साहित्यकार एवं भाषाविद् मुकुन्द शरण उपाध्यायलाई शुक्ला साहित्य राष्ट्रिय पुरस्कार प्रदान गरिने

पुरस्कार

साहित्यकार एवं भाषाविद् मुकुन्द शरण उपाध्यायलाई शुक्ला साहित्य राष्ट्रिय पुरस्कार प्रदान गरिने

लोककवि चेत बहादुर बरुवाल लोक साहित्य स्मृति पुरस्कार संस्कृतिकर्मी प्राडा कुशुमाकरलाई

sahitya shuklaa

साहित्यकार एवं भाषाविद् मुकुन्द शरण उपाध्यायलाई यस वर्षको शुक्ला साहित्य राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ ।

जनस्तरवाट रकम संकलन गरी शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौरद्वारा स्थापित ५५ हजार ५ सय ५५ रुपैयाँ राशीको उक्त  पुरस्कार भाषाविद् उपाध्यायलाई प्रदान गरिने भएको हो ।

प्रतिष्ठानले सोमवार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी लोककवि चेत बहादुर बरुवाल लोक साहित्य स्मृति पुरस्कार संस्कृतिकर्मी प्रा.डा. कुशुमाकर न्यौपानेलाई प्रदान गरिने प्रतिष्ठानका सचिव दिपेन्द्र बानियाँले जानकारी दिए । लोक साहित्य पुरस्कारको राशी १५ हजार ५ सय छ ।

वि.सं. २०४५ सालमा जनकवि केशरी धर्मराज थापाको परिकल्पनामा स्थापित प्रतिष्ठानले ११ औं संस्करणको राष्ट्रिय पुरस्कार यही कार्तिक १५ गते वितरण गर्ने र चौथों संस्करणको लोक साहित्य पुरस्कार आगामी मंसिर १५ गते वितरण गर्ने जनाएको छ ।

राष्ट्रिय पुरस्कारबाट यसअघि मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, डा. रविलाल अधिकारी, साहित्यकार सरुभक्त, वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल वात्सायन, चेतमानसिंह भण्डारी, जनगायक जीवन शर्मा, लोक गायिका हरिदेवी कोईराला, साहित्यकार हंशपुरे सुवेदी, भाषविद् चुडामणि बन्धु र संस्कृतिकर्मि प्राडा जगमान गुरुङलाई प्रदान गरिसकिएको छ ।

त्यस्तै, वि.सं. २०७० मा स्थापित लोक साहित्य पुरस्कार यसअघि गीतकार तीर्थ तामाङ, लोकनाथ पोखरेल र कवि रामप्रसाद पौडेल घर्मेलीलाई प्रदान गरिएको सहसचिव सञ्जय थापाले जानकारी दिए । दुवै पुरस्कारका लागि अग्नीधर शर्मा तिमिल्सिनाको संयोजकत्वमा गठित श्रष्टा छनौट समितिको सिफारिसलाई प्रतिष्ठानले अनुमोदन गरी सार्वजनिक गरेका हो ।

प्रतिष्ठानले हास्यव्यंग्य, गीत संगीत, समालोचना, साहित्यका विभिन्न विधा, लोक साहित्य, जनवादी र प्रगतिशील साहlत्य, भाषा र नेपाली व्याकरणका क्षेत्रमा योगदान पुर्‍याउने श्रष्टालाई प्रत्येक दुई-दुई वर्षमा सो पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष हरिबहादुर बरुवालले नेपाली साहित्य, कला र विभिन्न क्षेत्रमा प्रतिष्ठानले निकै ठुलो योगदान पुर्‍याएको बताउँदै प्रतिष्ठान राष्ट्रिय स्तरको भएपनि ओझेलमा पर्ने गरेको गुनासो गरे । प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष दुर्गादेवी गौतम बस्नेत, सचिव दीपेन्द्र बानियाँले नवोदित तथा स्थापित श्रष्टालाई प्रोत्साहन र सम्मान गर्ने उद्धेश्यले पुरस्कार स्थापना गरी अर्पण गरिएको बताए ।

प्रतिष्ठानले राष्ट्रिय पुरस्कारका साथै मदन चन्दा स्मृति पुरस्कार, लोक साहित्य पुरस्कार र बाल साहित्य पुरस्कार स्थापना गरी सञ्चालन गरेको छ । श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रियस्तरको भजन प्रतियोगिता पनि गर्दै आइरहेको छ । यस वर्ष गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टको प्रमुख आतिथ्यतामा उक्त प्रतियोगिता सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ