सृष्टि खड्का बनिन् मिस पोखरा

सौन्दर्य प्रतियोगिता

सृष्टि खड्का बनिन् मिस पोखरा

सृष्टिलाई मिस नेपालमा भाग लिने अवसर

miss pokhara (1)

Photo: S2 Production

पोखरा । ११ औं संस्करणको मिस पोखरा–२०२४ को ताज सृष्टि खड्काले पहिरेकी छन् । बागलुङ गलकोट घर भई हाल पोखरा काजीपोखरी निवासी खड्का मिस पोखरा घोषित हुँदै स्कुटर र नगद ५० हजार पुरस्कार जितेकी छन् ।

मिस नेपालमा समेत प्रतिनिधित्वको अवसर पाएकी उनले विभिन्न गिफ्ट ह्याम्पर समेत हात पारिन् । मिस पोखरा खड्कालाई सन् २०१८ की मिस पोखरा सारा बजिमयले क्राउन पहिराइदिएकी थिइन् ।

यस्तै, रेखा गैरे फस्ट रनर अप र जेसिका विश्वकर्मा घिमिरे सेकेण्ड रनर अप भइन् । उनीहरुले ताजसहित क्रमशः ३० हजार र २० हजार साथमा विभिन्न गिफ्ट ह्याप्पर प्राप्त गरे । रेखाले वेष्ट इन्टेलेक्टको समेत उपाधि जित्दा जेसिकाले वेष्ट ड्रेस तथा क्वाटवाक अवार्ड जितिन् ।

स्थापनाको स्वर्ण वर्ष मनाइरहेको पोखरा जेसीजले इभेन्ट फर युको व्यवस्थापनमा ६ वर्षपछि मिस पोखरालाई निरन्तरता दिएको हो । त्यसका लागि तीन चरणको अडिसन लिइएको थियो । देशभरबाट छानिएका प्रतिस्पर्धी उत्कृष्टलाई एक महिनासम्म विभिन्न तालिमपछि शनिबार पोखरा सभागृहमा ग्राण्ड फिनालेमा उतारिएको हो । जसमा १६ प्रतिस्पर्धी ¥याम्प उत्रिएका थिए ।

परिचय राउण्डदेखि नै दर्शकको मन जितेकी सृष्टिले महत्वपूर्ण सवटाइटलसमेत आफ्नै पोल्टामा पारेकी छन् । उनले भ्यूओर च्वाइस, पपुलारिटी र पर्सनालिटीको अवार्ड जितिन् । उनी पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसीएम)की छात्रा हुन् । उनी बीबीए अध्ययनरत छिन् ।

उत्कृष्ट ५ भित्र पर्न सफललाई मुख्य निर्णायक सुवर्ण क्षत्रीले २ मिनेटको समय दिएर ‘युवा नेता र वृद्ध नेता (अनुभवी) मध्ये तपाईंले कसलाई चुन्नुहुन्छ ? र, किन ?’ भनी प्रश्न सोधेका थिए । ५ भित्र परेका ईशा पराजुली र सिम्रन श्रेष्ठसमेतले लिखित जवाफ दिएका थिए । सबैजसो युवा नेता मन पर्छ भन्दै काठमाडौंका मेयर बालेन शाहको उदाहरण दिएका थिए । तीमध्ये सृष्टिको उत्तरले भने निर्णायकको मन जितेको होे ।

अन्य निर्णायकमा पूर्व सांसद एवं वरिष्ठ सौन्दर्यकर्मी मीना गुरुङ, अभिनेता सरोज खनाल, अभिनेत्री एलिजा गौतम, ला ग्राण्डीका प्रिन्सिपल किरण केसी, शेषराज भट्टराई, डा.रामजी शर्मा गरी ७ जना थिए ।

सृष्टिलाई मिस नेपालमा भाग लिने अवसर

कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले क्षमता प्रस्फुटनमा यस प्रकारको कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले यसबाट युवा नारीको आत्मबल बढ्ने बताए । विभिन्न तालिमबाट प्राप्त ज्ञानले भविष्यमा पुरुष समान काम गर्न सक्ने हिम्मत बढ्ने बताए ।

पोखरा जेसीज अध्यक्ष देवराज शर्माले युवा नारीको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न यो व्युटी पेजेन्टलाई निरन्तरता दिइएको बताए । कार्यक्रम सफल पार्न सघाउने सम्पूर्णमा उनले धन्यवाद दिए ।

कार्यक्रममा मिस नेपाल–२०२४ आश्माकुमारी केसी, नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष राजाराम गौतम, पोखरा जेसीजका कार्यकारिणी उपाध्यक्ष एवं मूल कार्यक्रम संयोजक श्रीकृष्ण सुनार, इभेन्ट फर युका अध्यक्ष विशाल गुरुङलगायत बोलेका थिए । कार्यक्रममा मिस नेपाल आयोजक हिडन ट्रेजरका डाइरेक्टर प्रमोद कंशाकारको पनि उपस्थिति थियो ।

रेड कार्पेटसहित करिब ५ घण्टा चलेको कार्यक्रमको संचालन पोखरा जेसीज महासचिव तिलकप्रसाद लामिछाने र उरुषा जोशीले गरेका थिए । सन् १९७५ सालमा केशवलाल श्रेष्ठको अध्यक्षतामा स्थापना भएको पोखरा जेसीजले यसबाहेक विविध कार्यक्रम गरिरहेको छ । पहिलोपल्ट सन् १९९५ मा मिस पोखरा भएको थियो ।

  • विजय नेपाल

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ