टाइगर कप भलिबल हेर्न अनलाइन टिकट व्यवस्था, थाइल्याण्ड र श्रीलंका टीम खेल्दै

भलिबल

टाइगर कप भलिबल हेर्न अनलाइन टिकट व्यवस्था, थाइल्याण्ड र श्रीलंका टीम खेल्दै

२ हजार सिट क्षमताको प्यारापिट हुने

tiger cup press meet

पोखरा । पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता माघ १२ देखि १९ गतेसम्म पोखरा रंगशालामा हुँदैछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा दुई विदेशीसहित ६–६ टोलीले भाग लिनेछन् ।

यो संस्करणमा विदेशी टोलीको रुपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्ड र पुरुषतर्फ श्रीलंकन आर्मी भलिबल टिम सहभागी छन् । पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब सहभागिता जनाएका छन् ।

महिलातर्फ सहभागी हुने टोलीमा नेपाल एपीएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल छन् ।

यसपाली आयोजकले छुट्टै महिला टिम सहभागी बनाएको छ । पुरुषतर्फ गण्डकी र महिलातर्फ आयोजक टोलीमा ३–३ विदेशी खेलाडी समावेश गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा विभागीयबाहेक अन्य टोलीले पनि विदेशी खेलाडीलाई अनुबन्ध गर्ने भएकाले प्रतियोगिता झनै रोमाञ्चक हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । प्रतियोगिताको फम्र्याटसमेत नयाँ रोमाञ्चक खालको बनाउन लागिएको संयोजक ज्ञवालीले बताए ।

पाँचौं संस्करणमा पुरुष र महिला दुवैतर्फको विजेताले समान ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई समान २ लाख ८५ हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । तृतीय हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने प्रतियोगिता संयोजक ज्ञवालीले जानकारी दिए ।

प्रतियोगितालाई डिजिटल प्रविधिमैत्री बनाउँदै एलईडी स्क्रिन डिजिटल बोर्डको व्यवस्था गरिएको ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरकै बनाउने प्रयास भइरहेको उनको भनाइ छ । प्रतियोगिताका खेलहरु एक्सन स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुनेछ ।

प्रतियोगिता पाचौं संस्करणसम्म आईपुग्दा विदेशी टिमहरुले भाग लिनु नेपाली भलिबल प्रेमीका लागि सुखद भएको अध्यक्ष शर्माले बताए ।

प्रतियोगिताबाट बचत भएको रकम विगतमा जस्तै स्वास्थ्य, खेलकुद, शिक्षा, सामाजिक क्षेत्रमा खर्च गर्ने आयोजकको तयारी छ । प्रतियोगिताका लागि प्यारापिट, कोर्ट बनाउने काम भइरहेको अध्यक्ष शर्माले बताए ।

२ हजार सिट क्षमताको प्यारापिट हुने

पाँचौँ टाइगर कप भलिबलमा दर्शक क्षमता बढाएर २ हजार पु¥याएको छ । यसअघि दर्शकको चाप धेरै हुने गरेकाले यसपालि दर्शक क्षमता बढाइएको प्रतियोगिताको संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । अघिल्ला संरकणमा दर्शकको चापलाई मध्यनजर गर्दै दर्शक क्षमता बढाइएको उनको भनाइ छ ।

अनलाइनबाट टिकट 

यस संस्करणमा अनलाइनबाट टिकट काट्न पाउने व्यवस्था गरिएको छ । खेल हेर्नका लागि इसेवामार्फत अनलाइनबाट काट्न सकिनेछ ।

‘यसपाली अनलाइनबाटै टिकट काट्ने व्यवस्था गरेका छौं । यदि काटेर पनि सिट नहुने स्थिति नबनोस् भनेर अनलाइनबाट टिकट काट्नेका लागि छुट्टै सिटको व्यवस्था गरिएको छ,’ उनले भने ।

प्रतियोगितामा टिकट काटी प्रवेश गर्ने दर्शकमध्येबाट गोलाप्रथाबाट एकजनालाई एउटा टिसर्ट र फाइलनमा एकजनालाई एउटा सामसुङ मोबाइल प्रदान गरिने आयोजकले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds