दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए

दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए

baduwal

सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको उपचारका क्रममा मृत्यु भएको छ । गत १० र ११ गते आएको अविरल वर्षापछि बाढी–पहिरोमा उद्धारका लागि खटिएका उनको सोमबार बिहान नेपाल एपिएफ अस्पताल बलम्बुमा मृत्यु भएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रेको पनौती नगरपालिका–५ आइटी पार्कमा मनसुनजन्य विपद् व्यवस्थापन बेस स्थापना गरेको थियो।

बडुवाल सोही बेसमा साउन ३ गतेदेखि कमान्डर थिए। सो बेसबाट काभ्रेको रोशी, भूमिडाँडा, बेथानचोक, नार्केबजार, मंगलटार, कालढुंगा, बाल्टिङलगायत स्थानमा परिचालित थियो। पछिल्लो समय असोज १०–११ गतेको अविरल वर्षाका कारण काभ्रेको विभिन्न ठाउँमा भएको धनजनको क्षतिमा उद्धारका लागि उनको कमान्डमा सशस्त्र प्रहरी बल खटिएको थियो।

ज्वरो लगायतका समस्या देखिएपछि बडुवाललाई असोज २६ गते नेपाल एपिएफ अस्पताल बलम्बुमा भर्ना गरी उपचार गराइएको थियो । उपचारकै क्रममा सोमबार बिहान उनको मृत्यु भएको डिएसपी थापाले बताए।

बडुवालले ०६० सलबाट सशस्त्र प्रहरी सहायक निरीक्षक दर्जाबाट सेवा प्रवेश गरेका थिए। उनको स्थायी घर बर्दिया हो । उनको आजै साँझ पशुपति आर्यघाटमा फौजी सम्मानका साथ अन्त्येष्टि गरिने सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ