नेपालमै पहिलोपटक निर्माण भएको नवग्रह मन्दिरको अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव सम्पन्न भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका – १ जलबराह धार्मिक वनमा निर्माण भएको नेपालकै पहिलो नवग्रह मन्दिरको अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा एक लाख २५ हजार भन्दा बढी भक्तजनले पूजाआजा तथा दर्शन गरेका छन् ।
१४४ बर्षमा आएको महाकुम्भको समयमा फागुन ६ गतेबाट नौ दिन महाशिवरात्रीसम्म धार्मिक महोत्सव गरिएको हो । पहिलो दिनबाटै भक्तजनको भीड लागेको नवग्रह मन्दिरमा दैनिक जसो लाइनमा बसेर भक्तजनले पूजा तथा दर्शन गर्नु परेको थियो । धार्मिक महोत्सवमा छिमेकी देश भारत, नेपालभित्रका सबै जिल्लाका भक्तजनले यहाँको नवग्रह मन्दिरमा पूजाआजा र दर्शन गरेको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए ।
महोत्सवमा एक लाख भक्तजन भित्रने अनुमान गरिएकोमा सो भन्दा धेरै भक्तजनले पूजाआजा गरेको तिवारीले जानकारी दिए । महोत्सवमा एक करोड २५ लाख दीप प्रज्वलन, चार बेदको पाठ पारायण, गायत्री मन्त्रद्धारा सवालाख हवन, धार्मिक अन्तरक्रिया, सन्ध्याकालिन महाआरती तथा भजनकृतन गरिएको थियो ।
नवग्रह मन्दिर अनुष्ठान एवं धार्मिक महोत्सवमा आचार्य श्री चैतन्य कृष्ण महाराज गूरु प्रमुख वाचक रहेका थिए भने डाक्टर केएन स्वामी, युवा पण्डित प्रशान्त ढकालले समेत धार्मिक प्रवचन दिएका थिए ।
१५७ रोपनी क्षेत्रफलमा फैलिएको यस धार्मिक वनमा नवभूज आकारको आकाशतर्फ फर्केको २७ फिट अग्लो नवग्रह मन्दिर बनाइएको छ ।
महोत्सवको समापनमा संघीय सांसद राजु थापाले नवग्रह मन्दिर देशकै धार्मिक पर्यटनको पहिचान बनेको बताएका थिए । यसलाई प्रदेश र संघीय सरकारले सहयोग गर्नुपर्ने र पवित्र भूमिमा विश्वब्यापी रुपमा प्रचार गर्न सरकार लाग्नुपर्ने थापाको भनाई थियो ।
थापाले यस मन्दिरमा नसोचेको श्रद्धालु भक्तजन आएको र समग्र जिल्लाको धार्मिक पर्यटकको नयाँ आयाम थपेको बताए । विज्ञान र धर्मलाई जोडेर नवग्रह बनेको र भावी दिनमा विद्यार्थीको अध्यनको माध्यम बन्ने थापाले बताए ।
यहाँको शैक्षिक, धार्मिक तथा पूर्वाधार निर्माणमा सहयोग गर्ने बताउँदै सांसद थापाले यसलाई अगाडि बढाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।
महोत्सवको समापनमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्य, गाउँपालिका अध्यक्ष प्रकाश तिवारी, उपाध्यक्ष सपना गुरुङ लगायतले मन्तब्य राखेका थिए ।
महोत्सवको अन्तिम दिन महाशिवरात्रीमा गायक टेक नारायण चापागाईं र गायिका देवी घर्ती मगरको स्वरमा रहेको नवग्रह भजन ‘नवग्रह तिम्रै चरणमा छौं, तिम्रै सरण पर्छौँ’ बोलको गीतको भिडियो छायांकन समेत गरिएको थियो ।
सम्बन्धित खबर
नवग्रह मन्दिर अनुष्ठान तथा धार्मिक महोत्सव सम्पन्न
आज महाशिवरात्रिः भगवान् शिवको पूजा–आराधना गरी मनाइँदै
नवग्रह मन्दिरमा एक करोड २५ लाख दीप प्रज्वलन गरियो
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
धर्म, अध्यात्म र साधना असल संस्कार र संस्कृतिका निर्माताः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु