सीके राउतसँग सम्बन्धविच्छेद अस्वीकार गर्दै श्रीमतीले गरिन् राउतको मानसिक स्वास्थ्य जाँचको माग

सीके राउतसँग सम्बन्धविच्छेद अस्वीकार गर्दै श्रीमतीले गरिन् राउतको मानसिक स्वास्थ्य जाँचको माग

सोनीको प्रतिउत्तर– मुख्य नेता र सांसदजस्तो मान्छेले अबला पत्नीमाथि ज्यादती गर्नुभयो

ck soni

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी श्रीमती सोनी सिन्धु रानीले सम्बन्ध विच्छेदको मुद्दा खारेजीको माग गर्दै अध्यक्षको राउतको स्वास्थ्य जाँचका लागि माग गरेकी छन् ।

ललितपुर जिल्ला अदालतमा प्रतिउत्तरमार्फत सोनीले सो माग गरेकी हुन् । अध्यक्ष राउतले भदौ १२ गते सोनीविरुद्ध अंशसहितको सम्बन्ध विच्छेदको मुद्दा ललितपुर जिल्ला अदालतमा दायर गरेका थिए । सोनीले त्यसको प्रतिउत्तर बुधबार दिएकी हुन् ।

अध्यक्ष सीके राउत मुद्दा दायर गर्नेबेलासम्म पत्नी सोनीसँगै एउटै घरमा बस्थे । तर अहिले दुवै जना छुट्टिएर बस्न थालेका छन् । स्रोतका अनुसार सोनी श्रीमानबाट अलग भएर काठमाडौँमै बस्न लागेकी छन् । सीके राउतले मुद्दा फैसला नहुन्जेलसम्मका लागि श्रीमती राउतलाई महिनाको ३० हजार रुपैयाँ दिने भएका छन् । छोराछोरीलाई पढाउने काम पनि अध्यक्ष राउतले नै गर्ने भएका छन् ।

सोनीले विपक्षीले सम्बन्ध विच्छेदको माग गरे पनि आफ्नो मञ्जुरी नरहेकाले बदरको माग गरेकी छन् । पतिले सम्बन्ध विच्छेद गर्न सक्ने कानुनी व्यवस्था मुलुकी देवानी संहितामा उल्लेखित आधार विपरीत कुनै पनि कार्य आफूले नगरेको दाबी उनले प्रतिउत्तरमा गरेकी छन् ।

पति सीके राउतले सम्पूर्ण सम्पत्ति आफ्नो तथा निजको परिवारको अन्य सदस्यको नाममा राखेको दाबी गर्दै सोनीले के–कति सम्पत्ति छ भन्ने कुरा आफूलाई केही थाहा नभएको दाबी गरेकी छन् । आफूले सम्बन्ध विच्छेद मागेको बेला नदिने, घरमा काम गर्नका लागि ल्याएको भन्ने, अहिले आएर किन सम्बन्ध विच्छेद माग गरेको भनेर आफूले बुझ्न नसकेको उनले उल्लेख गरेकी छन् ।

उनले भनेकी छन्, ‘विपक्षीले मलाई एउटा कामदारको रूपमा भन्दा पनि तल्लो दर्जामा राख्नु भएको र मलाई व्यवहारका कुराहरू सबै लुकाइ मसँग सम्बन्ध विच्छेद गर्न चाहनु भएकाले सो सम्बन्ध विच्छेद गर्न मेरो सहमति नभएको कुरा सम्मानित अदालत समक्ष जाहेर गर्न चाहन्छु ।’

आफूलाई विपक्षी (पति), सासूससुरा र नन्दले नियमित घरेलु हिंसा, मानसिक यातना, शारीरिक यातना दिने गरेको उनको आरोप छ । ‘दाम्पत्य सम्बन्धको परिभाषा नाघेर विपक्षी पतिले ममाथि ज्यादती गर्नुभएको छ । मसँग दिनरात निहुँ खोजी कुटपिट र झगडा गर्ने काम गर्नुभएको छ । सधैं तिमी बुहारी मान्छे हो, बुहारीको सीमाभित्र बस्नुपर्छ, मैले जे भन्छु, त्यो मान्नैपर्छ भनी अति नै दबाबमा राख्ने गर्नुहुन्थ्यो,’ सोनीले प्रतिउत्तरमा उल्लेख गरेकी छन् ।

राजविराज बस्दा सासूससुरा, नन्द र पति समेतले शारीरिक एवं मानसिक यातना दिने गरेको आरोप उनले लगाएकी छन् । ‘सासूससुरा र नन्द मिलेर मलाई यो कामचोर एवं ठग हो, घरको केही काम गर्दिन, बिरामी भएको नाटक गर्छे भन्नेजस्ता शब्दहरू प्रयोग गरेर मानसिक यातना दिन शुरू गरे । त्यो यातनाले हदै पार गर्‍यो । विपक्षी पतिले नै विभिन्न गालीगलोज गर्ने, वचन लगाउने, कुटपिट गर्नेजस्तो व्यवहार देखाएपछि घरका सबै सदस्यले मलाई होच्याउने, विभिन्न अपशब्द बोली मानसिक र शारीरिक याताना दिने गर्न थाल्नुभयो,’ प्रतिउत्तरमा उल्लेख छ ।

सुरक्षाका लागि राष्ट्रिय मानव अधिकार आयोग र भारतीय राजदूतावासमा समेत गुहार मागेको उनले उल्लेख गरेकी छन् । ‘आफ्नै परिवारबाट सुरक्षित नभएपछि मैले राष्ट्रिय मानवअधिकार आयोग र भारतीय राजदूतावासमा गुहार मागेकी थिएँ । तर, मलाई कहीँ कतैबाट सुरक्षाको ग्यारेन्टी भएन,’ प्रतिउत्तरमा उल्लेख छ ।

आफूलाई डिप्रेसन नभए पनि उपचार गराउने बहानामा डिप्रेसनको औषधि खुवाउने गरिएको समेत उनको आरोप छ । ‘पटनाको पारस अस्पतालमा मेरो उपचार गराउने बहानामा तिमीलाई डिप्रेसन छ भन्दै डिप्रेसनको औषधि खुवाउनु भयो । त्यसबखतको उपचारको प्रेसक्रिप्सन प्रमाणका रूपमा पेश गरेकी छु । त्यसपछि पुनः पटना घुम्न भनेर मुम्बई लगी त्यहाँ पनि डिप्रेसनको औषधि खुवाउन लगाउनुभयो । डिप्रेसन नभएपनि डिप्रेसनको औषधि खाँदा मलाई स्वास्थ्यमा समस्या हुँदै गयो,’ प्रतिउत्तरमा उल्लेख छ ।

उनले अगाडि लेखेकी छन्, ‘हाल उक्त औषधि खान छाडेपछि आराम भएको महसुस गरेकी छु ।’

आफ्नो मानसिक अवस्था ठीक रहे पनि फिराद पत्रमा अनावश्यक आरोप लगाइएको उनको गुनासो छ । उनले पति सीके राउतको नै मानसिक अवस्था जाँच गराउन माग गरेकी छन् ।

‘मलाई पेट दुख्ने, टाउको दुख्नेलगायत अन्य स्वास्थ्य समस्या भएका बेला डिप्रेसनको औषधि खाऊ भनी दिनेजस्ता अस्वाभाविक कार्यहरू गर्नुभएकाले र मलाई सधैं दु:ख दिने नियत मात्र राखेकाले विपक्षीको नै मानसिक समस्या छ जस्तो देखिन्छ । निज विपक्षीको मानसिक अवस्था जाँच गरी पाउने आदेशका लागि सम्मानित अदालतसमक्ष निवेदन गर्दछु,’ सोनीले प्रतिउत्तरमा लेखेकी छन् ।

सुत्केरी अवस्थामा पनि आफूले आराम र स्याहार नपाएपछि बाध्यतावश विगतमा डिभोर्स मागेको उनले स्वीकारेकी छन् ।

‘सुत्केरी अवस्थामा मैले आराम र स्याहार पाइनँ । शरीर दुखिरहनेजस्ता समस्या आइरहन्थ्यो । यतिसम्म हुँदा पनि विपक्षी पतिले मलाई कहिले राम्रो गर्नुभएन । सधैं घरमा काम गर्ने नोकरको रूपमा हेर्ने र सोहीबमोजिमको व्यवहार गर्नुहुन्थ्यो । आफ्नै पतिले राम्रो व्यवहार नगरेपछि घरका अरू सदस्यले पनि कहिले राम्रो व्यवहार गर्नुभएन । परिवारबाट पाइरहेको मानसिक र शारिरीक यातनाबाट आजित भएर पहिले मैले डिभोर्सको कुरा उठाएको हो,’ उनले भनेकी छन् ।

राउतले सम्पूर्ण सम्पत्ति उनी स्वयं र परिवारका अन्य सदस्यको नाममा राखेको उनले खुलाएकी छन् । ‘विपक्षी पतिले सम्पूर्ण सम्पति आफ्नो तथा परिवारका अन्य सदस्यको नाममा राख्नुभएको हुँदा मलाई के कति सम्पत्ति छ भन्ने कुरा पनि थाहा छैन,’ प्रतिउत्तरमा लेखिएको छ ।

उनले अगाडि लेखेकी छन्, ‘विपक्षीले मलाई एउटा कामदारभन्दा पनि तल्लो दर्जामा राख्नुभएको र मलाई गरेका व्यवहारका कुराहरू सबै लुकाई मसँग सम्बन्धविच्छेद गर्न चाहनुभएकाले उक्त सम्वन्धविच्छेद गर्न मेरो सहमति नभएको कुरा सम्मानित अदालतसमक्ष जाहेर गर्न चाहन्छु । बच्चाहरू तथा विवाहित पत्नीप्रति एक पिता र पतिले गर्नुपर्ने दायित्व पूरा गर्नबाट पछि हट्दै सम्बन्धविच्छेदको फिराद दायर गर्नु आफैंमा अन्यायपूर्ण कार्य भएकाले उक्त फिराद बदरभागी छ ।’

परिवारसँग अंशवण्डा नभई सगोलमा नै रहेको र आफूबाट लुकाएर परिवारका अन्य सदस्यका नाममा राखेको सम्पूर्ण सम्पत्तिबाट बच्चाहरूसँगै खाने, लाउने, बस्ने, उपचार गर्ने व्यवस्था मिलाइदिन उनले माग गरेकी छन् ।

‘विपक्षीले सम्बन्धविच्छेद गरौं भनेकोमा मेरो मञ्जुरी छैन । नेपालको एउटा सम्मानित राजनीतिक दलको मुख्य नेता तथा सांसद भएर मजस्तो एक अबला विवाहित पत्नीप्रति अत्यन्तै अन्यायपूर्ण व्यवहार गर्नुभएको र मेरो कुनैपनि आयस्रोत समेत नभएकाले सम्मानित अदालतबाट निजको नाममा रहेको, परिवारसँग अंशवण्डा नभई सगोलमा नै रहेको र मबाट लुकाएर परिवारका अन्य सदस्यका नाममा राखेको सम्पूर्ण सम्पत्तिबाट म र मेरा बच्चाहरूलाई खाने, लाउने, बस्ने, उपचार गर्ने व्यवस्था समेत विपक्षीबाट दिलाई/भराई, सम्मानित अदालतबाट न्याय दिलाई उक्त मुद्दा खारेज गरी मेरो प्रतिउत्तर जिकिरबमोजिम इन्साफ दिलाइपाऊँ,’ प्रतिउत्तरमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ