१० करोडमा प्रशासनिक भवन बनाउँदै गण्डकी विश्वविद्यालय

१० करोडमा प्रशासनिक भवन बनाउँदै गण्डकी विश्वविद्यालय

मुख्यमन्त्री पाण्डेले गरे शिलान्यास

Gandaki-U

पोखरा । गण्डकी विश्वविश्वविद्यालयको प्रशासनिक भवन निर्माण सुरु भएको छ । पोखरा ३२ मालमुल (ज्ञानकुञ्ज)मा शनिबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भवनको शिलान्यास गरे । १० करोड ९२ लाख रुपैयाँमा भवन निर्माण थालिएको हो ।

२०८२ मंसिर २ गतेभित्र सक्नुपर्ने गरी अमेक्क्षा निर्माण कम्पनी काठमाडौँले निर्माण सम्झौता गरी काम थालिसकेको छ । भवन ३ तले बन्ने जानकारी विश्वविद्यालयका रजिस्ट्रार डा कैलाश तिमिल्सिनाले दिए । भवन शिलान्यासपछि मुख्यमन्त्री पाण्डेले विश्वविद्यालय आफ्नो आम्दानीबाट आफै चल्न सक्ने अवस्थामा पुर्‍याउनुपर्नेमा जोड दिए । उनले शिलान्यास भएको भवन निर्माण बेलामा पूरा हुने विश्वास पनि व्यक्त गरे । ‘नेपालमा शिलान्यास भएको योजना अलपत्र देख्छु र शिलान्यास गर्न नपरोस् भन्ठान्छु, तर्कन्छु,’ उनले भने, ‘तर यो भवन निर्माण बेलामा पूरा हुने विश्वास छ ।’

पूर्वमुख्यमन्त्री खगराज अधिकारीले विश्वविद्यालय अनुदान आयोगबाट निजी संस्थाले पनि लाभ लिइरहेकोमा प्रदेशका विश्वविद्यालय बञ्चित रहेको औंल्याए । उनले ऐन संशोधन गरेर भए पनि अनुदान आयोगको सहयोग गण्डकी विश्वविद्यालयले पनि पाउने व्यवस्था गरिनुपर्ने बताए । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले प्राविधिक र सिपयुक्त जनशक्ति उत्पादन गर्न सके विश्वविद्यालय सफल हुने विश्वास व्यक्त गरे ।

विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले विश्वविद्यालयमा अर्थमन्त्रालय र योजना आयोग तथा स्थानीय जनप्रतिनिधिको पनि प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने आवश्यकता औंल्याए । उपकुलपति प्राडा नवराज देवकोटाले पठनपाठनका अलावा विश्वविद्यालय अनुसन्धान र अन्तक्र्रियामा पनि सामेल भइरहेको जानकारी दिए ।

निर्माण हुन लागेको भवना भुइँ तलामा १६ वटा कोठा रहनेछन् । त्यहाँ विद्यार्थी कल्याणकारी तथा सामाजिक मामिला, आविष्कार केन्द्र, अनुसन्धान केन्द्र, लेखा लगायत कार्यालय रहने जानकारी विश्वविद्यालयले दिएको छ । दोस्रो तलामा रजिस्ट्रार कार्यकाल, योजना तथा विकास कार्यालय, आर्थिक प्रशासन, सामान्य प्रशासन, आइटी युनिट, सभा हललगायत रहने छन् । भवनको तेस्रो तालमा ११ कोठा रहनेछन् । त्यहाँ कुलपति र उपकुलपतिका कार्यालय, सभाकक्ष, मानव संशाधन व्यवस्थापन कार्यालय र अन्तर्राष्ट्रिय सम्बन्ध समितिका कार्यालय रहनेछन् ।

९ सय २७ वर्ग मिटर क्षेत्रफलको भवन भवनमा ४२ कोठा हुने जनाइरहेको छ । गुरुयोजना बमोजिम संरचना निर्माण, शैक्षिक कार्यक्रम चलाएर चाँडै विश्वविद्यालयलाई लक्ष्यअनुसार प्रभावकारी रूपमा सञ्चालन गरिने रजिस्ट्रार डा. तिमिल्सिनाले जानकारी बताए । आगामी वर्ष पहिलो ब्याचका विद्यार्थीको दीक्षान्त हुने र पहिलो दीक्षान्त आफ्नै भवनमा गर्ने योजना विश्वविद्यालयले बनाएको छ ।

गण्डकी विश्वविद्यालयको स्वामित्वमा पोखरा ३२ मालमुलमा ५ सय २६ रोपनी जग्गा छ । त्यहाँ राष्ट्रिय आविष्कार केन्द्रसहित शैक्षिक कार्यक्रम सञ्चालनका लागि केही भवन बनिसकेका छन् । २०७६ मा स्थापना भएको गण्डकी विश्वविद्यालयले विश्वव्यापी मान्यता र स्तर अनुसारको शिक्षा दिने लक्ष्य लिएको छ ।

अहिले यो विश्वविद्यालयले केन्द्रीय कार्यालय मालमुल, मुस्ताङ चोक र महेन्द्रपुलमा विभिन्न संकायमा पढाइ सञ्चालन गरिरहेको छ । खेलकुद व्यवस्थापनमा स्नातक पहिलो पटक नेपालमा सुरु गरेको यसले यो शैक्षिक सत्रबाट स्नातकोत्तरमा कृत्रिम बौद्धिकता (एआई) अध्यापन सुरु गरिसकेको छ । गण्डकी विश्वविद्यालयले ब्याचलर इन इन्फरमेसन टेक्नोलोजी, ब्याचलर अफ फार्मेसी, बिबिए र बिएएलएलबीका कक्षा सञ्चालन गरिरहेको छ ।

विज्ञानका क्षेत्रमा उत्कृष्ट काम गर्दै विश्वका उत्कृष्ट वैज्ञानिकभित्र सफल भएका गण्डकी विश्वविद्यालयको अनुसन्धान विभागमा कार्यरत डा राजु थापालाई शनिबारको समारोहमा सम्मान पनि गरिएको थियो । मुख्यमन्त्री पाण्डेले उनलाई दोसल्ला ओढाएर सम्मान गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ