अब केबुलकारमै मुक्तिनाथ दर्शन, भाडा ६ हजार रुपैयाँ, कुल लागत ३४ अर्ब

अब केबुलकारमै मुक्तिनाथ दर्शन, भाडा ६ हजार रुपैयाँ, कुल लागत ३४ अर्ब

cablecar

पोखरा । हिन्दू र बौद्ध धर्मावलम्बीहरूको महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथको दर्शन गर्न केवुलकार निर्माण गरिने भएको छ । ६ बर्षभित्र निर्माण सक्ने गरि कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्म केवुलकार निर्माण गर्न लागिएको हो ।

मुक्तिनाथ दर्शन सेवा प्रालिले २०८१ भित्र सेवा दिने गरी निर्माण प्रक्रिया सुरु गरेको छ । प्रालिका प्रमुख कार्यकारी अधिकृत श्रीधर सापकोटाले कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्मको करिब ७५ किलोमिटर दूरीको केबलकार निर्माण गर्नको लागि प्रक्रिया सुरु गरिएको बताए ।

कम्पनीका रोपवे इन्जिनियर गुणराज ढकालका अनुसार उक्त केबलकार निर्माण गर्न खण्ड खण्डमा विभाजन गरिएको छ । जसअनुसार कास्कीको वीरेठाँटीदेखि घोरेपानीसम्म पहिलो, घोरेपानीदेखि तातोपानीसम्म दोस्रो, तातोपानीदेखि लेतेसम्म तेस्रो, लेतेदेखि मार्फासम्म चौथो, मार्फादेखि जोमसोमसम्म पाँचौँ, जोमसोमदेखि कागबेनीसम्म छैटौँ र कागबेनीदेखि मुक्तिनाथसम्म सातौँ खण्ड हुनेछ ।

लम्बाइको हिसाबले संसारकै लामो केबलकारका रूपमा रहेको यो परियोजनालाई कम्पनीले महत्वकाङ्क्षी परियोजनाका रूमालिएको छ । विश्वमा अफ्रिकी मुलुक ग्याबनको केबलकार २५० किलोमिटर र स्विडेनको ९६ किलोमिटर लामो केबलकार रहे पनि त्यो सामान ढुवानीको लागि मात्रै प्रयोग हुने गरेकोे छ ।

मुक्तिनाथको दर्शन केवलकार परियोजना भने विशुद्ध पर्यटक ओसारपसारमा प्रयोग हुने छ । कम्पनीका अनुसार स्रोत जुटाएर काम गर्दा निर्माण उति असहज नभए पनि मार्फा–कागबेनी खण्डमा भने तीव्र हावाचल्ने भएकाले केही कठीनाइ रहेको छ । करिब १५ किलोमिटरको यो खण्डमा दिउँसोको समयमा ५० किलोमिटर प्रतिघण्टाको बेगले हावाचल्ने हुँदा यात्रुको सुरक्षाका लागि उच्च प्रविधि अपनाइने छ ।

निर्माण सम्पन्न भएपछि एक दिशामा एक पटकमा १ हजार यात्रु बोक्ने क्षमता केबलकारले राख्ने बताइएको छ । कम्पनीका अनुसार ३ घण्टा १० मिनेटमा वीरेठाँटीबाट मुक्तिनाथ पुग्न सकिनेछ ।

भाडा ६ हजार रुपैयाँ

कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्म पुग्ने केबलकार निर्माण गर्न खोजिरहेको मुक्तिनाथ दर्शन प्रालिले नेपाली यात्रुलाई ६ हजार रुपैयाँमा मुक्तिनाथ र्पुयाउने प्रस्ताव गरेको छ । कुल ८३.५ किलोमिटर लामो यो केबलकार यात्रामा बिदेशी भन्दा नेपाली यात्रुलाईसहुलियत दिने कम्पनीको तयारी छ । किनकि भारतीय नागरिकलाई ६ हजार भारु र अन्य देशका नागरिकलाई १ सय अमेरीकन डलर भाडा लिने कम्पनीको योजना छ । नेपालीलाई भने ६ हजार नेरु भाडा लिइने छ ।

कुल लागत ३४ अर्ब

यो केबलकार सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण गर्ने कम्पनीको योजना छ । यो केबुल कार निर्माणका लागि ३४ अर्ब बराबरको खर्च लाग्ने आँकलन गरिएको छ । यसको ८५ प्रतिशत अर्थात २८ अर्ब ९० करोड लगानी ऋणबाट जुटाउने कम्पनीको तयारी छ । बाँकी १५ प्रतिशत अर्थात ५ अर्ब १० करोड बराबरको रकममध्ये २ अर्ब ८० करोड लगानी प्रवद्र्धकबाट जुटाउने मुक्तिनाथ दर्शन प्रालिले जानकारी दिएको छ । लगानीमध्ये २ अर्ब २९ करोड भने सर्वसाधारणलाई सेयर जारी गरेर जुटाउने कम्पनीको योजना छ ।

मार्फामा ट्रान्जिट, ६ वटा खण्ड

६ वटा खण्डमा विभाजन गरेर यसको निर्माण गर्ने कम्पनीको योजना छ । वीरेठाँटीदेखि घोरेपानीको भाग १३.३ किलोमिटर लामो हुनेछ । घोरेपानीदेखि तातोपानीको खण्ड १२.७ किलोमिटर र तातोपानी देखि लेतेसम्मको भाग १६.४ किलोमिटर लामो हुनेछ । एकैपटक मुक्तिनाथसम्म पुग्न असहज हुने भन्दै कम्पनीले बीचमा यात्रुलाई ओरालेर अर्को डिब्बाबाट लाने योजना बनाएको छ । लेते देखि जोमसोमको बीचमा मार्फामा यस्तो ट्रान्जिट राखिनेछ । लेतेदेखि जोमसोमसम्मको यात्रा २३.९ किमी लामो हुनेछ । जोमसोमदेखि कागबेनीसम्मको खण्ड ८.२ किमी र कागबेनीबाट मुक्तिनाथसम्मको खण्ड ९ किलोमिटर लामो हुनेछ । कम्पनीका अनुसार केबुलकार प्रतिसेकेण्ड २ मीटरदेखि १२ मिटरका दरले चल्ने छ । तर, यो गति हावाको गतिमा निर्भर रहने छ ।

यसअनुसार मुक्तिनाथको केबुलकार यात्रा २ घण्टा १० मीनेटदेखि अढाइ घण्टासम्मको हुनेछ । वीचका स्टेसनहरुमा मानिस उत्रँदै र चढ्दै गर्ने क्रममा केही बेर रोकिँदा र मार्फाको ट्राञ्जिटसमेत जोड्दा ३ घण्टासम्म पनि लाग्न सक्छ । सरकारले अध्ययनका लागि स्वीकृति दिइसकेकाले अब डीपीआर तयार पार्न २ वर्ष लाग्ने कम्पनीले जनाएको छ । डीपीआर तयार भएको तीन वर्ष्भित्र केवलबार चल्ने दाबी कम्पनीको छ । यस हिसाबले आगामी ५ देखि ६ वर्ष्भित्र यो रुटमा केवलकार चल्न सक्छ । यो प्रोजेक्ट सफल भएमा यो नेपालको सबैभन्दा लामो दुरीको केवलकार हुनेछ ।

स्रोत: अनलाईनखबर

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ