीबाट घाइते भएकाहरुलाई निर्वाह भत्ता उपलब्ध गराउन भनिएको छ । पीडितलाई सामाजिकरुपमा पुनस्र्थापना गराउन सिफारिस गरिएको छ ।

त्यसैगरी घटनाको अनुसन्धानमा खटिने प्रहरीलाई प्रदर्शन नियन्त्रणमा नखटाउन भनिएको छ । अबदेखि जिल्लामा प्रहरीहरु खटाउँदा स्थानीयबासीलाई नखटाउन भनिएको छ । अनुसन्धानमा खटिएका प्रहरीले पीडितलाई पनि साथमा लिन भनिएको छ । त्यसैगरी सम्भावित परिस्थितिबारे आँकलन गर्दै राष्ट्रिय अनुसन्धान विभागलाई सक्रिय बनाउन सुझाव दिइएको छ । घटनामा पूर्व सतर्कता अपनाउन भनिएको छ ।

एसपी विष्ट र बम दिदीबहिनीमाथि पुनस् छानबिन गर्न आयोगको निर्देशन

राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निलम्बित एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनीमाथि पुनस् छानबिन गर्न आइतबार सरकारलाई निर्देशन दिएको छ ।

डिल्लीराज बिष्ट र बम दिदीबहिनीका घर

कञ्चनपुर पुगेर घटनाको स्थलगत अध्ययन गरेको मानव अधिकार आयोगको टोलीले तयार पारेको प्रतिवेदनका आधारमा आयोगले सरकारलाई विष्ट र बम दिदीबहिनीमाथि पुनस् छानबिन गर्नुपर्नेलगायत ८ बुँदे निर्देशन दिएको हो । प्रतिवेदनमा निर्मलाकी आमाले हारगुहार गर्दासमेत प्रहरीले खोजीमा तत्परता नदेखाएको तथा शव भेटिएपछि पनि प्रमाणको संरक्षण गर्नुको साटो नष्ट गरेको पाइएको उल्लेख छ ।

‘तत्कालीन जिल्ला प्रहरी प्रमुख विष्ट घटनास्थलमा आफैं उपस्थित भई आवश्यक सूचना प्रवाह तथा समन्वय गरेको नपाइएकाले उनीमाथि थप अनुसन्धान गर्नुपर्ने देखिएको’ आयोगले सरकारलाई दिएको निर्देशनमा उल्लेख छ । आयोगले रोशनी र बबिता बमलाई समेत शंकाको घेरामा राखी पुनस् अनुसन्धान अघि बढाउनसमेत निर्देश गरेको छ ।

घटनामा शंकास्पद व्यक्तिहरूको डीएनए परीक्षण गरिए पनि ल्याबमा प्रयोग भएका औजार, रसायन, भिजाइनल स्वाबको सुरक्षा पर्याप्त भएरनभएको पुनस् विश्लेषण र जाँच गर्नसमेत आयोगले सरकारलाई निर्देशन दिएको छ । प्रहरी अनुसन्धानको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठदा आम नागरिक र पीडित परिवारमा निराशा बढेको उल्लेख गर्दै आयोगले दोषीलाई जतिसक्दो छिटो कारबाहीको दायरामा ल्याउनसमेत सरकारलाई आग्रह गरेको छ ।

निर्मलाका बुबा आमा

निर्मलाकी आमा, दिदी र बहिनी

श्रोतः अनलाइनखबर, लोकान्तर, कान्तिपुर

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ