अरिङ्गालले चिल्दा लमजुङमा ४ छात्रा घाइते

अरिङ्गालले चिल्दा लमजुङमा ४ छात्रा घाइते

aringal

तस्वीरः जीबी घिमिरे

अरिङ्गालले चिल्दा लमजुङको बेंसीशहर नगरपालिका ३, गाउँशहरस्थित लमजुङ माविका ४ जना छात्रा घाइते भएका छन् ।

घरबाट विद्यालय जाँदै गरेका उनीहरुलाई काउलेपानी नआइपुग्दै डम्फू हाउसनेर खोल्सीमा बिहीबार बिहान अरिङ्गालले चिलेको प्रहरीले बताएको छ ।

बिहान पौने १० बजेको समयमा अरिङ्गालले चिल्दा कक्षा ६ की १० वर्षिया करुणा तामाङ र १३ वर्षिया रीता गुरुङ, कक्षा ७ की १२ वर्षिया अर्चना तामाङ र कक्षा ८ की १३ वर्षिया संगीता तामाङ घाइते भएका हुन् ।

प्रहरीका अनुसार उनीहरुलाई बिहान ११ बजे बेंसीशहरस्थित लमजुङ अस्पतालमा लगी उपचार गरिएको छ । विद्यालयका शिक्षक रत्नबहादुर घिमिरेका अनुसार तामाङ ३ जनाको घर बेंसीसहर नगरपालिका ५, बाख्रेजगत र गुरुङको घर बारपोले हो ।

उनीहरु बिहान विद्यालय पोशाकमै रुँदै कराउँदै  विद्यालय पुगेको उनले बताए । दौडिँदै आएका उनीहरुले चप्पल र झोलासमेत बाटोमै छोडेको र घाइते अवस्थामा आएका विद्यार्थीलाई अस्पतालमा लगिएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टुलबहादुर श्रेष्ठले अरिङ्गालले विद्यार्थीका टाउको, छाती तथा शरीरका अन्य भागमा टोकेर घाइते बनाएको बताए । उनका अनुसार विद्यार्थीको लमजुङ अस्पतालमा उपचार भएको र अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ