घरमै पुगेर वितरण गरियो नागरिकता

घरमै पुगेर वितरण गरियो नागरिकता

pritam grg ng.jpg

घरमै पुगेर नागरिकता दिइँदै

जिल्ला प्रशासन कार्यालय स्याङ्जामा आएर नागरिकता बनाउन नसकेकालाई घरमै पुगेर नागरिकता वितरण गरिएको छ । हिँड्डुल गर्न नसक्ने अवस्थामा रहेका प्रितम गुरुङलाई घरमै पुगेर नागरिकताको प्रमाणपत्र दिइएको हो ।

स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले पुतलीबजार नगरपालिका वडा नम्बर १२ का गुरुङलाई घरमै गएर नागरिकताको प्रमाणपत्र वितरण गरेका हुन् । वडा नम्बर १२ का खिल प्रसाद गुरुङ र डम्बर कुमारी गुरुङका १६ वर्षीय छोरा प्रितम गुरुङलाई ४२-०१-८१-०२९२३ नम्बरको नागरिकता सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले घरमै गएर वितरण गरेका हुन् ।

दुई वर्ष अगाडि गुरुङ रुखबाट लडेर घाइते भएका थिए । उनको ढाडभन्दा तलको भाग चल्दैन । नागरिकता बनाउन कार्यालयसम्म आउनजान आर्थिक अवस्था कमजोर रहेको र नागरिकता नहुँदा सरकारी सेवाहरुबाट समेत बन्चित हुनु परेको जानकारी आएपछि आफूहरुले घरमै पुगेर नागरिकता वितरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

गुरुङको घाउमा मलम मात्र लगाएको बताउँदै प्रशासकीय अधिकृत सोभाखर पोख्रेलले नागरिकको हरेक दु:खमा प्रशासन सङ्गै रहेको बताए । अधिकृत पोख्रेलले यसअघि पनि मेरुदण्ड भाँचिएर अस्पतालमा उपचाररत बिरुवा -५ का विमल शर्मालाई अस्पतालको बेडमै गएर जिल्ला प्रशासन कार्यालय स्याङ्जाले नागरिकता प्रदान गरेको बताए ।

सहायक प्रमुख जिल्ला अधिकारीसहित नागरिकता वितरणका क्रममा प्रशासकीय अधिकृत सोभाखर पोख्रेल, नायब सुब्बा जगुलाल पाण्डे, स्थानीय वडाका जनप्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जालाई धन्यवाद व्यक्त गर्दै गुरुङले नागरिकता पाउँदा आफूलाई निकै खुसी लागेको बताए । न्यून आर्थिक अवस्थाका कारण उनको उपचार भने गराइएको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ