दीपक थापा ३१ औं आईजीपी बन्ने सम्भावना बलियो

नियुक्ति

दीपक थापा ३१ औं आईजीपी बन्ने सम्भावना बलियो

बहालवाला आईजीपी कुँवर अनिवार्य अवकाशमा जाँदै

IG deepak thapa

बहालवाला नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर सोमबार (राति १२ बजेसम्म)बाट अनिवार्य अवकाशमा जाँदैछन् ।

सरकारले आईजीपी नियुक्तिका लागि गृहकार्य शुरू गरेको छ । ७९ हजार बढी फौजलाई ‘कमान्ड’ गर्ने प्रहरी नेतृत्वमा पुग्न ३ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरू क्रमशः दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ दौडधूप गरिरहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख तथा एआईजी कार्यरत थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी)का प्रमुख तथा एआईजी गिरी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा एआईजी तामाङ आईजीपीको प्रतिस्पर्धामा छन् ।

अहिले आईजीपीको प्रतिस्पर्धामा रहेका तीनै जना हालका आईजीपी कुँवरकै ब्याचको वैकल्पिक टोलीका रुपमा ११ भदौ २०५२ मा प्रहरी सेवामा प्रवेश गरेका थिए । यी एआईजीमध्ये थापा वरिष्ठतामा अगाडि छन् ।

२६ फागुन २०७९ मा एआईजीमा सिफारिस भएका दीपक थापालाई ६ चैत २०७९ को मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गरेको थियो ।

थापा एआईजी भएको दुई सातापछि गिरी र तामाङ पनि एआईजीमा बढुवा भएका थिए । १३ चैतमा सुदीप गिरी र टेकबहादुर तामाङ एआईजी बढुवाको लागि सिफारिस भएका थिए ।  गिरी र तामाङ २०७९ चैत २४ एआईजीमा बढुवा भएका हुन् ।

 थापा फिल्ड कमान्ड र अपरेसनमा अनुभवी अधिकृतको रुपमा चिनिन्छन् । गिरीसँग आतंकवाद तथा विशेष प्रकृतिका घटनाहरूको अनुसन्धान गर्ने विशेष ब्यूरोको एक दशक बढी लामो अनुभव  छ । इन्स्पेक्टर बेसिकको गिरी अलरान्ड फस्ट पनि हुन् । गिरी सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश केदार गिरीका छोरा हुन् ।

तामाङ प्रहरी एकेडेमी र अख्तियारका अनुभवी अधिकृत मानिन्छन् । तामाङ पूर्वडीआईजी देवीलाल तामाङका ज्वाईं हुन् ।

दीपक थापा नै नेपाल प्रहरीको ३१ औं महानिरीक्षक बन्ने लगभग पक्का भएको छ । रातभरिमा कुनै नाटकीय परिवर्तन नभए थापा नेपाल प्रहरीको नेतृत्वमा पुग्ने निश्चित भएको बताइन्छ ।

सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले थापालाई महानिरीक्षक नियुक्त गर्ने लगभग पक्का छ । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले प्रहरीको महानिरीक्षक नियुक्त गर्छ ।

मौजुदा प्रहरी नियमावली, २०७१ को नियम ४१ अनुसार आईजीपी नियुक्तिको अधिकार नेपाल सरकारलाई छ । नियमावलीमा भनिएको छ, ‘एआईजीहरूमध्येबाट र एआईजी नभएको अवस्थामा डीआईजीमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई आईजीपी पदमा बढुवा गर्नेछ ।’

नियमावलीले प्रस्टरूपमा एआईजीमध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमतालाई महत्त्वपूर्ण मानेकाले थापा नै निर्विकल्प आईजीपीका दाबेदार हुन् ।

यही नियमावली विद्यमान रहेको अवस्थामा यी तीन जनामध्ये जो आईजी भए पनि ११ भदौसम्म कमान्ड सम्हालेछन् । त्यसपछि उनीहरू पनि ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानेछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ