रवि लामिछानेलाई रिहाइको दबाब दिन रास्वपाले आज पोखरामा प्रदर्शन गर्दै

सहकारी ठगी प्रकरणः

रवि लामिछानेलाई रिहाइको दबाब दिन रास्वपाले आज पोखरामा प्रदर्शन गर्दै

raswapa andolan

सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा लगिँदै छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई कास्की जिल्ला अदालतमा म्याद थपका लागि लगिने भएको हो । उनको हिरासतमा बस्ने म्याद गत १४ गते बुधबार नै सकिएको थियो । तिहारको सार्वजनिक बिदाका कारण उनको म्याद थप हुन सकेको छैन ।

उनको थप सात दिन म्याद थप हुन सक्ने सम्भावना छ । उनलाई अदालत लैजाने समय यकिन नभएको अनुसन्धान अधिकृत, कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

शर्माका अनुसार रविसँगै सहकारी प्रकरणमा मुछिएका छविलाल जोशी र लिला पछाइलाई पनि आज अदालत उपस्थित गराइँदैछ । सरकारी वकिलको कार्यालयले लामिछानेसँग बयान लिने काम सकिसकेको छ । बयान सकिए पनि अनुसन्धान भने जारी छ ।

सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान भइरहेको डीएसपी शर्माले जानकारी दिए ।

कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई शनिबार ३ गते बिहान कास्की ल्याइएको थियो । ४ गते छ दिन र त्यसपछि कार्तिक ८ गते कास्की जिल्ला अदालतले साथ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीलेसमेत कास्की प्रहरीलाई पत्र पठाएकाले उनलाई त्यसतर्फ पठाउने तयारीसमेत भइरहेको शर्माले जानकारी दिए । कार्तिक २२ गते सार्वजनिक बिदा परेकाले त्यसपछि नै रविलाई रुपन्देही पठाउने विषयमा छलफल भइरहेको शर्माको भनाइ छ ।

लामिछानेविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा रुपन्देही जिल्ला अदालतले अनुमति दिएसँगै रुपन्देही जिल्ला प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरेको छ ।

रुपन्देही प्रहरीले छविलालसँग भने यसअघि नै बयान लिइसकेको छ । छविको दशैँ र तिहार प्रहरी हिरासतमै बितेको थियो । उनी असोज ६ गते पक्राउ परेका थिए । उनलाई पनि कात्तिक ८ मा चौथोपटक सात दिनको म्याद थप भएको थियो।

यस्तै सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा कास्की प्रहरी हिरासतमै रहेकी लिला पछाईलाई पनि अदालतले कार्तिक ८ गते बिहीबार सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

रास्वपाले पोखरामा फेरि प्रदर्शन गर्ने

रास्वपाले पोखरामा फेरि प्रदर्शन गर्ने भएको छ । एक साता पोखरामा प्रदर्शन गरेका रास्वपाले आन्दोलन तुहिँदै जान थालेपछि काठमाडौँ केन्द्रित शुरु गरेको थियो । तिहार पर्वलाई मध्यनजर गर्दै सो पार्टीले आन्दोलन रोकेको थियो ।

सभापति लामिछानेलाई आज अदालत लैजाने भएपछि पोखरामा रास्वपाले प्रदर्शन गर्न लागेको हो । मंगलबार बिहान १०ः३० बजे पोखराको जिरोकिमीस्थित घण्टीघरबाट प्रदर्शन शुरु हुने सो पार्टीले जनाएको छ ।

रास्वपाले सभापति लामिछाने पक्राउलाई राजनीतिक प्रतिशोध भन्दै आएको छ । रविलाई पक्राउ गरेर कास्की ल्याएसँगै रास्वपाले देशभरका कार्यकर्ता पोखरा उतारेर आन्दोलन गरेको थियो ।

तर रास्वपाको आन्दोलनमा जनसहभागीता कम भएसँगै रणनीति बदल्दै आएको छ । निष्पक्ष छानबिनका लागि दबाब दिनुभन्दा रास्वपाका नेताहरु रिहाइका लागि दबाब दिन थालेपछि रास्वपाभित्रै दुई धार देखिएको छ ।

सहकारी ठगीमा प्रत्यक्ष देखिएका रविलाई बिना सर्त रिहा गर्नुपर्ने मागले हजारौँ सहकारी पीडितलाई अन्याय हुने ठानेरै दुई धार देखिएको हो ।

रुपन्देही प्रहरी पक्राउको तयारीमा

कास्की जिल्ला अदालतले रिहाइको आदेश दिना साथ जिल्ला अदालत रुपन्देहीको अनुमतिसँगै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ पुर्जी जारी गरिसकेको छ ।

काठमाडौ जिल्ला प्रहरीले अनुसन्धान गरिरहेकाले काठमाडौँबाटसमेत पक्राउ पुर्जी जारी हुन सक्ने सम्भावना छ ।

यदि कास्की जिल्ला अदालतले अनुसन्धानका लागि समय थप गर्यो भने थपिएको समयमै रविलाई रुपन्देही लैजान सक्ने सम्भावना छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds