भक्तपुर । सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित भाडाको घरको भुईतलामा कोठाभित्र मृत अवस्थामा फेला परेका बाबु र कान्छो छोराको हत्या जेठा छोराले गरेको खुलेको छ ।
भक्तपुरमा हिजो राति मृत भेटिएका बाबु र भाइको हत्या आफूले गरेको प्रहरी समक्ष जेठा छोरा मिलन भन्ने रुपेश आचार्यले स्वीकार गरेका हुन् ।
जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य र कान्छा छोरा प्रवीण हिजो बालकोटमा भाडाको कोठामै मृत भेटिएका थिए । उनीहरूको हत्या आफूले नै गरेको भन्दै कुलप्रसादका जेठा छोरा मिलन आचार्यले आज महाराजगञ्ज प्रहरी वृत्तमा आत्मसमर्पण गरेका प्रहरीले जनाएको छ ।
हत्या पछि फरार भएका मिलन भन्ने रुपेशलाई मंगलबार प्रहरीले महाराजगञ्जबाट नियन्त्रणमा लिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए । रुपेश पक्राउ परेको जानकारी दिँदै उनले मिलनलाई प्रहरीले महाराजगञ्जबाट नियन्त्रणमा लिएर सोधपुछ गरी थप अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइएको बताए।
प्रहरी अनुसन्धानमा प्रवीण कुलतमा फसेको, बाबुले पनि डिप्रेशनको औषधि खाने गरेकाले आफूलाई तनाव बढ्दै गएपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ ।
मिलनले प्रहरीमा दिएको बयानअनुसार उनले सुब्बा र खरिदारमा ६ पटकसम्म लोकसेवाको परीक्षा दिएका थिए । तर, परीक्षामा सफल हुन सकेनन् ।
बाबु कुलप्रसाद आचार्य खोटाङमा हुलाक कार्यालयका कर्मचारी थिए । आम्दानी त्यति ठूलो थिएन । तर, पनि जसोतसो दुई छोरालाई भक्तपुरमा डेरामा राखेर पढाएका थिए ।
आर्थिक अभावले घेरिएका कुलप्रसादले पनि खोटाङमा आत्महत्याको प्रयास गरेका रहेछन् ।
मिलनको बयानअनुसार भाइ प्रवीण सधैंजसो राति १०/११ बजे कोठा आएर सुत्ने र बिहान १०/११ बजे मात्र उठ्ने दिनचर्याले उनी आजित भएका थिए ।
‘सानो व्यापार गर्छु भन्दा पैसा भएन । लोकसेवाको परीक्षामा पनि जहिल्यै असफल भएँ । भाइले खोजेर काम गरेन, राति अबेर सुत्ने र बिहान अबेर उठ्ने बानी ठीक लागेन,’ मिलनको बयान उद्धृत गर्दैै एक उच्च प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘धेरै तनाव भयो, बरु बाबु र भाइलाई मारेर आफू पनि आत्महत्या गरेर मर्छु भन्ने सोच मनमा पलायो र दुवैको हत्या गरें ।’
मिलनले प्रहरीमा भनेअनुसार उनले भक्तपुरको बिरुवा भन्ने ठाउँमा गएर आत्महत्या प्रयास पनि गरेका थिए । तर, रुखको हाँगो भाँचिएपछि मर्न नसकेको उनी बताउँछन् ।
आत्महत्याका लागि अर्को विकल्प खोज्ने क्रममा आत्मग्लानि भएपछि प्रहरीमा आएको उनले बताएका छन् ।
मिलनले प्रहरीमा भने, ‘बाबु र भाइको हत्या गरेर आफू फरार भएको समाचार छरपस्ट भएपछि मैले पनि झुन्डिएर आत्महत्याको प्रयास गरेको थिएँ, रुखको हाँगो भाँचियो, मर्न पनि सकिनँ, पछि आत्मग्लानि भएर आयो र प्रहरीमा आत्मसमर्पण गर्छु भनेर आएँ ।’
आचार्यले यसअघि बुवा र आमाको हत्या प्रयास गरेको बयान दिएका छन् । गत दसैंमा दुवैलाई मार्ने योजना बनाए पनि असफल भएको उनको भनाइ छ ।
हत्यापछि म भक्तपुरकै बिरुवा गएँ । गलबन्दीको पासो लगाएर रुखमा झुन्डिएँ । तर गलबन्दीको गाँठो फुस्कियो । भगवानले मलाई ‘नमर’ भनेजस्तो लाग्यो । बुवा र भाइ मरेपछि मैले आमाको रेखदेख गर्नुपर्छ भन्ने सोचेँ – भन्दै प्रहरीमा बयान दिएका छन् । उनको घाँटीमा समेत पासोको दाग रहेको प्रहरीको भनाई छ ।
हुलाकका निमित्त कार्यालय प्रमुख आचार्य खोटाङबाट ६ दिनअघि मात्रै जेठा छोरा मिलन र कान्छा छोरा प्रवीण बसिरहेको भक्तपुरको बालकोटमा रहेको भाडाको घरमा आएका थिए ।
बाबु कुलप्रसाद र प्रवीणको शव छुट्टाछुट्टै कोठामा मृत अवस्थामा भेटिएको थियो । कुलप्रसादको हत्या पछि सिरक ओढाएर छोडिएको र भान्छा कोठामा सुतेका प्रवीणको भने बीभत्स तरिकाले टाउँकोमा सिलौटाको बच्चोले पटक पटक प्रहार गरी अनुहारनै चिन्नै नसकिने अवस्थामा छाडिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । शनिवार बिहानदेखि कोठाबाहिरबाट बन्द थियो। सोमबारसम्म पनि ढोका नखुलेपछि प्रहरी बोलाएर सोमबार खोल्दा दुई जनाको शव भेटिएको हो।
शनिवार साँझ मासु भात पकाएर बाबुलाई खाना खान बोलाएका मिलनले पारिवारिक विवादकै कारण हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
दुई छोरा मध्ये जेठा छोरा मिलन बिए पास गरेर लोकसेवाको तयारी गर्दै गरेको र कान्छो प्रवीण भने अमेरिका जाने तयारीमा सूचना प्रबिधि विषयमा अध्ययन गरिरहेको पारिवारिक श्रोतले बताएको छ । बाबुछोराको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको र आजै परिवारले प्रहरी वृत्त थिमिमा जाहेरी दिएका छन् ।
कुलप्रसादका दुई छोरा र दुई छोरी मध्ये जेठी छोरी लुभुमा श्रीमान्संगै छिन् भने कान्छी छोरी तिहार लगत्तै अध्ययनका लागि अस्ट्रेलियामा गएकी छिन् ।
हत्या पछि कहाँ गए ?
हत्या गरेपछि मिलन आइतबार राति ३ बजे स्कुटर लिएर घटनास्थलबाट फरार भएका थिए । उनको स्कुटर सातदोबाटोसम्म पुगेको सीसीटीभी फुटेज फेला परेको प्रहरीले जनाएको छ । त्यसपछि उनको मोबाइल अफ भएपछि खोजी गर्न समय लागेको थियो ।
हत्या गरेपछि मिलन भक्तपुरको बिरुवा गए । त्यहाँ झुन्डिएर आत्महत्या गर्ने प्रयास गरे पनि सफल नभएको उनले प्रहरीसँग बताएका छन् । त्यसपछि उनी भक्तपुर दरबार स्क्वायर पुगे र आइतबार दिनभर त्यही बसे ।
सोमबार उनी सार्वजनिक सवारी साधन चढेर चाबहिल पुगेका थिए । चाबहिलस्थित एक होटलमा दुई दिन बिताएपछि मंगलबार बिहान उनी प्रहरीको सम्पर्कमा आए ।
काठमाण्डौं महानगरपालिका वडा नं. ४ महाराजगन्ज भाटभटेनीबाट कालो झोला भिरी हिडिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले आजै उनीमाथि कर्तव्य ज्यानको कसुरमा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ ।
सम्बन्धित खबर
पोखराको बलिदानी सहकारी ठगीमा स्याङ्जा हरिनाशका नवीन भण्डारी पक्राउ
बाबु र भाइ मारेका मिलन डिप्रेशनमा थिए, रूखको हाँगो भाँचिएर बाँचेपछि प्रहरीमा आत्मसमर्पण
भक्तपुरमा बाबुछोरा हत्या प्रकरण : जेठो छोरा पक्राउ
हनी ट्रयापमा मुछिएकी प्रहरी निरीक्षक बिनु शाही ५ लाख धरौटीमा रिहा
बालकोटमा बाबु–छोरा मृत भेटिए, सँगै सुतेका जेठा छोरा फरार
सहकारी ठगी आरोपमा अभियन्ता भरत जंगम पक्राउ
यो पनि पढौँ
पोखराको विजयपुर खोला पुलबाट हामफालेकी अस्मिताको मृत्यु
घान्द्रुक जीप दुर्घटना: मृतक र घाइतेको सनाखत, टुकुचेकी एक वृद्धाको मृत्यु [अपडेट]
तनहुँमा जीपलाई ठक्कर दिएर पुलबाट खस्यो ट्रक, २ जनाको मृत्यु
बालकोटमा बाबु–छोरा मृत भेटिए, सँगै सुतेका जेठा छोरा फरार