पर्यटकीय राजधानी पोखरामा बिहीबारदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ सुरु हुँदै छ । बुकवर्म फाउन्डेसनको आयोजनामा हुन लागेको बाह्रौं संस्करणको फेस्टिभल फेवाताल किनारको बाराही घाट मैदानमा फागुन १८ सम्म चल्ने छ ।
‘साहित्यको कुम्भमेला’ मानिने फेस्टिभलको उद्घाटन समारोह बिहान ११ बजे हुने आयोजकले जनाएको छ । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले फेस्टिभलको उद्घाटन गर्नेछन् । संवाद सत्रहरू भने दिउँसो एक बजेदेखि सुरू हुनेछ ।
सत्र सुरू हुनुअघि प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाको विद्वत्प्रवचन रहने फेस्टिभलका निर्देशक निरज भारीले जानकारी दिए । उनी इन्दिरा गान्धी ओपेन यूनिभर्सिटीको प्रो–उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपति हुन् । उनी भारतको राष्ट्रिय केन्द्रीय विश्वविद्यालयको सबैभन्दा कान्छा उपकुलपति समेत बनेका थिए । उद्घाटन समारोहमा अनिल शाही र समूहको विशेष सांगीतिक प्रस्तुति पनि हुनेछ ।
उद्घाटन समारोहपछि दिउँसो १ बजेदेखि भूपी कक्षमा अध्यात्म र संघर्षमाथि ‘अलि अलि हार हो, अलि अलि जित जित !’ सत्रमा अभिनेत्री मनीषा कोइराला र लेखक एवम् पत्रकार विजय कुमारको संवाद हुनेछ । त्यसपछि दिउँसो २ बजेदेखि ३ बजेसम्म ‘स्मृतिमा भूमी’ सत्रमा कान्ति शेरचन र कविता शेरचनसँग वसन्त थापाले संवाद गर्नेछन् । अलिमियाँ कक्षमा दिउँसो २ बजेदेखि ३ बजेसम्म सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङसँग विजय तिमल्सिनाले सञ्चार क्षेत्रमाथि केन्द्रीत संवाद गर्ने भारीले जानकारी दिए ।
भूपी कक्षमा दिउँसो ३ बजेदेखि ४ बजेसम्म मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भरत कोइरालाले प्रदेश सरकारका गतिविधि, अवसर र चुनौतीलगायत विषयमा संवाद गर्ने आयोजकले जनाएको छ । सोही समयमा अलिमियाँ कक्षमा ‘रैथाने ज्ञानको विज्ञान’ सत्रमा सीता मादेम्बाले सुभाष नेपाली, गीता चौधरी र सुरेश ढकालसँग संवाद गर्ने फेस्टिभलका कार्यकारी निर्देशक अजित बरालले जानकारी दिए ।
भूपी कक्षमा दिउँसो ४ बजेदेखि ५ बजेसम्म नेकपा (एमाले) नेता एवं गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिका सुःख–दुःख सुनाउने छन् । उक्त सत्रको सहजकर्ता निर्मला शर्मा रहेकी छन् । अलिमियाँ कक्षमा सोही समयमा केशवशरण लामिछानेले प्रेम र साहित्यमाथि केन्द्रीत रहेर भावेश भुमरी र प्रणिता चाम्लिङसँग संवाद गर्नेछन् ।
भूपी कक्षमा साँझ ५ बजेदेखि ६ बजेसम्म ओमविक्रम विष्टको सांगीतिक प्रस्तुति रहने छ । त्यस्तै अलिमियाँ कक्षमा गौरी तमुले प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापासहित विष्णु सिञ्जाली र जुनाकुमारी गुरूङसँग गण्डकीका गुरूङ र मगर भाषाको विषयमा संवाद गर्नेछिन् ।
कलाकार लोक चित्रकारको पौभा चित्रकला प्रदर्शनी फेस्टिभलको मुख्य आकर्षण रहेको आयोजक समितिका सदस्य केशवशरण लामिछानेले जानकारी दिए । फेस्टिभलमा छुट लिएर स्टलबाट पुस्तक पनि खरिद गर्न सकिने छ ।
यसपटक फेस्टिभलमा देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ । त्यस्तै ५० भन्दा बढी छलफल सत्र, अन्तक्र्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम पनि समावेश छन् ।
एनसेल फाउन्डेसन प्रमुख प्रस्तुतकर्ता रहेको फेस्टिभललाई बुध्द एयरले संवद्र्धन गरेको छ । पोखरा महानगरपालिका प्रवद्र्धक रहेको फेस्टिभलमा गण्डकी प्रदेश सरकार सहप्रवद्र्धक छ । त्यस्तै उप–प्रवद्र्धकका रूपमा नेपाल पर्यटन बोर्ड, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकले आयोजकलाई साथ दिएका छन् ।
फेस्टिभलमा साहित्यसँग जोडिएका सामाजिक, राजनीति, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुनेछ । परम्परागत धुन र लयहरूलाई समकालीन परिवेश सुहाउँदो स्वरूप दिने सांगीतिक समूह ‘सोनागी ब्लुज’ले पनि फेस्टिभलमा प्रस्तुति दिनेछ । काठमाडौँ विश्वविद्यालयको संगीत विभागका विद्यार्थीहरूको सामूहिक परियोजनाका रूपमा सुरू भएको यस ब्यान्डको संगीतमा नेपाली लोक, रक र भारतीय शास्त्रीय संगीतको समिश्रण सुन्न सकिन्छ ।
फेस्टिभलको यो संस्करणमा दुई फरक पुस्ताका लेखकको पुस्तकमाथि विमर्श हुनेछ । अग्रज वामपन्थी नेता एवम् नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित उपन्यास ‘कामरेड जलजला’माथि विमर्श हुने र ६ वर्षीय भूमिलक्ष्मी पराजुलीको ‘मरमेड, ह्वेल एन्ड प्रिन्सेस’ नामक चित्रकथा पुस्तक सार्वजनिक गरिने फेस्टिभलका निर्देशक अजित बरालले जानकारी दिए । ८९ वर्षीय सिंहको एक हजार ३२० पृष्ठको उपन्यास नेपालमा प्रकाशित सबैभन्दा ठूलो पुस्तक भएको बताइन्छ । फेस्टिभलले उपलब्ध गराएको मञ्च नयाँ पुस्ताका लेखक तथा विचारकहरू तयार पार्ने माध्यम बन्ने आयोकजक बुकवर्मको अपेक्षा छ ।
सम्बन्धित खबर
आत्मिक जागरणले मानवलाई समृद्धितर्फ उन्मुख गराउँछः प्रदेश प्रमुख भट्ट
फेवाताल किनारमा भोलिदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’
नवग्रह मन्दिर अनुष्ठान तथा धार्मिक महोत्सव सम्पन्न
अर्जुनचौपारीमा नवग्रह भजनको भिडियो छायांकन गरियो
म्याग्दीमा भक्तजन सवार गाडी दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना गम्भीर
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु