आज कार्तिक १६ गते शुक्रबारको दिन तिहारको कुनै पनि पर्व नभएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आज औंसीको दिन भएपनि तिहारको कुनै पनि पर्व नपरेको समितिको भनाइ छ ।
समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले यो वर्ष तिथिको घटबढका कारण औंसीका बेला सूर्योदय भएकाले आजको दिन कुनै पर्व नपरेको बताए ।
कार्तिक १५ गते विहीबार बिहान कुकुर पूजा र साँझ लक्ष्मीपूजा गरिएको छ । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा शुक्रबार यमपञ्चकको कुनै पर्व नभएको र औंसीसहित कार्तिक शुक्ल प्रतिपदाका दिन गरिने गाई पूजा शनिबार अर्थात् कात्तिक १७ गते परेको उल्लेख छ ।
यद्यपि प्रत्येक महिनाको औंसीलाई पर्व मानिन्छ । औंसीमा विशेषगरी पितृकर्म हुने गर्छ ।
नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औंसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औंसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ । गाईलाई गौमाताका रूपमा सम्मान गरिने भएकाले वर्षका ३६५ दिन नै गाई पूजा गर्न पनि सकिन्छ । तर तिहारका अवसरमा गरिने गाई पूजा भने शनिबार नै गर्नुपर्ने समितिको भनाइ छ । यसैले गाईतिहार पनि शनिबार नै मनाइन्छ ।
समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रोमा कात्तिक १७ गते शनिबार भने गाईगोरु पूजा, गोवद्र्धनपूजा, बलिपूजा, हलीतिहार, म्ह (आत्म) पूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि गरी छवटा पर्व एकै दिन परेको उल्लेख छ ।
तिथिका घटबढका कारण यस वर्ष पाँच दिनमा सकिने दोस्रो चाड तिहार यस वर्ष ६ दिनसम्म लम्बिएको छ । कार्तिक कृष्ण त्रयोदशीका दिन सुरु हुने तिहार यस वर्ष कात्तिक १३ गते मंगलबार सुरु भएको थियो ।
यो पर्व कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक १८ गते आइतबार दिदीबहिनीका हातबाट दाजुभाइले विधिपूर्वक टीका लगाएपछि सकिन्छ । टीकाको साइत बिहान ११ बजेर ३७ मिनेटमा छ ।

सम्बन्धित खबर
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
गण्डकी कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा भक्तजनको उपस्थिति बाक्लिँदै
विश्वकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेयले कोटिहोम महायज्ञमा प्रवचन दिँदै
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
आज चैते दशैँ पर्व मनाइँदै
आज ईद–उल–फित्र पर्व, सार्वजनिक बिदा
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
शान्ति निकेतनले १५ करोड लागतमा अत्याधुनिक सुविधायुक्त भवन बनाउँदै
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु
तनहुँको गल्छिनामा दुई बाइक ठोक्किँदा १९ वर्षीय किशोरको मृत्यु