रविको इन्कारी बयान- ‘कसले मेरो नाम लेखेर बैंकमा रकम जम्मा गरिदियो, थाहा भएन’

सुप्रिम सहकारी ठगीः

रविको इन्कारी बयान- ‘कसले मेरो नाम लेखेर बैंकमा रकम जम्मा गरिदियो, थाहा भएन’

Rabi-Lamichhane

पोखरा । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बुटवलको सुप्रिम सहकारीबाट गोर्खा मिडियामा उनको नाममा प्रवाह भएको भनिएको रकम विषयमा इन्कारी बयान दिएका छन् ।

मंगलबार कास्कीबाट रुपन्देहीस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि लगिएका लामिछानेले इन्कारी बयान दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एक प्रहरी अधिकारीले जनाए । उनका अनुसार रविले आफ्नो नाम लेखेर कसले पैसा जम्मा गरिदियो भन्ने थाहा नभएको जिकिरसमेत गरेका छन् । रविको भनाइलाई उद्घाटन गर्दै ती प्रहरी अधिकारीले भने, ‘म सुप्रिमको सदस्य पनि होइन, ऋणी पनि होइन, कसले मेरो नाम लेखेर बैंकमा रकम जम्मा गरिदियो, मलाई थाहा भएन ।’ उनले सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नरहेको र सरकारले दुःख दिने नियतले हिरासतमा राखेको पनि बताएका छन् ।

उनलाई बुधबार पनि बयान लिएर कास्की फर्काउने तयारी छ ।

सहकारी ठगीलगायत मुद्दामा विगत २५ दिनदेखि अनुसन्धानका लागि लामिछाने कास्की प्रहरी हिरासतमा रहँदै आएका थिए । गत २ कात्तिकमा काठमाडौंको वनस्थलीबाट पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान भइरहेको छ ।

लामिछानेलाई चारपल्ट अदालत उपस्थित गराई अनुसन्धानका लागि पटकपटक म्याद थप भएको छ । पछिल्लो समय गत २५ कात्तिकमा थप १३ दिनको म्याद थप भएको छ । यसरी आगामी ७ मंसिरसम्म उनी कास्की प्रहरी हिरासतमै रहने छन् ।

बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको अभियोगमा प्रहरीले उनको मंगलबारदेखि बयान लिन थालेको हो ।

बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको अभियोगमा रुपन्देही जिल्ला अदालतले पनि यसअघि लामिछानेसहित १२ जनालाई पक्राउ पूर्जी जारी गरेको थियो । संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको उल्लेख छ ।

सोहीबमोजिम बयानका लागि बिहान ७ बजेर ४५ मिनेटमा बुद्ध एयरबाट भैरहवा लैजाने तयारी थियो । बिहानै ५ बजेर ४० मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पु¥याइएका लामिछानेलाई भिजिविलिटी कम हुँदा करिब ५ घण्टासम्म विमानस्थलमै रोकिएको थियो । मध्यान्ह १२ बजेपछि मात्र बुद्ध एयरको विमानमार्फत उनलाई गौतमबुद्ध विमानस्थल उतारिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले मंगलबार नै बयान सकेर पोखरा फर्काउने तयारी भए उडान ढिलो हुँदा बयान नसकिएको बताए ।

रास्वपाका कार्यकर्ताले भने राजनीतिक प्रतिशोधको आधारमा आफ्ना सभापतिलाई पक्राउ गरेको भन्दै देशका विभिन्न ठाउँमा दिनहुँ प्रदर्शन गरिरहेका छन् । मंगलबार रास्वपा कार्यकर्ताले भैरहवामा विरोध प्रदर्शन गरे । लामिछाने समर्थकहरूले विमानस्थल बाहिर, सरकारी वकिल कार्यालय र जिल्ला अदालत रुपन्देहीमा नाराबाजीसहित प्रदर्शन गरेका थिए । रविका सर्थकहरूले ‘सहकारीपीडितलाई न्याय दे’, ‘सतासी अर्बको हिसाब खोई’, ‘रवि दाइ नडराऊ’, ‘जनता तिम्रो साथमा छन्’ लगायत नारा लगाउँदै प्रदर्शन गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds