गोरखा । युनाइटेड मिसन टु नेपाल नामक संस्थाले २०१३ सालमा गोरखामा खोलेको अस्पताल २०५९ सालदेखि संघ सरकार मातहत छ । गत वर्ष फागुनमा उक्त अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय संघ सरकारको मन्त्रिपरिषद् बैठकले गरेपनि प्रक्रिया पूरा भइसकेको छैन ।
५० शय्यामा स्तरोन्नति गरेर संघ सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको उक्त अस्पतालको अवस्था बुझ्न गण्डकी सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक पालुङटार पुगेका छन् । ग्रामीण भेगमा विशेषज्ञ सेवा प्रवाह गरिरहेको अस्पतालको जनशक्ति र भौतिक पूर्वाधारको अवस्था बुझ्न मन्त्री पाठक आइतबार आँपपिपल पुगेका हुन् । ‘त्यहाँ उपकरण र भौतिक पूर्वाधारको समस्या देखिएन ।
उपकरणअनुसार जनशक्ति पनि व्यवस्थापन गरिएको रहेछ,’ उनले भने, ‘अब कर्मचारीको तलब सुविधाको समस्या हुनेजस्तो बुझियो । संघ सरकारले हस्तान्तरण गरिसकेपछि त्यो समस्या पनि समाधान हुन्छ ।’
आँपपिपल अस्पतालमा विशेषज्ञ चिकित्सकसहित ६४ जना कार्यरत छन् । तीमध्ये ३२ जनालाई संघ सरकारबाट प्राप्त अनुदानमार्फत पालुङटार नगरपालिकाले र बाँकीलाई अस्पताल व्यवस्थापन समितिले तलब सुविधा भुक्तानी गर्दै आएको छ । यो अस्पतालले दाँत, आँखा, हाडजोर्नी, जनरल मेडिसिन, मानसिक स्वास्थ्य, सामान्य शल्यक्रियालगायत सेवा प्रवाह गर्छ ।
आफूले प्रधानमन्त्री र संघ सरकारका स्वास्थ्यमन्त्रीलाई अस्पताल हस्तान्तरणको प्रक्रिया पूरा गरिदिन मन्त्री हुनेबित्तिकै भेटेर आग्रह गरेको मन्त्री पाठकले सुनाए । कार्तिकभित्र हस्तान्तरण भएमा त्यसपछि उक्त अस्पतालको सबै जिम्मा प्रदेश सरकारले लिने उनले बताए । ‘आँपपिपल अस्पताल प्रविधिमैत्री पनि रहेछ । त्यहाँ इलोक्ट्रोनिक मेडिकल सिस्टम छ । एकपटक आएको बिरामीले कागजात बोकेर आउनुपर्ने झन्झट नहुने बुझेँ,’ मन्त्री पाठकले भने, ‘आँपपिपल अस्पतालको निरीक्षणमा जाँदा नयाँ कुरा सिक्ने मौका मिल्यो । अरु अस्पतालमा पनि यो प्रविधि जडान गर्न पहल हुन्छ ।’
मन्त्री पाठकले आइतबार नै गोरखा जिल्ला अस्पतालको निरीक्षण गरे । ५० शय्याको उक्त अस्तपालमा नयाँ भवन रहेको र त्यहाँ एमआरआई र सीटीस्क्यान सेवा माग भएको मन्त्री पाठकले बताए । ‘गोरखा अस्पताल प्रदेशकै धेरै बिरामी उपचार गर्ने जिल्ला अस्पताल हो । त्यहाँको व्यवस्थापन समितिले एमआइरआई र सीटीस्क्यानको माग गर्नुभएको छ,’ उनले भने । माग भएका उपकरण जनशक्तिसहित व्यवस्थापन गर्न प्रदेश सरकार सकारात्मक रहेको मन्त्री पाठकले बताए । आफूले सार्वजनिक गरेका स्वास्थ्य सुधारका कार्यक्रम कार्यान्वयनमा तदारुकता साथ काम भइरहेको र त्यसमा सक्रिय सहयोग गर्न दुई अस्पतालका व्यवस्थापन समिति, स्वास्थ्यकर्मी, कर्मचारीलाई उनले आग्रह गरे ।
सम्बन्धित खबर
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी सम्पन्न
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
लेकबाट बेसी झर्न थाले भेडाका बथान
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
ट्रायल सेन्टरमा मन्त्री केसीको छड्के निरीक्षण
विश्वकप खेल्ने गण्डकीका खेलाडी र संघ अध्यक्ष सम्मानित
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते