काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले समाजलाई विभाजित हुने किसिमका अभिव्यक्तिहरु राजनीतिक नेतृत्वले दिनु नहुने बताएका छनु ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेताहरुको अभिव्यक्ति, व्यवहार र कार्यशैली समाजलाई विभाजित गर्ने परिस्थितितर्फ उन्मुख भएको बताए । उनले राजनीतिक नेतृत्वले समाजमा जहिले पनि सकारात्मक सन्देश संप्रेषण गर्न जरुरी रहेको बताए ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै उनले भविष्यमा कतै भेटै नहुनेगरी अभिव्यक्ति नदिन आग्रह गरे । उनले भने पदहरु अस्थायी रहेकाले सहिष्णुता कायम गर्ने र मुलुक र जनतालाई केन्द्रमा राखेर अघि बढ्ने कुरा नै स्थायी हुने उल्लेख गरे ।
‘संसदीय राजनीतिमा हामी त नर्सरीका विद्यार्थी हौँ । तर, यसो कैलेकाही हेर्छौँ नेताहरूको अभिव्यक्तिहरू, नेताले गरेका व्यवहारहरू, कार्यशैलीहरू । त्यसले कता कता समाजलाई विभाजित गर्ने परिस्थिति निर्माण गर्न खोजेको हो कि जस्तो लाग्छ,’ बर्तौलाले भने, ‘हामी भाइ पुस्ताका राजनीतिज्ञहरूको आग्रह छ–राजनीतिक नेतृत्वले समाजमा जहिले पनि सकारात्मक सन्देशको सम्प्रेषण गर्नै पर्छ ।’ सूचनाको ठिक सन्देश प्रवाह गर्ने दायित्व राजनीतिक नेतृत्वकै भएको बर्तौलाले बताए । ‘ठिक ढङ्गले सन्देश प्रवाह गर्नै पर्छ । यो बिचमा केही तल बितल भएको हो कि भन्ने हामीलाई लागेको छ,’ उनले भने । पदहरू अस्थायी भए पनि सहिष्णुता र मुलुकको हित केन्द्रमा अघि बढ्नुपर्ने उनले बताए । ‘भोलिका अनेक घुम्तीमा भेट हुन्छ । कहिल्यै भेट नहुने गरी बोल्नु कत्तिको जायज हुन्छ,’ बर्तौलाले भने ।
बर्तौला पछि बोलेका कांग्रेस नेता अर्जुननरसिंह केसी पनि माओवादी अध्यक्ष दाहालतर्फ नै इङ्गित गर्दै केही बोले । उनले ‘ओठे भक्तिको प्रदर्शनले देश नबन्ने’ भन्दै बोलेका थिए ।
‘अहिले देश जटिल र चुनौतीपूर्ण परिस्थितिमा छ । आम जनतामा निराशा, अविश्वास र आशङ्काको स्थिति बडो अस्तव्यस्त छ,’ केसीले भने, ‘दण्ड विहीनता, विधि विहीनता र सुशासनका नाममा निरन्तर ओठे भक्ति त प्रदर्शन गरिरहेका छौँ । तर, सुशासनको पहिलो सर्त भनेको भ्रष्टाचारमुक्त समाज निर्माण हो । सुशासनको सट्टा दुष्शासनको परिदृश्य निर्माण भएको छ ।’
त्यसपछि केसीले दाहाललाई ‘ब्लेम गेम’ खेलेर कहीँ नपुगिने बताए । उनले भने, ‘हामीले धेरै ब्लेम गेम खेल्यौँ, एउटाले अर्कोलाई दोष लाउने, अर्कोले अर्कोलाई दोष लाउने, जब सत्ताबाहिर गयो त्यो सबभन्दा बढी पवित्र हुने । सत्तमा हुँदा बिर्सिने जुन खालको प्रवृत्ति छ त्यसलाई एउटा निश्चित मापदण्ड र मानक बनाऔँ भ्रष्टाचार नियन्त्रण गर्ने । त्यसको निम्ति तयार होऔँ ।’
भ्रष्टाचार नियन्त्रणको निम्ति प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र दाहालले चिनेको नभई जनताले चिनेको एउटा निष्पक्ष ढङ्गबाट न्याय दिन सक्ने पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा तीनदेखि ५ जनाको आयोग गठनको प्रस्ताव समेत केसीले गरे ।
‘नेपाली जनतामा भाष्य र भ्रम सिर्जना गरिएको छ । कुनै पनि सत्तामा पुगेको मन्त्रीले बोराका बोरा हजार र पाँच सयका नोट घरमा डम्प गरेको छ भनिएको छ,’ केसीले भने, ‘जानीजानी भ्रम फैलाइएको छ, बदनाम गर्न पुराना दललाई फैलाएको छ । पाँच सय र हजारको नाेट बन्द गर्दिऊ अनि कसले कति लुकाको छ ? थाहा हुन्छ ।’
त्यसपछि बोलेका दाहालले केसी र बर्तौलाको जवाफ फर्काएका थिए । उनले आफू सरकारमा हुँदा पनि र बाहिर गएपछि पनि एउटै कुरा गरेको बताएका छन्।
‘सरकारमा हुँदा एउटा कुरा, बाहिर हुँदा अर्को कुरा अर्जुनजीले पनि भन्नुभयो, महेशजीले पनि त्यसलाई अलिकति सङ्केत गर्नुभयो,’ दाहालले भने, ‘म के भन्न चाहन्छु भने मैले कम्तीमा पनि पछिल्लो कार्यकाल मैले भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायको पक्षमा आर्थिक समस्याबाट देशलाई राहत दिने पक्षमा इमानदारितापूर्वक गरेँ। मैले सरकारमा हुँदा जे बोलेको थिएँ, जे गरेको थिएँ, अहिले बाहिर आउँदा पनि मैले त्यही बोलेको छु।’
दाहालले आफू भावुक रहेको र आफ्नो निष्ठा सफा रहेको दाबी गरे । उनले एकले अर्कोलाई दोषारोपण गरेर मात्रै हुँदैन भन्ने कुरामा आफू सहमत रहेको भनाइ राखे। उनले भने, ‘म अलि भावुक छु भन्ने नेपाली समाजले बुझिसकेको छ। तर मेरो नियत र निष्ठा सफा छ भन्ने कुरा अब बिस्तारै जनताले र सबै साथीले बुझ्दै जानुभएको छ।’
सम्बन्धित खबर
नेपाल–चीन सीमा केन्द्रबिन्दु भएर ७ म्याग्निच्यूडको भूकम्प
तराईमा कुहिरो, हिमाली क्षेत्रमा हिमपात
उपचार नपाएर बाटोमै शिशुसहित सुत्केरीको मृत्यु
चर्को आलोचना भएपछि एनसेलले सुटुक्क पहिले जस्तै बनायो रिचार्जको म्याद
हराएको एक हप्तापछि जंगलमा मृत भेटिए किशोरकिशोरी
वाइवाइको गुणस्तर विरुद्ध लेखेको आधारमा ५ करोड क्षतिपूर्ति दाबी मुद्दामा चौधरी ग्रुप हार्यो
यो पनि पढौँ
ढुंगाले लागेर आमाको ज्यान गएपछि बेहोस भएकी छोरीको पनि मृत्यु
परीक्षा बिग्रिएपछि विष खाएका तीन छात्रामध्ये एकको मृत्यु
जोमसोममा झोलुङ्गे पुलबाट खसेर पोखराका युवकको मृत्यु
चर्को आलोचना भएपछि एनसेलले सुटुक्क पहिले जस्तै बनायो रिचार्जको म्याद