पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले राजनीतिक आस्थाका आधारमा करारका कर्मचारी हटाएपछि सिर्जित विवाद समाधान तत्कालका लागि समाधान भएको छ ।
नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले असहमति जनाउँदै महानगरको विशेष नगर सभा माग गरेका थिए । त्यसपछि, मागप्रति सहमति जनाउँदै मेयर आचार्य २० गते नगरसभा विशेष बैठक बस्न सहमत भएका थिए । मेयर आचार्यले एजेन्डा प्रस्तुत गरेलगगत्तै २३ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए ।
पोखरा महानगरपालिकाको विशेष नगरसभामा प्रस्तुत एजेन्डाहरूलाई सर्वसहमतिकै आधारमा अनुमोदन गरी मस्यौदाका रूपमा रहेका पुराना र नयाँ सबै दस्तावेजलाई एकीकृत गर्दै नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण तयार गर्ने निर्णय गरिएको बताइन्छ ।
नगरसभा २८ गते दिउँसो ३ बजे बस्ने र सोही दिन बिसर्जन गर्ने गरी नगरसभाको दोस्रो दिनको सभा स्थगित गरिएको महानगरले जनाएको छ ।
पोखरा महानगरलाई पुस मसान्तपछि करार मुक्त बनाउने कांग्रेस र एमालेबिच सहमतिपछि विशेष नगर सभा २८ गतेसम्मका लागि स्थगित भएको हो ।
मेयर आचार्य, उपमेयर मन्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंको रोहबरमा दुई पार्टीबिच सहमति भएपछि आइतबारको सभा बस्ने बित्तिकै स्थगित गरिएको हो ।
समझदारी पत्रमा मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत र प्रवक्तासँगै कांग्रेसबाट दलका नेता दिवसमान प्रधानाङ्ग, उपनेता पूर्णबहादुर गुरुङ, वडाध्यक्षहरू देवकृष्ण पराजुली, सन्तोष बास्तोला र नरेन्द्र थापा तथा एमालेबाट दलका नेता राधिका शाही योगी, उपनेता निर्मल दियाली, वडाध्यक्षहरू विष्णुप्रसाद बराल, तोरणबहादुर बानियाँ र गङ्गाबहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।
दुई पार्टीबीच भएको समझदारी अनुसार ३७ औँ कार्यपालिका बैठकबाट म्याद थप भएका श्रेणिविहीन बाहेकका करार कर्मचारीको म्याद पुस मसान्तपछि थप नगर्ने निर्णय भएको छ ।
मङ्सिर १ गतेदेखि बिदा गरेका ३५ कर्मचारीलाई थप २ महिनाको पारिश्रमिक उपलब्ध गराउने सहमति भएको छ ।
सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणका लागि प्रमुख प्रशासकीय अधिकृत चौलागाईंको संयोजकत्वमा १२ सदस्यीय समिति गठन गरिएको छ ।
समितिमा कांग्रेसबाट देवकृष्ण पराजुली, सन्तोष बास्तोला, किरण बराल र प्रकाश केसी सदस्य छन् भने एमालेबाट विष्णुप्रसाद बराल, तोरण बानियाँ, गङ्गाबहादुर क्षेत्री र कृष्णकुमारी पौडेल सदस्य छन् । कर्मचारीहरू जयराम पौडेल, भरतराज पौडेल र कृष्णप्रसाद तिवारी पनि समितिको सदस्य छन् ।
सम्बन्धित खबर
२० औं फेवा नव वर्ष महोत्सव सुरु
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
विश्वकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेयले कोटिहोम महायज्ञमा प्रवचन दिँदै
पत्रकार हरि पन्तलाई पितृशोक
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु