स्याङ्जाको अर्जुनचौपारीमा रहेको भगवतीमाई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले छैठौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
‘सीप, बचत र लगानीको भरपर्दो छहारी, सफल समुन्नत भगवतीमाई सहकारी’ भन्ने मूल नारासहित वि.सं. २०७५ सालमा स्थापना भएको संस्थाले शनिबार आफ्नै कार्यालय प्राङ्गणमा शेयर सदस्यहरुको उपस्थितिमा छैठौं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
साधारणसभाको कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाका प्रमुख सेवक प्रकाश तिवारीले सहकारी बलियो भएमात्र समाजमा आर्थिक गतिशीलता कायम हुने भएकाले कुनैपनि सहकारीको दादागिरी स्थानीय सरकारले नसहने बताए ।
कार्यक्रममा बोल्दै अध्यक्ष तिवारीले जसरी पालिका महिला सशक्तीकरणमा अगाडि बढेको छ, सहकारीहरु समेत महिला सशक्तीकरण र निम्न आयआर्जन भएका वर्गको उत्थानका लागि खट्नुपर्ने कुरामा एकजुट हुन सबैलाई आग्रह गरे ।
कार्यक्रममा सुभकामना मन्तव्यसङ्गै ग्रामीण स्वावलम्बन सहकारी संस्था लिमिटेडका अध्यक्ष बोधनारायण रेग्मीले एकै प्रकृतिका दुई फरक संस्थामा कानूनतः सदस्य बन्न नमिल्ने भएकाले यसमा सजगता अपनाउन आग्रह गरे । समाजसेवी पूर्णबहादुर अधिकारीले नियमित बचत गर्ने बानी अझैपनि शेयर सदस्यहरुमा विकास नभईसकेको भन्दै यसले सहकारीलाई दिगो बनाउन बाधा पार्ने बताए । ऋण लिनेले समेत समयमा ऋण तिर्नुपर्नेमा उनको जोड थियो । अर्जुनचौपारी गाउँपालिका कार्यपालिका सदस्य विन्दु जिटीले सहकारीको महत्व झल्कने गरी गजल सुनाइन् ।
उक्त कार्यक्रममा बोल्दै वडा नं १ का वडाध्यक्ष रण बहादुर थापाले कुनै पनि सहकारीको सदस्यले नकरात्मक सन्देश प्रवाह गर्न वा फैलाउन नहुने कुरामा जोड दिए । सहकारीहरु विभिन्न नामले सञ्चालित भएपनि बचत संकलन र कर्जा प्रवाह गर्नमै सिमित भएकाले सीप, विकास र आत्मनिर्भरता जस्ता कार्यक्रम मार्फत आम शेयरधनीको जीवनस्तर उकास्न सहकारी लाग्नुपर्ने कुरा समेत वडाध्यक्ष थापाले बताए ।
भगवतीमाई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका परियोजनाकार तथा प्रमुख संरक्षक टुकराज अर्यालले यो सहकारीलाई यहाँसम्म ल्याईपुर्याउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए । समानताको आधारमा सहकारी चलेको बताउँदै उनले दुरदर्शिता कायम गरेर अघि बढे असफल हुन नपर्ने कुरामा जोड दिए । यस्तै, अर्जुनचौपारी गाउँपालिका योजना तथा सहकारी शाखा प्रमुख दीपक थापाले सहकारीका नीति तथा सहकारीले पालना गर्नुपर्ने नियमका विषयमा चर्चा गरेका थिए ।
संस्थामा कूल चार सय शेयर सदस्यहरु रहेका छन् भने चार जना कर्मचारीहरु छन् । संस्थाको सेयर पूँजी एक करोड ८७ लाख ९९ हजार दुई सय पच्पन्न रुपियाँ रहेको छ । सहकारीले आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न सात शिर्षक गरि चार करोड ३२ लाख ७० हजार सात सय ७९ रुपियाँ ४६ पैसा बचत संकलन गरेको छ ।
यसैगरी, विभिन्न चार शिर्षकमा सहकारीको ७ करोड ६७ लाख ६६ हजार छ सय ३४ रुपियाँ ३४ पैसा कर्जा लगानी रहेको व्यवस्थापक विजय देवकोटाले जानकारी दिए । संस्थाको विभिन्न तीन बैंकमा गरि २१ लाख ४९ हजार पचास हजार रुपियाँ ५७ पैसा बैंक मौज्दात रहेको व्यवस्थापक देवकोटाले बताए ।
अर्जुनचौपारी गाउँपालिकाका १८ सहकारी संस्था मध्ये भगवतीमाई सहकारी संस्था पालिकाकै उत्कृष्ट रहेको छ । यस आर्थिक वर्षमा मात्रै संस्थाले ४९ लाख बढी मुनाफा कमाएको छ । सहकारीले आ.व. २०८०/०८१ मा ४९ लाख १९ हजार दुई सय ७४ रुपियाँ ६७ पैसा मुनाफा कमाएको हो ।
यसैगरी, आवश्यकता र कृषि क्षेत्रको माग अनुसार संस्थाले करिब १५०० जना कृषकहरुलाई रासायनिक मल उपलब्ध गराएको जनाएको छ । जिल्लाको ऎतिहासिक कार्यको लागि यस संस्थाले दुना टपरी उद्योग समेत संचालन गरेको छ ।
सहकारीले पालिकाभित्रका ६१ समूहमा रहि आफ्नो सेवा प्रवाह गर्दै आएको छ ।
साधारणसभा मार्फत आगामी आर्थिक वर्षका लागि संस्थाले विभिन्न प्रस्तावित वार्षिक कार्यक्रम समेत सार्वजनिक गरेको छ । जसमा शेयर रकम बढाएर दुई करोड पचास लाख पुर्याउने, निक्षेप रकम बढाएर ७ करोड पुर्याउने, लगानीमा रहेको कर्जा बढाएर १० करोड पुर्याउने, रु. १०० देखि १००० सम्मका शेयर खुला गर्ने, बिमा सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, सहकारी सम्बन्धी तालिम सञ्चालन गर्ने, कृषि कर्जामा सहुलियत दर कायम गर्ने, कर्मचारीलाई बोनस र सञ्चय कोषको व्यवस्था गर्ने, ज्येष्ठ नागरिकलाई सम्मान गर्ने जस्ता योजनाहरु समावेश गरिएका छन् ।
कार्यक्रममा उत्कृष्ट जेष्ठ नागरिक बचतकर्ता बेद प्रसाद अर्याल, उत्कृष्ट ऋणी सुबिना सुनार, उत्कृष्ट बचतकर्ता दुर्गा बहादुर गुरुङलाई सम्मान गरिएको थियो ।
त्यस्तै, सेयर सदस्यका छोराछोरी मध्ये कक्षा १० (एस.ई.ई.) परिक्षा २०८० मा उत्कृष्ट नतिजा ल्याउने दशरथ जङ्ग गोदार र सुविधा अर्याललाई समेत सम्मान गरिएको थियो ।
भगवतीमाई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष क्या. रुद्र बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दुर्गा कुमारी बस्नेतले स्वागत तथा कार्यक्रम संचालन तिल कुमारी रोका केसी ‘सिर्जना’ले गरेकी थिइन् ।
सम्बन्धित खबर
घरमै पुगेर वितरण गरियो नागरिकता
अर्जुनचौपारीमा विपन्न नागरिकहरुलाई नि:शुल्क स्वास्थ्य बीमा
भाग्योदय माविमा भूपू विद्यार्थी मञ्च गठन, अध्यक्षमा ढाकाराम खनाल
नवनियुक्त सांसद थापालाई स्याङ्जामा सम्मान
भगवतीमाई बहुउद्देश्यीय सहकारीको छैठौं साधारणसभा, पालिकाकै उत्कृष्ट
अर्जुनचौपारी दरौंखोलामा छाडियो ८० हजार माछाका भुरा
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
पत्रकार महासंघ मनाङको अध्यक्षमा नविन लामिछाने सर्वसम्मत
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध