नेपाल प्रदूषित हावा हुने देशहरूको सूचीमा सातौं नम्बरमा

नेपाल प्रदूषित हावा हुने देशहरूको सूचीमा सातौं नम्बरमा

pradusan

पोखरा । नेपाल प्रदूषित हावा हुने देशहरूको सूचीमा सातौं नम्बरमा परेको छ ।

विश्वभर हावाको गुणस्तर अनुगमन गर्ने संस्था आईक्यू एअरले प्रकाशन गरेको प्रतिवेदन अनुसार सन् २०२४ मा प्रदूषित देशहरूको सूचीमा नेपाल सातौं नम्बरमा परेको हो । यो सूचीमा नेपाल सन् २०२३ मा आठौं र २०२२ मा १६औं नम्बरमा थियो ।

आईक्यू एअरको तथ्याङ्क अनुसार सन् २०२४ मा नेपालको हावामा आँखाले नदेखिने धूलोको कण पीएम २ दशमलव ५ सरदरमा ४२ दशमलव ८ माइक्रोग्राम प्रतिघनमिटर देखिएको छ । यो मात्रा सन् २०२३ मा ४२ दशमलव ४ माइक्रोग्राम र सन् २०२२ मा ४० दशमलव १ माइक्रोग्राम प्रतिघनमिटर थियो । यो स्वस्थ हावाको तुलनामा आठ गुणाभन्दा धेरै प्रदूषित हो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को मापदण्ड अनुसार हावामा पीएम २.५ को मात्रा वार्षिक औसतमा ५ माइक्रोग्राम घनमिटरभन्दा बढी हुन हुँदैन ।

आईक्यू एअरले सन् २०२४ मा विश्वका १ सय ३८ देशको हावाको गुणस्तर मापन गर्ने पीएम २.५ भनिने धूलोको कणको तथ्याङ्कका आधारमा प्रतिवेदन तयार पारेको जनाएको छ । धेरै प्रदूषण रहेका देशको सूचीको पहिलो नम्बरमा अफ्रिकी देश चाड परेको छ । यस्तै दोस्रोमा बङ्गलादेश, तेस्रोमा पाकिस्तान, चौथोमा कङ्गो र पाँचौंमा भारत परेका छन् ।

यस्तै विश्वका सफा देशको तुलनामा नेपालीले श्वास फेर्ने हावा १३ गुणा धेरै प्रदूषित छ । सन् २०२४ मा हावा सर्वाधिक स्वच्छ रहेका १२ देश तथा क्षेत्रको पीएम २.५ को मात्रा सरदरमा ३ दशमलव २५ माइक्रोग्राम प्रतिघनमिटर मात्र छ । सफा हावा भएका देश तथा क्षेत्रमा बहमास, बर्मुडा, फ्रेन्च पोलिनेसिया, यूएस भर्जिन आइल्यान्ड्स, न्युजिल्यान्ड, अस्ट्रेलिया लगायत छन् ।

प्रदूषित हावाकै कारण नेपालीको आयु औसतमा ३ वर्ष ३ महिनाले घटिरहेको पनि आईक्यू एअरको प्रतिवेदनमा उल्लेख छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ