पोखराका बजारमा चाडबाड केन्द्रीत अनुगमन

पोखराका बजारमा चाडबाड केन्द्रीत अनुगमन

११ हजार मूल्य बराबरको सामग्री नष्ट

anugaman

पोखरा महानगरपालिकाले चाडपर्व लक्षित अनुुगमन सुरु गरेको छ । नेपालीहरुको पर्व बडा दशैँ सुरु भएसंगै महानगरले अनुगमन सुरु गरेको हो । महानगर उपभोक्ताहित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा शुक्रबार पोखराका विभिन्न ८ पसलमा अनुगमन गरिएको हो ।

पोखरा वडा नम्वर २ मा रहेका भवानी पुजा सामग्री, महालक्ष्मी पुजा सामग्री भण्डार, सेलवेज क्यास एण्ड क्यारी प्रालि, एसएए स्टोर्स, गौचन स्टोर्स, ओझा किराना पसल, वडा नम्बर ३ मा रहेको साथी सपिङ सेन्टर र पोखरा ८ मा रहेको सहारा ट्रेडिङमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा म्याद गुज्रेका खाद्य सामग्री, सरकारले प्रतिवन्ध गरेको प्लाष्टिकको माला तथा फुलका गुुच्छा जफत गरि ११ हजार १ सय ७९ रुपैयाँ बराबरको सामग्री नष्ट गरिएको छ । अनुगमनका क्रममा भवानी पुजा सामग्रीमा प्रतिबन्धित प्लाष्टिकका माला र फुलका गुच्छा नष्ट गरिएको छ भने प्याकेजिङ अनुमतिपत्र नलिई प्याकेजिङ गरेर विक्री वितरण गरेको, व्यवसाय नविकरण नगरेको र थप कारबाहीका लागि कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।

महालक्ष्मी पुजा सामाग्रीमा १५ सय बराबरको प्लाष्टिकका माला नष्ट गरिएको छ । उक्त पसलमा मुल्यसुचि नभएको ब्यवसाय दर्ता, नापतौलको दर्ता नभएको, लेवल नभएका सामाग्री विक्रीवितरण गरेको पाइएको छ ।

त्यस्तै, एसएस स्टोर्समा अनुुगमनका क्रममा १५ सय मूल्य बराबरको म्याद गुुज्रेको आइसक्रिम नष्ट गरिएको थियो भने प्याकेजिङ, ब्राण्डिङको इजाजत नलिएको, लेवल नखुलेको सामान विक्रीविरतण गरेको, ब्यवसाय दर्ता नभएको पाइएकाले पोखरा महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ ।

साथी सपिङ सेन्टरमा म्याद गुज्रेका तेल, मकैको मिठो, दाल चिनिको चुलो, मसला गरी ४ हजार १ सय ३९ रुपैयाँ बराबरको सामाग्री नष्ट गएिको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए । यता ओझा किराना पसलबाट बदाम, चोकोज, कुरकुरे जिरा,पानीपुरी आदि गरेर १ हजार २ सय ३० रुपैयाँ मुल्य बराबरको सामग्री नष्ट गरिएको छ ।

अनुगमनका क्रममा गौचन स्टोर्सबाट १७० रुपैयाँ मुल्य बराबरको म्याद गुज्रेको दुई पोका सफल दहि नष्ट गरिएको छ । पोखरा २ मा रहेको सेलवेज क्यास एण्ड क्यारी प्रालिमा म्याद गुुज्रेको २ सय ग्रामको पनिर र फुुलको खाने तेल एक लिटर गरी ६ सय ४० रुपैयाँ मुल्य बराबरको सामग्री नष्ट गरिएको छ ।

अनुगमनका महानगरका उपप्रमुख एवं अनुुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङ, महानगरका प्रशासन महाशाखा प्रमुुख कृष्णप्रसाद तिवारी, महानगर उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटा, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि उमाकान्त रेग्मी, गुणस्तर तथा नापतौल कार्यालय पोखराका प्रतिनिधि रघुनाथ पौडेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रतिनिधि रविना सुनार, महानगर सहकारी तथा उद्योग शाखाका प्रतिनिधि राजु सुवेदी, महानगरस्तीय राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधि हुमनाथ अधिकारी लगायतको सहभागिता रहेको थियो ।

अनुगमन गरिएका सात वटै पसलका संचालकलाई असोज २१ महानगरमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ । चाडपर्व धेरै सामाग्रीको खपत हुने भएकाले मुल्यबृद्धि गर्ने र म्याद गुज्रेका सामग्रीहरु समेत बिक्री वितरण हुने भएकाले अनुगमन गरिएको महानगर उपप्रमुख एवं अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ