छोरा जन्मिएको ४८ घण्टा नबित्दै शिशुसँगै अस्ताए परिवारका ४ जना

डडेल्धुरा बस दुर्घटना अपडेट

छोरा जन्मिएको ४८ घण्टा नबित्दै शिशुसँगै अस्ताए परिवारका ४ जना

थप १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ५ पुग्यो

dadel acc

डडेल्धुरा । मंगलबार राति १२ बजेतिर डडेल्धुरामा बस दुर्घटना भयो । महेन्द्रनगरबाट बैतडीको हाटपचौडीका लागि छुटेको बस अमरगढी नगरपालिका- ७ खसरेखान नजिक दुर्घटना हुँदा एकै परिवारका चारजनासहित पाँचको मृत्यु भएको छ । शिशुसहित उनका आमा- बुबा र बज्यैको घटनास्थलमा ज्यान गयो ।

बैतडीको पुर्चौंडी नगरपालिका–३ तोली गाउँकी २० वर्षीया कमला बोहरा दुई दिनको शिशुसहित श्रीमान र आमासँगै खुसी भएर पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बसमा गाउँ फर्किदै थिइन् । डडेल्धुराको भात्काडा आसपासको बजारमा खाना खाएर उक्त बस गन्तव्यका लागि हिँडेको थियो । २० वर्षीया कमला र उनका २२ वर्षीय श्रीमान सहदेव बोहरा पनि खुसीयालीसहित नवजात शिशु लिएर गाउँ फर्किदै थिए । उनीहरूसँगै ४५ वर्षीय आमा जैमती बोहरा पनि सँगैको सिटमा हर्षित मुद्रामा रहेको उक्त बसदुर्घटनामा परी घाइते भएकी विमला महताले बताइन् ।

कमला २४ असोजमा सुरक्षित डेलिभरीका लागि कैलालीको धनगढी गएकी थिइन् । साथमा उनका श्रीमान् र गर्भवती छोरीको स्याहार गर्न आमा जैमती पनि धनगढी गएकी थिइन्। सोमबार कमलाले छोरालाई जन्म दिइन्। पहिलो सन्तान जन्म दिएपछि बोहरा परिवारमा खुसीयाली छाएको थियो । तर, उनीहरूको खुसी ४८ घण्टा पनि टिक्न पाएन ।

छोरा जन्मिएपछि घर फर्किरहेका उनीहरू सवार बस मंगलबार राति दुर्घटनामा पर्‍यो। छोरा जन्मिएको उमंगका साथ घर फर्किरहेका बोहरा परिवारका चारैजनाको एकै चिहान भयो। अर्की मृतक पुर्चौंडी नगरपालिका–१० की गोवणी महराको शव बुधबार बिहान दुर्घटनाग्रस्त स्थलबाट सुरक्षाकर्मीले बसभित्र च्यापिएर रहेको अवस्थामा निकालेको थियो । बस सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । बसमा १७ जना सवार थिए।

चाडपर्वका बेला दुर्घटना भएपछि बैतडीको पुर्चौडी शोकमा डुबेको छ । बसमा १७ जना सवार थिए । दुईजना बेपत्ता भएको बताइएको छ। चालक निदाएकाले बस सडकबाट पल्टिएर खोल्सामा खसेको हुनसक्ने प्रहरीको अनुमान छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक वीरेन्द्र बोहरालाई थप उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले जानकारी दिए।

तस्वीरः अन्नपूर्ण पोष्ट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ