धादिङ पोखरा समाजको अधिवेशनले नेतृत्व चयन गर्न सकेन, अर्को साता निर्वाचन

धादिङ पोखरा समाजको अधिवेशनले नेतृत्व चयन गर्न सकेन, अर्को साता निर्वाचन

dhading

पोखरा । धादिङ–पोखरा सम्पर्क समाजको नेतृत्व चयन आगामी साता हुने भएको छ । समाजको नेतृत्व लगायत अन्य पदमा सहमति नजुटेपछि आगामी साता निर्वाचनमार्फत नै नेतृत्व चयन गर्ने निर्वाचन समितिले जनाएको छ । निर्वाचन समिति संयोजक कृष्णकुमार श्रेष्ठका अनुसार अब सहमतिको प्रयास नगरिने र निर्वाचनमार्फत् नै नेतृत्व चयन गरिनेछ ।

झण्डै आधा दर्जन नेतृत्वमा आकांक्षी भएपछि सहमतिमा बाधक बनेको हो । औपचारिक घोषणा नगरिएपनि कम्युनिष्ट र काँग्रेस समर्थितको आफ्नै अघोषित प्यानल छन् । बाँकीले स्वतन्त्र ढंगले चुनावमा होमिने मनसाय बनाएका हुन् । पोखरामा साविक ठूला तीनै दलका सम्पर्क समिति थिए । अहिले एमाले र माओवादी मर्ज भएपछि यहाँ पनि एकीकरण भइसकेको छ । नेकपा बाहुल्य अधिक रहेको जानकार बताउँछन् ।

नेतृत्व लगायतका पदमा सर्वसम्मत बनाउन शनिबार पटक–पटकको प्रयास भएको थियो तर सहमति जुट्न नसकेको हो । आगामी शनिबार दिउसो ११ बजे निर्वाचन हुने निर्वाचन समिति सदस्य सचिव हरिप्रसाद अधिकारीले जानकारी दिए ।

समाजको २० औं साधारणसभा तथा १० औं अधिवेशनको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले राज्यले कर होइन, करको दायरा बढाउनुपर्नेमा जोड दिए । उनले सरकारलाई सघाउन उद्योगी व्यवसायी तयार रहे पनि करको आतंक मच्चाएर दुःख दिने गरेको बताए ।

समग्र गण्डकीवासीको मन भन्दा धादिङवासीको मन ठूलो भएकाले धादिङवासीसंग सहकार्य गरेर अघि बढ्न पोखरा उद्योग वाणिज्य संघ तयार रहेको उनले स्पष्ट पारे । साथै उनले धादिङ समाजको चर्चा निकै सुनेको र आगामी दिनमा पनि थप गतिशील बनाएर अघि बढ्न आग्रह गरे ।

अन्तरसमाज महासंघ राष्ट्रिय समिति नेपालकी अध्यक्ष मञ्जु पौडेल भट्टराईले धादिङ समाजबाट अन्य समाजले पाठ सिक्नुपर्नेमा जोड दिइन् । उनले धादिङ समाज र धादिङवासीको उन्नति–प्रगतिप्रति निकै खुशी लागेको बताइन् ।समाजका पूर्व अध्यक्ष रुद्र खनालले समाजलाई राजनीति भन्दा माथि लैजानुपर्नेमा जोड दिए ।

समाजका अध्यक्ष युवराज खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक सचिव रामकृष्ण दुवाडी, सल्लाहकार केदार धमला, ज्वालामुखी गाउँपालिका ईकाइ अध्यक्ष शेरबहादुर अधिकारी, उपाध्यक्ष शम्भु अधिकारी, महासचिव हरि पन्त, सचिव योगप्रसाद सापकोटा, कोषाध्यक्ष समीर अर्याल लगायले बोलेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ