पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान

पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान

anfsu 4

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आगामी ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने कार्यतालिका छ । विभिन्न विद्यार्थी संगठन र स्वतन्त्र ढंगले विद्यार्थीहरू आन्तरिक तयारीमा जुटेका छन् ।

नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुले पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको तयारी स्वरूप विद्यार्थीहरूलाई मतदान अभ्यास गराएको छ । मंगलबार क्याम्पस गेटमा अनेरास्ववियु व्यवस्थापन संकाय कमिटी पृथ्वीनारायण क्याम्पसले स्ववियु नमुना मतदान कार्यक्रम गरेको हो ।

बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म प्रत्यक्ष र समानुपातिकतर्फको स्ववियु मतदान तरिकाबारे जानकारी गराइएको थियो । क्याम्पसमा अध्ययनरत करिब १ हजार ३ सय जना विद्यार्थी नमुना मतदानमा सहभागी भएको आयोजक अनेरास्ववियु व्यवस्थापन संकाय अध्यक्ष कुशल रेग्मीले जानकारी दिए ।

२०७३, २०७९ सालमा हुन नसकेको स्ववियु यसपटक जसरी पनि हुनुपर्ने पक्षमा आफूहरू रहेको अनेरास्ववियु क्याम्पस कमिटी संयोजक विराट दुवाडीले बताए । स्ववियु गराउनुपर्छ भन्ने दबाब दिन र विद्यार्थीलाई मतदान प्रक्रियाबारे जानकारी गराउन नमुना मतदान कार्यक्रम गरिएको संयोजक दुवाडीले बताए । ‘कति विद्यार्थीलाई स्ववियु के हो भन्ने थाहा नहुन सक्छ, यसमा भाग किन लिने भन्ने थाहा हुँदैन । त्यही बुझाउन हामीले नमुना मतदान गरेका हौं,’ उनले भने ।

त्रिविअन्तर्गत देशकै ठूलो आङ्गिक क्याम्पस पृथ्वीनारायणमा २०६५ सालपछि स्ववियु निर्वाचन हुन सकेको छैन । स्ववियु विद्यार्थीको हकहितका लागि बोल्ने साझा संस्था भएको र यसको निर्वाचनमा कसैले पनि अवरोध गर्न नहुने संयोजक दुवाडीले बताए । कति विद्यार्थीले स्ववियु निर्वाचन गराउन दबाब दिन हस्ताक्षर अभियान चलाउन सुझाव पनि दिएको संयोजक दुवाडीले सुनाए ।

नमुना मतदानको निरीक्षणमा अनेरास्ववियु केन्द्रीय महासचिव नरेश रोकाया, स्थायी कमिटी सदस्य विजय पौडेल, केन्द्रीय सदस्य अनुप लामिछाने, विष्णु पोखरेल, विनय पराजुली, अनेरास्ववियु जिल्ला अध्यक्ष सन्तोष पोखरेललगायत पुगेका थिए ।
महासचिव रोकायाले पृथ्वीनारायण क्याम्पस आन्दोलनको उर्वर भूमि भएकाले त्यो विरासतलाई जोगाउनुपर्ने बताए । उनले पीएन क्याम्पसमा अनेरास्ववियुले हार्न नजानेको र अबको स्ववियु निर्वाचनमा पनि हार्ने छुट नभएको बताए । सोमबार पोखरा आएका रोकाया अनेरास्ववियुका कास्कीमा उपलब्ध विद्यार्थी नेताहरूसँग स्ववियु निर्वाचन केन्द्रीत भेलामा पनि सहभागी भएका थिए ।

अनेरास्ववियु केन्द्रीय सदस्य विष्णु पोखरेलले स्ववियु निर्वाचन हुने वातावरण बनाउनुपर्ने पक्षमा आफूहरू रहेको सुनाए । उनले स्ववियु निर्वाचन हुन नदिने गतिविधिमा संलग्न नहुन अन्य विद्यार्थी संगठन र क्याम्पसलाई आग्रह गरे । ‘१६ वर्षदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । कति प्रशासनिक काममा समस्या देखिएको छ । क्याम्पसको गरिमा घटेको छ । विद्यार्थी अभिभावकविहीन हुन परेको छ,’ उनले भने, ‘योपटक निर्वाचन गरिनुपर्छ भन्नेमा सबै सकारात्मक छौं ।’

स्ववियु निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको छ । दुवै तर्फको उम्मेदवारको अन्तिम नामावली २९ फागुनमा सार्वजनिक गरिने छ । ५ चैतमा बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म मतदान हुने कार्यतालिका छ । पृथ्वीनारायण क्याम्पसमा करिब १२ हजार ५ सय मतदाता रहने अनुमान छ । मतदाता नामावली प्रकाशन भएपछि यो संख्या यकीन हुनेछ ।

पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भएकाहरू नेपाली राजनीतिमा स्थापित भएको विगत छ । त्यसैले पनि यो क्याम्पसमा स्ववियु सभापति हुन निकै प्रतिस्पर्धा हुने गरेको छ । पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भएका कास्कीका सोमनाथ अधिकारी प्रदेश प्रमुख, खगराज अधिकारी संघ सरकारको मन्त्री र गण्डकीको मुख्यमन्त्री भइसकेका छन् । पर्वतका पदम गिरी संघ सरकारको मन्त्री भए । कास्कीका राजीव पहारी २०७४ सालको निर्वाचनमा गण्डकी प्रदेश सभा सदस्य निर्वाचित भए । अर्का सभापति कास्कीका धनराज आचार्य हाल पोखरा महानगरपालिकाको मेयर छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ