जब उनी मजदुरी गर्छु भन्दै जान्थे, भारी बोक्न सक्दैन भनेर फर्काइदिन्थे । स्कुलको बसमा काम गर्छु भन्दै पुग्थे, सानो मान्छे राख्न मिल्दैन भनिदिन्थे । सेक्युरिटी गार्ड बस्छु भनेर पुग्थे, गेटमै निदाउँछस् हुँदैन भनिदिन्थे ।
किसान सुनारलाई आपत प¥यो, अब के गर्ने त ? काम खोज्दाखोज्दै उनी हैरान भए । तर, हार मानेनन् । पत्रिकामा कर्मचारी आवश्यकता लेखिएको वर्गीकृत डिस्प्लेको कटिङ लिएर उनी शहरका गल्लीगल्ली दौडिए ।
सहरमा थुप्रै थरिका व्यवसाय देखे, उनले । अनेक रुपरंग र सोच भएका मान्छेसामुन्ने उनको नमस्कार पुग्यो । काम खोज्दै हिँड्दा उनीमाथि थुपै्रका दया जाग्थे । भेटेका मान्छेबाट अर्तिउपदेश मिल्थ्यो तर काम मिल्दैनथ्यो । खुइय…सुस्केरा काढ्दै थकाइले बत्तिँदै उनी दाजुले भाडामा लिएको सानो कोठामा पुग्थे ।
राती काम पाएको सपना देख्थे । कामबाट मिलेको पहिलो तलब सुम्सुम्याएको कल्पना गर्थे । भोलिपल्ट फेरि कामको खोजिमा पैतालाहरु सडक नाप्न निस्कन्थे । उनको एउटा अठोट थियो, ‘आफ्नै कमाइ होस् र त्यसैबाट पढाइ खर्च निकालुँ । परिवारको पैसाले पढ्न नपरोस् ।’ जतिबेला उनी भर्खर एसएलसी दिएर पोखरा झरेका थिए र उमेर थियो जम्मा १७ वर्ष । भौंतारिँदै जाँदा उनले होटलमा वेटरको काम पाए ।
होटलमा धेरै दिक्न सकेनन् । त्यसका छुट्टै कथाहरु छन् । त्यसलगत्तै उनी एउटा कलेजको कार्यालय सहयोगी हुन पुगे । त्यही कलेजको रिसेप्सन, लाइबेरियन, सहायक प्रशासक हुँदै निस्केर उनी अहिले पोखराका स्थापित व्यवसायी बनेका छन् ।
किसान व्यवसायीमात्रै बनेका छैनन्, सामाजिक क्षेत्रमा पनि चिनिएका छन् । थुप्रैको नजरमा परेका छन् । दर्जन संस्थामा आवद्ध छन्, आधा दर्जन संस्थाको नेतृत्व गरेका छन् । हिजो काम खोज्दै भौंतारिँदै हिँड्दा बचन लगाउनेहरु अचेल सम्मान गर्न थालेका छन् । काम माग्दै हात जोडेर हिँड्ने किशोर छोटो समयमै आफ्नै व्यवसायको मालिक बनेका छन् ।
होटलमा डढेको भात र पानीजस्तो दाल खानुपथ्र्यो ।
पोखरा लेकसाइड क्षेत्रमा उनका एक जना साथीले पत्रिका बेच्ने काम गर्थे । लेकसाइडका होटलमा उनको साथीको राम्रो चिनजान थियो । उनैले किसानलाई होटलमा काम लगाइदिए । ‘काम त कही जानेको थिइनँ तर साथीले वेटर जानेको छु भन है भनेर सिकाए,’ किसानले ती दिन सम्झे, ‘ढाँटेरै वेटरको काम पाएँ ।’
किसानले वेटरको काम त पाए तर सुरुमै गिलास फुटाए । त्यसपछि सुरु भयो, उनको परीक्षा । ‘सुरुमा जेल बसेजस्तै लाग्यो,’ उनले भने । पाँच तले होटलमा तलमाथि गर्दा उनी ढाड दुखेर हैरान हुन्थे । तर, खान पनि सुखले पाउँदैनथे । ‘मरिमरी काम ग¥यो खानेबेलामा चाहिँ डढेको भात र पानीजस्तो दाल पाइन्थ्यो,’ किसानले भने, ‘साथीहरु लुकीलुकी ग्राहकले खाने कुरा खान्थे तर म त्यसो गर्न पनि सक्दिनथेँ ।’
[bs-quote quote=”पोखरामा काम खोज्दै भौंतारिएको किशोर आज ३१ वर्षको उमेरमै आफ्नै व्यवसायको मालिक मात्रै छैनन्, झन्डै ५० जनालाई रोजगारी दिने हैसियत बनाए । ” style=”style-7″ align=”left” author_name=”किसान सुनार” author_job=”युवा व्यवसायी” author_avatar=”http://gandaknews.com/wp-content/uploads/2018/09/kisan.jpg” author_link=”https://www.facebook.com/lionkishan.nepali”][/bs-quote]
कलिलो ज्यानले कति नै काम थेग्न सक्थ्यो र ? उनले काम छोड्छु भन्न सक्दा रहेनछन् । ‘म छोड्छु भन्न पनि नसक्ने गर्न पनि नसक्ने अवस्थामा पुगें,’ किसानले भने, ‘आमा बिरामी हुनुहुन्छ भनेर एकदिन होटलबाट भागें । त्यो दिन युद्ध जितेजस्तै भयो ।’
होटलबाट भागेर उनी दाइ बसेको कोठामा पुगे र बेलिबिस्तार लाए । दाइले उनलाई उत्साह भरे, अब आफैं केही गर्नुपर्छ । किसानका दाइले प्रेसमा काम गर्दा रहेछन् । दाइको सपोर्टेट हुने भए किसान पनि । ‘अब दाजुभाइ मिलेर भिजिटिङ कार्ड छपाइको काम गरौं,’ किसानले दाइको प्रस्तावमा स्वर मिलाएर हुन्छ भने ।
कोठमा उनी र दाइमात्रै थिएनन्, दाइका एक साथी पनि थिए । उनताकाको दिन सम्झिँदै किसानले सुनाए, ‘दाइहरु कतिसम्मको बिन्दास भने गर्दागर्दैको काम छोड्ने र कोठामा दाल, चामल नुन, स्टोभका लागि तेल सकिएपछि मात्रै काम खोज्न हिँल्थे नत्र हाइसञ्चै बस्ने ।’ उनी निश्कर्षमा पुगे, यो काम पनि मेरो लागि उपयुक्त छैन ।
कार्यालय सहयोगीदेखि प्रशासकसम्म
सहरमा मान्छेहरु कसरी बाँचिरहेछन्, बाँच्नका लागि कस्ता कुरामा संघर्ष गर्नुपर्दो रहेछ भन्ने उनलाई कामले सिकाइसकेको थियो ।
उनी अर्काे कामको खोजीमा लागे । काम खोज्दै हिँड्ने क्रममा शिक्षा तथा खेल क्षेत्रमा क्रियाशील महेन्द्र श्रेष्ठसँग उनको भेट भयो । उनै श्रेष्ठले ट्रायलका लागि भन्दै ३ महिने जागिर दिलाए, कमसम इन्टरनेसनल कलेजमा कार्यालय सहयोगीको । ३ महिना उनले पूरा गर्दै गर्दा उनको एसएलसीको रिजल्ट आयो । उनी राम्रै अंक ल्याएर एसएलसी पास भए । ३ महिने ट्रायल पूरा गरे पनि उनको तेस्रो जागिर धरापमा प¥यो । क्याम्पसले निर्णय ग¥यो, ‘अब किसानलाई काममा राख्न सकिँदैन ।’
महेन्द्र श्रेष्ठ, जसले उनलाई कार्यालय सहयोगीको जागिर मिलाए, उनैले जागिरको थमौती गरिदिँदै लाइब्रेरियनको जागिर दिलाए । कलेजका प्रिन्सिपल तेज गुरुङ किसानका आइडल पर्सन हुन् । तेज गुरुङ्घबाट किसानले जीवनलाई तेज बनाउन चाहिने थुप्रै कुरा सिकेका छन् । तेज गुरुङ्घको सामाजिक तथा व्यावसायिक जीवनबाट किसान प्रभावित थिए ।
करिब ८ वर्ष उनले त्यही कलेजमा काम गरे । त्योबेलासम्म उनले ब्याचलरसम्मको अध्ययन पनि सके र केही पैसा पनि जम्मा गरे । ब्याचलर सक्दा कलेजमा सहायक प्रशासकसम्म बढुवा भइसकेका थिए ।
व्यावसायिक जीवनको टर्निङ प्वइन्ट
८ वर्ष अध्ययनसँगै कलेजको जागिरे जीवनमा किसानले पोखराका थुप्रै व्यक्तिसँग संगत गरे । व्यावसायिक व्यक्तिहरुका जीवनलाई नजिकबाट नियाले । थुप्रै संघसंस्थामा आवद्ध भए । सामाजिक क्षेत्रमा क्रियाशील रहे । उनीले बालबालिकालाई निशुल्क पढाउनेदेखि थुप्रै ठाउँमा सहयोगी हात पु¥याए । विवाह गरे । विवाहपछि उनको जीवनले फरक बाटो समात्यो ।
अब व्यवसाय गर्नुपर्छ भन्ने उनको योजना त थियो तर पैसा थिएन । व्यवसाय गर्दा के गर्ने गर्ने ? सुनारको मौलिक पेशा पनि सुनचाँदीको काम गर्ने भएकाले सुनचाँदीकै दोकान खोल्ने उनी निश्कर्षमा पुगे ।
सुनचाँदी दोकान खोल्न त सुन चाहिन्छ । जग्गा धितो राखेरै भए पनि सुनचाँदी दोकान खोल्ने उनी निर्णयमा पुगे । जग्गा धितो राखेर ऋण माग्न जाँदा पनि सजिलो चाहिँ भएन उनलाई । सुनचाँदी दोकान खोल्ने भए बैंकले सुन स्टक देखा भन्यो । उनीसँग सुन थिएन । भर्खर बिहे गरेकी श्रीमती र आमाका गहना स्टक देखाएर ऋण लिएपछि उनले व्यवसाय सुरु गरे ।
जागिरे जीवनका अनुभवलाई व्यवसायमा लगाउने निर्णयसहित उनले तेजरत्न सुनचाँदी दोकान खोले । ‘के व्यवसाय गर्ने भनेर विचार गरें र पुख्र्यौली पेशा सुनचाँदीको दोकान खेलें,’ किसानले सुनाए, ‘तर, बुबा गाउँकै शिक्षक हुनुहुन्थ्यो । खेतीकिसानी परिवारको मुख्य काम थियो । मैले ऋणधन गरेर पुख्र्यौली र मौलिक पेशा सुनचाँदी दोकान खोलेको हुँ ।’
मौलिक गहना गहना बनाउने उद्देश्यसहित सञ्चालनमा आएको तेजरत्न ज्वेलर्सले अहिले अत्याधुनिक गहनाको बनाएर बिक्री गर्छ । योसँगै एकपछि अरु व्यवसाय पनि हात हाल्दै गए । तेजरन्त सप्लायर्स सुरु गरे । त्यो व्यवसायले पनि उनलाई साथ दियो । दलित र गैरदलितकाबीच समानता ल्याउनुपर्छ र त्यो चेतनाको विकास बिना सम्भव छैन भनेर उनले २ वर्ष दलित जागरण पत्रिका पनि प्रकाशन गरे ।
कसमस कलेजको एजुकेसन निगाता कन्सल्टेन्सी पनि थियो । त्यहाँबाट पनि उनको त्यसको ज्ञान लिए । उहिले उनले एजुकेसन कन्सल्टेन्सी पनि चलाइरहेका छन् ।
‘जागिर भनेको अनुभव हो, कति कमायो, के गुज्रियो भन्नुभन्दा पनि यो एउटा सामाजिक उत्तरदायी हो भन्ने मैले बुझें,’ किसानले भने, ‘जागिर र सामाजिक सम्बन्धबाट मैले धेरै कुरा सिक्ने मौका पाएँ । अरु रमाएर बाइक कुदाउने बेला म जिम्मेवारीले थिचिएको थिएँ । त्यसलै देखाएको बाटोमा म अहिले छु ।’
किसान लवाईमा ध्यान दिन्छन् । आफ्नो बाध्यता र काम जेजस्तो भएपनि पोशाक चिटिक्क पारेर ल्याउनुपर्छ, त्यसले रेस्पोन्स राम्रो दिन्छ भन्ने मान्यता उनी राख्छन् । कलेजको लाइबे्ररियन हुँदा पनि उनको ड्रेसअपकै कारण उनलाई सरभन्दा रहेछन् । कार्यालय सहयोगीको काम गर्दा पनि सर भनिदिँदा आनन्द लाग्ने गरेको उनले सुनाए । ‘धेरैको आफ्नो दुख देखाउने र म निरिह छु भन्ने प्रमाणित गर्न खोज्ने हुन्छ । म त्यो मान्यता राख्दिनथें । म कोहीभन्दा कम छैन र केही गर्न सक्ने क्षमता सबैसँग हुन्छ भन्ने विश्वासमा हुन्छु,’ किसानले भने ।
उनी र उनीजस्तै व्यवसाय गर्नेहरुले सहकारी खोलेका छन् । उनी त्यसको अध्यक्ष छन् । उनले पर्यटन क्षेत्रमा पनि हात हालेका छन् । पोखराको पर्यटकीय डेस्टिनेसन खुम्चिँदै गएकोप्रति उनलाई चिन्ता छ । उनले तेजारथ टुर्स एन्ड ट्राभल एजेन्सी पनि चलाएका छन् ।
उनैले खोलेको टाइम्स वक्र्स प्रालिमार्फत वैदेशिक रोजगारीमा जान चाहनेका लागि सीप सिकाउनेदेखि परामर्श दिनेसम्मको काम हुन्छ ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघको अध्यक्ष भएर काम गरेका किसान संघकै जननी संस्था सुन चाँदी महासंघको सचिव छन् । पोखरा मल व्यवसायी संघको संस्थापक अध्यक्ष भएर नेतृत्व गरे । पोखरा उद्योग वाणिज्य संघको वर्तमान सदस्य छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको आमन्त्रित सदस्यका रुपमा पर्यटन हवाइ उपसमितिमार्फत उनले काम गरेका छन् । पोखरा र आसपासको पर्यटनलाई कसरी नयाँ र उचाइमा पु¥याउन सकिन्छ भनेर उनी लागि पर्छन् ।
विभिन्न संघसंस्थामा लिएको अनुभवलाई अब उद्योगी, व्यवसायका समस्या र हितमा लगाउने उनको योजना छ । लायन्स, रोट्रयाक्ट क्लब लगायतका संस्थामार्फत अझबढी व्यक्तित्व विकास गरे उनले ।
पोखरामा काम खोज्दै भौंतारिएको किशोर आज ३१ वर्षको उमेरमै आफ्नै व्यवसायको मालिक मात्रै छैनन्, झन्डै ५० जनालाई रोजगारी दिने हैसियत बनाए । उनका एक दाजु र एक भाई जापान व्यवसाय संचालन गरेका छन् भने अर्का दाजु जर्मनी । उनीहरुको साथ र समर्थनले उद्योग, व्यवसायको क्षेत्रमा उनलाई प्रोत्साहन मिलेको छ । अहिलेसम्मको मिहिनेत, सीप र परिश्रमले पाएको उपलब्धिले उनको युवा जोश र जाँगरललाई अझ ऊर्जा भर्ने काम गर्छ । उद्योगी, व्यवसायीको नेतृत्व गरेर उनी युवा जोस र ऊर्जालाई सदुपयोग गर्न चाहन्छन् । ३१ वर्षको उमेरै व्यावसायिक उचाइमा मात्रै पुगेका छैनन्, १० भन्दा बढी देशहरु घुमेर त्यहाँको विकास, भौतिक पूर्वाधार र व्यवसाय हेरेर पनि फर्किसकेका छन् ।
आज एउटा स्थापित व्यवसायी भए पनि उनले आफ्नो बाल्यकाल भुलेका छैनन । अहिले पोखरा महानगरपालिकाको वडा नम्बर ३३ बनेको भरतपोखरी त्यो बेला गाउँ नै थियो । गाउँकै स्कुलमा एसएलसी दिएर काम गर्दै पढ्ने सपना बुनेर पोखरा झरेका किसान अहिले स्थापित व्यवसायी त बनेका छन् तर किसानीकर्मको धरातल भुलेका छैनन् ।
‘म किसानको छोरो हुँ । खेती किसानी गर्नेदेखि आमाले एक डाडु दुध बढी दिने भनेपछि डोको बोकेर घाँस काट्न दौडेको पनि हिजोजस्तै लाग्छ,’ किसानले भने, ‘अफिस बसेर कम्युटर र मोबाइल चलाउने मेरा औंलाबाट अझै पनि गाउँको माटोको बासना आउँछ ।’ व्यवसायीको असली समस्याको साथी र ससाना मान्छेहरुका आवाजलाई साथ दिने उनको योजना छ ।
सम्बन्धित खबर
स्याङ्जामा एचपीभी खोप अभियान सुरू, पहिलो दिन ४२ प्रतिशतले लगाए
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायीद्वारा शैक्षिक सामग्री हस्तान्तरण
मुटु सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने
प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट
पोखरामा २३ हजारभन्दा बढी बालिकालाई एचपीभी खोप लगाइने
लगाएको कपडामा आगो सल्किँदा एक वृद्धको मृत्यु
यो पनि पढौँ
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
हाइड्रोपावरको लोडर पल्टिँदा लमजुङका घलेको मृत्यु
तनहुँमा टिपरले ठक्कर दिँदा पोखराकी अप्सरा क्षेत्रीको मृत्यु, छोरा घाइते
गण्डकीमा प्रदेश दिवसमा माघ २२ गते सार्वजनिक बिदा