सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान

सम्मान

सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान

गीतकारको पहिचानका लागि सबै लागिपर्नुपर्नेमा जोड

Saru Samman

पोखरा । गीतकार सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान २०८१ प्रदान गरिएको छ ।

गीतकार प्रतिष्ठान, नेपालले बिहीबार पोखरामा आयोजना गरेको आफ्नो चौथो साधारणसभाका अवसरमा सरूलाई नगद ५ हजार ५५५ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहित सम्मान प्रदान गरेको हो । सरूलाई कवि तथा गीतकार रमेश श्रेष्ठ, हरिदेवी कोइराला र संस्थाका अध्यक्ष शीतल गिरीले सम्मान गरे ।

लमजुङमा जन्मेर पचासको दशकको सुरुदेखि नै पोखरालाई कर्मथलो बनाएर साहित्यिक क्षेत्रमा क्रियाशील सरूको प्रकाशन यात्रा २०४९ मा गीतबाटै भएको थियो । आफ्नो पहिलो कृति पनि ‘थुँगा थुँगा जिन्दगानी’ नामक गीत सङ्ग्रह प्रकाशन गरी सुरु गरेकी सरूको त्यसपछि ‘एक झुल्को घाम ओर्लेर सडकमा’ र ‘फूलहरूको आँधी’ गरी दुई कविता सङ्ग्रह र ‘किट्टी’ नामक बालकथा सङ्ग्रह प्रकाशित छन् ।

आफू लमजुङ हुँदै साहित्यिक लेखन सुरुवात गरे पनि पोखराले आफूलाई विशेष पहिचान दिएको सरूले बताइन् । गीतका क्षेत्रमा आफू लामो समयदेखि लागे पनि रेकर्ड भएका गीतको सङ्ख्या कम भएको बताउँदै उनले गीत लेखन आफ्नो मुख्य जिम्मेवारी भएको बताइन् । सम्मानले आफूलाई गीति क्षेत्रमा केही गर्नका लागि थप हौसला दिएको भन्दै गीतकारहरूको हकहितका लागि पोखराका अग्रज गीतकारहरूले देखेको सपना गीतकार प्रतिष्ठानले पूरा गरेको सरूको धारणा थियो ।

कार्यक्रमका प्रमुख अतिथि गीतकार रमेश श्रेष्ठले गीतकारको पहिचानका लागि सबै लागिपर्नुपर्नेमा जोड दिए । उनले सरस्वती जस्तो एक योग्य प्रतिभालाई सम्मान गरेर गीतकार प्रतिष्ठान स्वयम् सम्मानित भएको धारणा राखे ।

लोकगायिका हरिदेवी कोइरालाले सरूको लेखनमा भएको सरलता र व्यवहारमा भएको हार्दिकताबाट आफू प्रभावित भएको बताइन् । उनले सरूको लेखनले पोखरेली साहित्यिक क्षेत्रमा निकै महत्त्वपूर्ण योगदान गरेको धारणा राखिन् ।

प्रतिष्ठानका अध्यक्ष शीतल गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिभा छनोट समितिका सदस्य भुवन क्षेत्रीले गीतकार सरूको परिचय दिएका थिए । कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारी, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल, गायक विनोद बानियालगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।

२०७७ सालमा दर्ता भई सञ्चालित प्रतिष्ठानले यसअघि प्रकट पगेनी ‘शिव’ र शीतल कादम्बिनीलाई गीतकार सम्मान प्रदान गरेको उपाध्यक्ष अनुराग अधिकारीले जानकारी दिए । निवर्तमान अध्यक्ष हरिहर खनियाको संयोजकत्वमा गीतकारद्वय भुवन क्षेत्री र विक्रम पौडेल सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा सरूलाई सम्मान प्रदान गरिएको उपाध्यक्ष अधिकारीले जनाए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ