प्रथम वालिङ् सिटि महोत्सव हुने

प्रथम वालिङ् सिटि महोत्सव हुने

press meet waling city mahotsav

वालिङ्मा ‘प्रथम वालिङ् सिटि महोत्सव – २०८१’ हुने भएको छ । वालिङ् चेम्बर अफ कमर्सले आगामी फागुन ९ देखि १८ गतेसम्म महोत्सव गर्ने भएको हो ।

कमर्सले बुधबार पत्रकार सम्मेलन गरी महोत्सवको मिति सार्वजनिक गर्दै यसका बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा वालिङ् चेम्बर अफ कमर्सका अध्यक्ष एवं महोत्सव मूल समारोह समितिका संयोजक प्रकाश न्यौपाने (किरण) ले ‘वालिङ्को सान, कृषि, खेलकुद, संस्कृति पर्यटन तथा औद्योगिक विकास हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ वालिङ् खेलमैदानमा महोत्सवको आयोजना गरिएको जानकारी दिए ।

उक्त महोत्सवमा स्थानीय तथा स्वदेशी कृषि, खेलकुद, संस्कृति, पर्यटन, औद्योगिक उत्पादनको प्रवर्द्धन एवं संस्कृतिको जगेर्ना हुने अपेक्षा रहेको संयोजक न्यौपानेले बताए । वालिङको सभ्यता र यहाँ हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरुले विशिष्ट पहिचान बनाउँदै यस महोत्सव नेपालकै उत्कृष्ट महोत्सवको रुपमा स्थापित गर्न हर तवरले लागि पर्ने संयोजक न्यौपानेले जानकारी दिए ।

संयोजक न्यौपानेले वालिङ नगरपालिकाको समग्र आर्थिक तथा सामाजिक उत्थान, आन्तरिक बजार सवलीकरणका लागि व्यवसायीक उत्पादन तथा निकासी योग्य वस्तुमा महोत्सवले जोड दिने बताए ।

महोत्सवले वालिङको सभ्यता र यसको ऐतिहासिक महत्त्वको बारेमा जानकारी दिने र प्रचार प्रसार गर्ने उदेश्यले नेपाल चेम्बर अफ कमर्स र वालिङ् चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा तथा विभिन्न संघसंगठनको सहयोग र सहभागितामा आयोजित महोत्सवबाट आम्दानी रकमलाई सामाजिक उत्तरदायित्व अन्तर्गत समाजसेवा लगायतमा खर्च गर्ने संयोजक न्यौपानेले बताए ।

उक्त महोत्सवले मुलुकका विभिन्न प्रदेशको स्थानीय स्तरमा उत्पादित ग्रामिण प्रविधिको प्रयोग गर्ने, उत्पादित वस्तुको बजार प्रवर्द्धनका साथै एकै थलोमा भेला गराई सो को पहिचान गराउने र वस्तु सेवाहरु उपभोक्तासम्म पुर्याउने जमर्को गर्ने संस्थाका महासचिव गणेश राउतले जानकारी गराए ।

उनले महोत्सवले कृषिजन्य लघु, घरेलु तथा साना उद्योगहरु प्रवर्द्धन गर्न आवश्यक ज्ञान, उद्यमशिलता र प्रविधि हस्तान्तरण गर्न सहयोग पुर्याउने र स्वदेशी तथा विदेशी बजार प्रवर्द्धनमा सहयोग पुर्याउने, स्थानीय, राष्ट्रिय तथा छिमेकी मुलकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुका साथै कृषिजन्य तथा हस्तकलाका सामानहरु जनसमक्ष परिचित गराई व्यवसाय विस्तार एवं प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास लिएको बताए ।

महोत्सवले प्रादेशिक रुपमा नयाँ प्रविधि तथा सिपको प्रदर्शनी तथा हस्तान्तरणमा सहयोग पुर्याउने, आन्तरिक एवं वाह्य पर्यटक प्रवर्द्धन गर्ने, साहित्य, कला र संस्कृतिका प्रचार प्रसार तथा बजारीकरण गर्ने, शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रको विकास तथा अवसरको खोजी गर्ने कुरामा महासचिव राउतले जोड दिएका थिए ।

सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदीप कोइराला, पत्रकार अर्जुन काफ्ले, रोशन लामिछाने, सुशील सुवेदी, कला राना, केपी खनाल, लगायतले आयोजित महोत्सवलाई सफल बनाउन सबैले आ – आफ्नो स्थानबाट लागि पर्नुपर्ने बताए । उक्त सम्मेलनमा पत्रकारहरुले महोत्सव सफल पार्न विशेष भूमिका दर्शकहरुकै रहने हुँदा महोत्सवमा दर्शकहरुलाई सहज व्यवस्थापन हुनुपर्नेमा जोड दिँदै सल्लाह, सुझाव तथा गुनासो राखेका थिए ।

उक्त महोत्सवमा कृषि प्रदर्शनी, खेलकुद, स्थानीय कला संस्कृति, शैक्षिक प्रदर्शनी, पशुपंक्षी प्रदर्शनी, जैविक विविधता प्रदर्शनी, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, पर्यटकीय तथा धार्मिक क्षेत्रको फोटो प्रदर्शनी, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, विभिन्न उद्योगबाट उत्पादित दैनिक उपभोग्य एवं खाद्यान्न सामान, कस्मेटिक तथा श्रृंगारका सामान, फेन्सी एवं कपडा, फर्निचर, विद्युतीय उपकरणहरु, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, सूचना प्रविधि तथा सञ्चार, बैंक तथा वित्तिय संस्था, हस्तकलाका सामान, अटोमोबाईल, स्टेशनरी, भान्छामा प्रयोग हुने मालसामान, छालाका जुत्ता तथा ज्याकेट, पशुपंक्षी एवं डेरीजन्य पदार्थ लगायत विभिन्न संघ संस्था एवं कार्यालयका क्रियाकलाप एवं यस प्रदेशका गतिविधिहरु प्रस्तुत गरिने राउतले बताए ।

यस महोत्सवले समग्रमा वालिङ्को आर्थिक तथा पर्यटकीय सम्भावनालाई थप उजागर गर्ने आयोजकको दाबी छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds