मुलुकको एकमात्र ढोरपाटन सिकार आरक्षमा नाउर, झारल र बँदेलको सिकार गर्नका लागि पहिलो याम सुरु भएको छ। वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि १२ नाउर, आठ झारल र ११ बँदेलको सिकारका लागि अनुमति दिएको हो ।
आरक्षमा दुई याममा सिकार खेलाइन्छ । पहिलो याम असोज–कात्तिक र दोस्रो याम चैत–वैशाखसम्म हुने गर्छ । यस यामको सिकार लागि नेपाल ट्राभल एक्सपिडिसन कम्पनीको नेतृत्वमा पहिलो टोली गत असोज २३ गते आरक्षमा पुगेको थियो । सो कम्पनीमार्फत अष्टे«लियन नागरिकले यस याममा पहिलो नाउरको सिकार गरेका छन्। नाउरको तौल औसतमा ७० केजीभन्दा बढी हुने गरेको छ । सिकारको अनुमति लिएका बाँकी तीन कम्पनी आरक्षमा जाने क्रममा छन् ।
निकुञ्जका वरिष्ठ व्यवस्थापन अधिकृत पेम्बा शेर्पाका अनुसार यस याममा चार कम्पनीमार्फत १२ विदेशी सिकारीले सिकारको अनुमति लिएका छन् । विभागले सिकार गर्नका लागि न्यूनतम राजस्व निर्धारण गर्ने गरेको हुन्छ। हाल नाउरको रु एक लाख ५० हजार र झारलको रु ७५ हजार र बँदेलको रु १० हजार न्यूनतम राजस्व तोकिएको छ।
न्यूनतमभन्दा धेरै बोलपत्र बढाबढमा कम्पनीले सिकारको अनुमति प्राप्त गर्ने गर्छन्। यस याममा नाउरको सबैभन्दा बढी रु १२ लाख ३० हजार बोलपत्र कबोल गरिएको छ । त्यस्तै झारलको रु सात लाख २५ हजार कबोल गरिएको अधिकृत शेर्पाले जानकारी दिए ।
एक करोड ४५ लाख बढी राजस्व आम्दानी
‘नाउरको सिकार गर्न बँदेलको पनि अनुमति लिनैपर्छ, तर विदेशी सिकारीहरु बँदेलको सिकार गर्न भने खासै इच्छुक देखिदैनन्’, अधिकृत शेर्पाले भने, ‘बँदेलको सिकारका लागि न्यूनतम् राजस्व रु १० हजार भने तिर्नैपर्छ । सिकारका लागि अनुमति दिएका नाउर, झारल र बँदेलको गरी कूल रु एक करोड ४५ लाख ९२ हजार चार सय राजस्व आम्दानी भएको छ।’
सिकार कम्पनीले वन्यजन्तु संरक्षणमा टेवा पुगोस् भन्ने उद्देश्यले नाउर र झारलको सिकार गरेबापत केही रकम स्थानीय समुदायलाई समेत दिने गरेका छन् ।
यसबाट मुलुकले विदेशी मुद्रा आर्जन गर्न पाएको छ भने स्थानीयस्तरमा पर्यटनको समेत विकास भएको छ । विभागले यस वर्षको पहिलो यामका लागि आरक्षमा नाउर, झारल र बँदेलको प्रतिस्पर्धाबाट सिकार गराउन गत भदौ १९ गते १५ दिने सूचना जारी गरी सिलबन्दी दरभाउ पत्र आह्वान गरेको थियो ।
विगत २० वर्षदेखि यस पेसामा संलग्न नेपाल ट्राभल एक्सपिडिसनका सञ्चालक अमृत थापाले सिकारका लागि विश्वमै प्रसिद्ध यस आरक्षमा आउने सिकारीले भौगोलिक कठिनाइका बाबजुद प्राप्त गर्ने आनन्द अनुपम रहेको बताए। साथै उनले हतियारको अनुमति तथा सिकारका लागि कानुनीलगायतका प्रक्रियामा विवरण मिलाउने कार्यलाई आधुनिक र सरलीकरण गर्नुपर्ने सुझाव दिए। सिकारका लागि कम्पनीले निकुञ्ज विभाग, वन मन्त्रालय, गृह मन्त्रालयलगायत निकायमा काम गरी सिकारीले आखेटोपहार आफूसँगै विदेश लैजान झण्डै छ महिनासम्म समय लाग्ने गरेको छ ।
प्रतिसिकारी ३० देखि ३५ हजार अमेरिकी डलर खर्च
हेलिकप्टरबाट गन्तव्यमा जानुपर्ने, दुई दर्जनभन्दा बढी व्यक्तिको सहयोगी समूह आवश्यकपर्ने र निकै दुर्गम भएकाले यहाँ सिकार गर्न निकै खर्चिलो हुन्छ । कम्पनीहरूले प्रतिसिकारी पर्यटकबाट ३० देखि ३५ हजार अमेरिकी डलर लिएर सिकार खेलाउने गरिएको छ । सिकार खेल्न आउने विदेशीमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिका, मेक्सिको, फ्रान्स, स्पेन, रसिया, हंगेरी, युक्रेन, क्यानडा, जर्मनीलगायत मुलुकका रहेका छन् ।
सिकारीले सिकार गरेपछि वन्यजन्तुको आखेटोपहार (टाउको, सिङ, छाला र खुर) कानुनी रूपमा व्यवस्थित तवरले आफूसँगै लैजान्छन् । सिकार गरिएको वन्यजन्तुको मासु जंगलमा समूहमै रहँदा खाने र अन्य फोहर गाड्ने गरिन्छ ।
आरक्ष कार्यालयका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार आरक्षमा घोरल र थार भए पनि साइटिसको अनुसूचीमा समावेश भएका कारण ती वन्यजन्तुको सिकार खेल्ने अनुमति दिने गरिएको छैन । उनले भने, ‘आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ गरी सात ब्लकमा विभाजन गरेर सिकार खेल्न दिने व्यवस्था मिलाइएको छ ।’ रासस
सम्बन्धित खबर
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी सम्पन्न
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
लेकबाट बेसी झर्न थाले भेडाका बथान
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
ट्रायल सेन्टरमा मन्त्री केसीको छड्के निरीक्षण
विश्वकप खेल्ने गण्डकीका खेलाडी र संघ अध्यक्ष सम्मानित
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते