राजावादीहरूको अराजकता: दुर्गा प्रसाईंले गाडी हुइँक्याएर प्रहरी मार्न खोजेपछि पक्राउ गरिँदै

अराजकताको पराकाष्ठा

राजावादीहरूको अराजकता: दुर्गा प्रसाईंले गाडी हुइँक्याएर प्रहरी मार्न खोजेपछि पक्राउ गरिँदै

प्रदर्शनकारीलाई अराजक बनाएर तीनकुनेबाट बाहिरिएका थिए प्रसाई

durga prasai arajakta

काठमाडौं । काठमाडौंमा आज भएको आगजनी, तोडफोड र लुटपाटको घटनामा मुख्य जिम्मेवार ठहर गर्दै दुर्गा प्रसाईंलाई पक्राउ गर्न सरकारले आदेश दिएको छ ।

राजसंस्थापक्षधरको आन्दोलन भड्किनुमा आन्दोलनका कमान्डर दुर्गा प्रसाईंकै कारण कार्यक्रम बिथोलिएको देखिन्छ । तीनकुनेमा राजसंस्थापक्षधरहरू भेला नहुँदै उनी गाडी लिएरै प्रहरीको घेरा तोड्न आफैँ हिँडे ।

प्रसाईंले प्रहरीको भिडलाई पेलेर गाडी हुइँक्याए । तीनकुनेदेखि नै प्रसाईंले गाडी हुइँक्याउँदै आएका थिए। गाडी प्रसाईंले नै चलाएका थिए भने गाडीको पछाडी प्रदर्शनकारीहरू बसेका थिए।

निषेधित घेरा तोडेर बानेश्वरतिर अघि बढ्न खोजेपछि प्रहरीले उनको गाडी रोकेको थियो। गाडी केहीबेर रोकियो तर त्यसपछि प्रहरीलाई पेलेर अघि बढ्यो।

अलि अगाडि फेरि अर्को प्रहरीको घेरा थियो। त्यसलाई पनि प्रसाईंले पेलेर अघि हुइँकेर गएका थिए। प्रदर्शनकारीहरू पनि प्रसाईंसँगै अघि बढ्न खोजेपछि प्रहरीले अश्रुग्यास हानेको थियो।

राजसंस्था पुनःस्थापनाका लागि बनेको संयुक्त जनआन्दोलन समितिका संयोजक ८६ वर्षीष नवराज सुवेदी र सदस्यसचिव एवं राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र अश्रुग्यासबाट अत्तालिएर मञ्च छोडेर हिँडिसकेका थिए ।

आफैँले नेतृत्व गरेको प्रदर्शनलाई प्रसाईंले किन आफैँले भड्काउन खोजे ? शुक्रबारको प्रदर्शनमा अपेक्षाकृत जनसहभागिता नभएपछि उनी सुरुदेखि नै असन्तुष्ट थिए । राप्रपा र राप्रपा नेपालले साथ दिने भने पनि साथ नपाएको उनको गुनासो थियो । त्यसैले शान्तिपूर्ण प्रदर्शन र सभामा भाषण गर्नुभन्दा सुरक्षा घेरा तोडेर आन्दोलन भड्काउनुमै उनले फाइदा देखेको हुन सक्ने धेरैको विश्लेषण छ ।

आन्दोलन भड्काएर हिंसात्मक बनाएपछि प्रसाईंले सुटुक्क गाडी चढेर तीनकुने छाडे । तर, त्यसपछि पनि तीनकुने वरपर झडप र तोडफोड रोकिएन । ट्राफिक बिट भत्काइयो । कोटेश्वरको भाटभटेनीदेखि पेरिसडाँडास्थित माओवादी केन्द्रको कार्यालय र शान्तिनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भए, आगजनीका कोसिस भए । अराजक समूहले योजनाबद्ध रुपमा तोडफोड र आगजनी गर्न थालेपछि स्थानीय प्रशासनले राति १० बजेसम्मका लागि तीनकुने र आसपासका क्षेत्रमा निषेधाज्ञा कर्फ्यु लागू गरेको छ । कार्यक्रमस्थल छाडेर हिँडेका प्रसाईंले लगत्तै सामाजिक सञ्जालबाट भने व्यक्तिगत सम्पत्तिमा क्षति नपुर्‍याउन आह्वान गरेका थिए ।

दुर्गा प्रसाईंले गाडी चलाएर प्रहरी मार्न खोजे: गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले दुर्गा प्रसाईंले आफैले गाडी चलाएर प्रहरीलाई मार्न खोजेको बताएका छन्।

मन्त्री लेखकले निजी सम्पत्ति आगजनी गर्ने र मिडिया हाउसमा आक्रमण गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने बताएका छन्। मन्त्री लेखकले राजावादीको आन्दोलनमा प्रहरीले संयमता र धैर्यता अपनाएको उल्लेख गरे। तर उदण्डताको अगाडि केही नलागेको उनले बताए।

प्रसाईंलाई पक्राउ गर्न प्रहरी खटियो

घटनामा मुख्य जिम्मेवार ठहर गर्दै दुर्गा प्रसाईंलाई पक्राउ गर्न सरकारले आदेश दिएको छ ।

भिडलाई उक्साएर अराजकता मच्चाएपछि प्रसाईं तीनकुनेबाट अपराह्न अबेर बाहिरिएका थिए । उनीविरुद्ध आजै यौनिक अल्पसंख्यक सुनिलबाबु पन्तले पनि साइबर अपराधमा उजुरी दर्ता गराएका छन् ।

प्रसाईंलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले बताए ।

प्रहरीले आन्दोलनको अघिल्लो दिन केही व्यक्तिमाझ दुर्गा प्रसाईले आन्दोलनमा दमन गर्ने अवस्था ल्याउँने र एक दुई जना मान्छे मरेपछि नेताहरुका घर र पार्टी कार्यालयमा छिर्ने योजना बनाएको भिडिओ समेत भेटेपछि उनलाई पक्राउ गर्न लागिएको हो । सोहि योजना अनुसार नै आज घटना भएको देखिएको छ ।

सरकारले पूर्वराजा र दुर्गा प्रसाईंलाई आजको तोडफोड, आगजनी र लुटपाटपमा जिम्मेवार ठहर गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ