पोखरा । छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् ।
पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् ।
आज बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता र छठी देवीलाई चढाइ बर्तालुले त्यही खिर खाने गर्छन् । यो विधिलाई ‘खरना’ भनिन्छ ।
श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र मङ्सिरमा पाक्ने स्थानीय जातको धानको चामल मिलाइ पकाइएको खिर केराको पातमा राखेर छठी मातालाई चढाएर बर्तालु र परिवारका अरु सदस्यले प्रसादको रुपमा खाने गर्छन् ।
आज दिनभरि उपवास गर्ने बर्तालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्छन् । पर्वको तेस्रो दिन भोलि अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख बर्तालुले जलाशयमा बनेको मनोरम घाटमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ ।
त्यसैगरी सप्तमीका दिन बिहान बर्तालुले उदाउँदा सूर्यलाई दोश्रो अर्घ्य दिएर पर्व समापन गर्ने मैथिल चलन छ । उदाउँदो सूर्यलाई दिइने अर्घ्यलाई मिथिलामा ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ । अर्घ्य दिँदा पहिले जटासहितको नरिवल र त्यसपछि क्रमशः पर्वका लागि पकाइएका मिष्टान्न परिकार र केरासहितका फलफूल सूर्यदेवलाई देखाउने चलन छ ।
छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्तकहाँ पुर्याउन जाने मैथिल परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ ।
अर्घ्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अर्घ्य दिने पवित्र जलाशय किनारमा घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ ।
सम्बन्धित खबर
गण्डकी कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा भक्तजनको उपस्थिति बाक्लिँदै
विश्वकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेयले कोटिहोम महायज्ञमा प्रवचन दिँदै
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
आज चैते दशैँ पर्व मनाइँदै
आज ईद–उल–फित्र पर्व, सार्वजनिक बिदा
वासन्ती नवरात्र सुरु, मिथिला क्षेत्र पर्वमय
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
अन्नपूर्णमा हिमपहिरो, २ नेपाली बेपत्ता